'एन्फा नेतृत्वले घरेलु फुटबललाई चलायमान बनाउन नसक्दा खेलाडी र समर्थकमाथि अन्याय'
सारांश
- नेपाल फुटबल खेलाडी संघले एन्फा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ, जसले गर्दा खेलाडीहरू विदेश पलायन भइरहेका छन्।
- एन्फाले लिग आयोजना नगर्दा र क्लबहरूलाई जिम्मेवार नबनाउँदा खेलाडी संघले एन्फाको आलोचना गरेको छ।
- खेलाडी संघले तत्काल लिग आयोजना गर्न र फुटबल विकासका लागि सहकार्य गर्न एन्फालाई आग्रह गरेको छ।
काठमाडौँ । नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले घरेलु फुटबललाई चलायमान बनाउन नसक्दा खेलाडी र समर्थकमाथि अन्याय भएको जनाएको छ ।
खेलाडी संघले विज्ञप्ति जारी गर्दै एन्फाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि ए डिभिजन लिग आयोजना हुन नसक्दा खेलाडीहरू विदेश पलायन हुन बाध्य भएकोमा आक्रोश पोखेको हो ।
विज्ञप्तिमा एन्फाले लिग आयोजना गर्न आलटाल गरेको, क्लबहरूलाई जिम्मेवार बनाउन नसकेको र आफ्ना मान्छेलाई मात्र फाइदा पुर्याउने काम गरेको उल्लेख गरिएको छ ।
खेलाडी संघले एन्फालाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरेको छ । ‘एन्फा क्लब खेल्न तयार छैन र क्लब एन्फा लिग गराउन तयार छैन भन्ने भाष्य निर्माणको लागि प्रयास भइरहेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्लबहरुलाई खेल र खेलाडीप्रति जिम्मेवार बनाउनु र खेल्ने वातावरण सिर्जना गर्ने पहिलो दायित्व एन्फाकै हो ।’
लिग नभएको अवधिमा एक सयभन्दा बढी खेलाडी रोजगारीका लागि बिदेसिएको र घरेलु फुटबलको भविष्य अन्योलमा परेको संघले जनाएको छ । एन्फा नेतृत्वले खेलाडी र समर्थकको भावना बुझेर तत्काल लिग आयोजना गर्नुपर्ने माग खेलाडी संघले गरेको छ ।
खेलाडी संघले समर्थकहरूलाई पनि फुटबलको महत्त्वपूर्ण हिस्साको रूपमा लिएको छ । भदौमा समर्थकहरूले एन्फा गेट अगाडि गरेको प्रदर्शनले नेतृत्वलाई दबाब सिर्जना गरेको र अब लिग आयोजनाको ठोस योजना ल्याउनुपर्नेमा जोड दिइएको छ ।
यदि एन्फाले लिग आयोजनामा फेरि पनि आलटाल गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी एन्फाले नै लिनुपर्ने चेतावनी खेलाडी संघले दिएको छ । साथै, फुटबल विकासका लागि एन्फासँग सहकार्य गर्न तयार रहेको र खेल र खेलाडीलाई केन्द्रमा राखेर गरिने प्रस्तावलाई स्वागत गर्ने संघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण