बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वायुसेवा निगमलाई तीन टुक्रा बनाइँदै, प्रक्रिया अघि बढाउन निर्देशन

मङ्गलबार, २८ असोज २०८२, १० : २३
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • नेपाल वायुसेवा निगमलाई तीन टुक्रा बनाइने भएको छ, जसमा आन्तरिक, बाह्य उडान र ग्राउन्ड ह्यान्डलिङ सेवा समावेश छन्।
  • सुझाव समितिको प्रतिवेदन अनुसार निगम, एयरलाइन्स कम्पनी र उड्डयन सेवा प्रदायक कम्पनी बनाइनेछ।
  • कम्पनीहरूको शेयर ३०० गुणा बढाउने प्रस्ताव गरिएको छ, जसले गर्दा १६ करोड पुँजी ५० अर्ब पुग्नेछ।

काठमाडौँ । नेपाल वायुसेवा निगम (एनएसी) तीन टुक्रा बनाइने भएको छ । पूर्ववर्ती सरकारले गठन गरेको ‘नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित सुझाव समितिको प्रतिवेदन’मा गरिएको सिफारिस अनुसार हाल निगमले गर्दै आएमा फरक फरक कामलाई अघि बढाउन फरक फरक संस्था प्रस्ताव गरिएको हो ।

असोज १२ गते उक्त प्रतिवेदन समितिले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियो । गत मन्त्रिपरिषद् बैठकले उक्त समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

प्रतिवेदनमा गरिएको सिफारिस अनुसार नेपाल वायुसेवा निगम, नेपाल एयरलाइन्स कम्पनी र नेपाल उड्डयन सेवा प्रदायक कम्पनी रहनेछन् । त्यसमध्ये नेपाल वायुसेवा निगमले हालको निगमले गर्दै आएको आन्तरिक उडान सेवा सञ्चालन गर्नेछ । नेपाल एयरलाइन्स कम्पनीले बाह्य उडान सेवा सञ्चालन गर्नेछ भने नेपाल उड्डयन सेवा प्रदायक कम्पनीले ग्राउन्ड ह्यान्डेलिङ सेवा प्रदान गर्नेछ ।  

ती कम्पनीहरूको शेयर ३०० गुणा बढाउने प्रस्ताव गरिएको छ । हाल १६ करोड पुँजी भएको कम्पनीको कुल पुँजी ५० अर्ब पुँजी पुराइनेछ ।

सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयका सचिव तथा नागरिक उड्डयन महाशाखा प्रमुखसँग छलफल गरी उक्त प्रतिवेदन तत्काल थाल्न निर्देशन दिएकी थिइन् ।

प्रतिवेदनमा समग्र हवाइ उड्डयन सुधारका लागि सुझाव दिइएको थियो । ती सुझावलाई समेत क्रमशः कार्यान्वयन थाल्न कार्कीले निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप