बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

मधेस प्रदेशमा नयाँ सरकार गठनबारे अन्योल बढ्दै

मङ्गलबार, २८ असोज २०८२, १४ : ३०
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • मधेस प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहलाई समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रयास भइरहेको छ।
  • लोसपाको नेतृत्वमा नयाँ गठबन्धन बनाउने तयारी भइरहेको छ, जसमा जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनमत पार्टी सहभागी हुने सम्भावना छ।
  • कांग्रेस, एमाले र जनमत पार्टीको गठबन्धनमा फाटो आएको छ र जनमत पार्टी विभाजनले कांग्रेसको बहुमतको सम्भावना कमजोर पारेको छ।

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनबारे अन्योल बढ्दै गएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहलाई उनकै दलसहित सत्ता गठबन्धनमा रहेका सबै दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको पहल भइरहेको छ ।

मुख्यमन्त्री सिंहले आज (मंगलबार) प्रदेश सभामा विश्वासको मत लिने योजना छ । यद्यपि, उनले विश्वासको मत प्राप्त गर्ने आधार साँघुरो छ । यससँगै प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आ–आफ्नो प्रयास तीव्र बनाएका छन् ।

आइतबारसम्म नेपाली कांग्रेस, एमाले र जनमत पार्टीको गठबन्धनमार्फत कांग्रेसको नेतृत्वमा सरकार बन्ने चर्चा चलेको थियो । दुई दिन नबित्दै उक्त गठबन्धनमै फाटो देखा परेको छ । कांग्रेस गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने हल्ला चले पनि अहिले लोसपाकै नेतृत्वमा नयाँ गठबन्धन बन्ने चर्चा सुरु भएको छ ।

  • लोसपाको नेतृत्वमा नयाँ समीकरण

मधेसी दलबिच ‘मधेस प्रदेशको नेतृत्व मधेसी दलले नै पाउनुपर्छ’ भन्ने मोटामोटी सहमति बनेको छ । लोसपा नेपालका केन्द्रीय महासचिव परमेश्वर साहका अनुसार लोसपाले जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनमत पार्टीसँग मिलेर नयाँ गठबन्धन बनाउने तयारी गरेको छ ।

साहले भने, ‘लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा गठबन्धन बनाउन उपेन्द्र यादवले पनि सहमति जनाइसक्नुभएको छ ।’ साहका अनुसार जनमत पार्टीसँग भने अहिले वार्ता भएको छैन, तर छिटै छलफल सुरु हुनेछ ।

सरकार गठनका विषयमा छलफल गर्न लोसपा अध्यक्ष महन्थ ठाकुर र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता तय भएको छ । दुवै अध्यक्ष अहिले जनकपुरधाममै छन् ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा पनि ५४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा लोसपा नेपालका ९, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ सांसद छन् । यी चार दलसँग कुल ४४ सांसद छन् । जनमत लगायत अन्य साना दललाई विश्वासमा लिएर सरकार गठनको प्रयासमा यो गठबन्धन जुटेको छ ।

  • कांग्रेस गठबन्धन धरापमा

यसबिच, कांग्रेस–एमाले–जनमत गठबन्धनमा दरार देखिँदै गएको छ । जनमत पार्टी गठबन्धनबाट निस्किएको खण्डमा कांग्रेस नेतृत्वको गठबन्धनसँग बहुमत पुग्ने छैन । अहिले मुख्य समस्या जनमत पार्टीभित्रै देखिएको छ ।  पार्टीका केही नेताहरूले सोमबार ‘जनस्वराज पार्टी’ दर्ता गरेका छन्, जसले सीके राउत नेतृत्वको जनमत पार्टीमा विभाजन ल्याएको छ ।

जनमत पार्टी विभाजित भएसँगै कांग्रेस नेतृत्वमा बहुमतको दाबी स्वतः कमजोर भएको छ ।

  • लोसपाको धारणा अझ अस्पष्ट

लोसपा नेतृत्वको विषयमा अन्तिम निर्णय भने अझै भएको छैन । प्रवक्ता आभाष लाभका अनुसार, लोसपाले सरकारको नेतृत्व गर्ने कुरा अहिलेसम्म फाइनल भएको छैन । कसले नेतृत्व गर्ने भन्ने निर्णय अध्यक्ष ठाकुरले तय गर्ने उनको भनाइ छ ।

अध्यक्ष महन्थ ठाकुरले मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘आज मेरो महोत्तरीमा कार्यक्रम छ । त्यहाँको कार्यक्रम सकिएपछि पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ ।’

  • मुख्यमन्त्रीको विश्वासको मत

मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने कार्यक्रम छ, तर दलहरूले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत पाउने सम्भावना अत्यन्त न्यून देखिएको छ । यस्तो अवस्थामा उनले प्रदेश सभा बैठकमा सम्बोधन गरी राजीनामा दिने सम्भावना बलियो बनेको छ ।

योसँगै मधेस प्रदेशको सत्ता फेरि एकपटक अस्थिर मोडमा पुगेको छ । लोसपाको नेतृत्वमा नयाँ गठबन्धन बन्ने वा कांग्रेसको पहल सफल हुने भन्ने विषय अब केही दिनभित्र स्पष्ट हुनेछ । यतिवेला भने मधेसको राजनीति पुनः उथलपुथलको चरण प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप