कैलालीमा शृङ्खलाबद्ध हत्या र गुण्डागर्दीले नागरिक त्रसित
सारांश
- कैलालीमा हत्या, गुण्डागर्दी र आपराधिक घटनाहरू बढेपछि स्थानीय त्रसित बनेका छन्।
- घोडाघोडी र गोदावरीमा भएका हत्या र आक्रमणका घटनाले सुरक्षामाथि प्रश्न उठाएका छन्।
- प्रहरीले केही अपराधीलाई पक्राउ गरेको छ, तर स्थानीयहरू अझै पनि असुरक्षित महसुस गरिरहेका छन्।
धनगढी । कैलालीमा पछिल्लो समय असुरक्षा बढेको स्थानीयवासी बताउँछन् । एकपछि अर्काे गरी भएका हत्या, संगठित गुण्डागर्दीका घटनाले यहाँको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको उनीहरू बताउँछन् ।
अत्तरियामा होटल सञ्चालन गरिरहेका विवश विष्टले जिल्लामा घटेका घटनाले आफूजस्ता काम गरेर खानेलाई समेत त्रसित बनाएको बताए ।
‘अहिले त आपराधिक समूहहरूको मनोबल बढेको देखिन्छ, जसले गर्दा समग्र जिल्लाको अवस्था भयावह बनेको छ । यहाँ दिनदहाडै हतियार प्रयोग हुन्छ । डर लाग्छ नि ’ सुरक्षा निगरानी एकदम बढाउनुपर्छ,’ उनले भने ।
विवशजस्ता थुप्रै स्थानीय अहिले त्रसित छन् । असोज २४ गते राति घोडाघोडी नगरपालिका–८, जरैमा २८ वर्षीय केशरबहादुर बुढाको क्रूरतापूर्वक हत्या भयो । यसले दैनिक काम गरेर खानेहरूलाई त्रसित बनाएको विवश बताउँछन् ।
मदिरा सेवनपछिको सामान्य विवादमा १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले केशरको घाँटी रेटेर हत्यामात्र गरेनन्, पूरै घाँटी नै छुट्टिएको टाउको बोकेर प्रहरी चौकीतर्फ गए । त्यही घटनाको असर स्थानीयमा परेको छ ।
घोडाघोडीका स्थानीय मनिष विकले त्यो घटना सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुने गरेको बताए । ‘भयावह र अचम्म लाग्ने घटना छन् । अपराधीहरूलाई समाजमा यसरी डर नमानीकनै हिँड्ने वातावरण बनाउन हुँदैन । सबै सचेत हुनुपर्छ,’ उनले भने ।
गोदावरी नगरपालिका–१०, खमैरामा भएको अर्काे घटनाले नागरिक आफ्नै घरमा समेत सुरक्षित नरहेको देखाएको छ । असोज २३ गते मध्यरातमा छिमेकी लोकेन्द्र मल्ल र उनका भाइ विकास मल्लले घरको ढोका तोड्दै मार्ने धम्की दिएपछि ज्यान जोगाउन भागेका शेरबहादुर चौधरी भोलिपल्ट नजिकैको खोलामा मृत फेला परे । यो घटना व्यक्तिगत रिसइबीको परिणाम भए पनि मध्यरातमा घरमा पसेर आक्रमण गर्ने प्रवृत्तिले स्थानीयमा त्रास फैलाएको छ । मृतककी भाइबुहारी सलिना चौधरीले आफ्नो श्रीमानलाई समेत मार्ने धम्की आएको भन्दै न्याय र सुरक्षाको माग गरेकी छन् ।
कैलालीमा छरिएका अपराधमात्र होइन, संगठित गिरोहकै आतङ्क बढेको छ । यसको पछिल्लो उदाहरण असोज २६ गते गोदावरी नगरपालिका–४ स्थित शुभम होटलमा भएको सांघातिक आक्रमण हो । ‘कोब्रा सरकार’ नामक गिरोहले डडेल्धुराका ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । पिकनिक मनाएर फर्केका ऐरमाथि भएको यो आक्रमणले जिल्लामा गुण्डागर्दीको सञ्जाल कति बलियो छ भन्ने देखाउँछ ।
प्रहरीले यस घटनामा संलग्न ‘कोब्रा सरकार’का नाइके भनिने धनगढीका २९ वर्षीय भीम ‘सन्नी’ नेपालीसहित ११ जनालाई भारततर्फ भाग्दै गर्दा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार पक्राउ परेकाहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ भने घटनामा संलग्न अन्य चार जना अझै फरार छन् ।
यो गिरोहको आपराधिक पृष्ठभूमि पुरानै हो । गत वर्ष फागुनमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सुन्दरलाल चौधरीलाई खुकुरी प्रहार गरेको घटनामा पनि ‘सन्नी’ नेपाली मुख्य अभियुक्त थिए । त्यसबेला फरार रहेका उनी पुनः अर्काे गम्भीर अपराधमा संलग्न पाइनुले फरार अपराधीमाथि प्रहरी प्रशासनको निगरानीमा कमजोरी देखाउँछ ।
प्रहरीले भने हाल जिल्लामा सुरक्षा निगरानी कडा पारेको दाबी गरेको छ । डीएसपी सिंहका अनुसार जिल्लामा भएका अपराधका घटनामा मदिरा र लागुऔषध सेवन प्रमुख कारणका रूपमा देखिएको छ ।
भदौमा भएको आन्दोलनका क्रममा केही कैदीबन्दी फरार छन् । हाल उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । लागुऔषध, मदिरा, खुला सिमाना र त्यसैमाथि जेलबाट फरार अपराधीका कारण पनि प्रहरीलाई सुरक्षा चुनौती थपिएको छ । चुनौती भए पनि अपराध नियन्त्रणमा आफूहरू सक्रिय रूपमा लागिपरेको डीएसपी सिंहको दाबी छ ।
प्रहरीले सुरक्षा व्यवस्थामा कमी हुन नदिने दाबी गरे पनि स्थानीयको मनबाट डर भने हट्न सकेको छैन । खुलेआम हतियार प्रयोग हुनु, मध्यरातमा घरमै आक्रमण हुनु र बीभत्स तरिकाले हत्या गरिनुले कैलालीको समग्र सुरक्षा अवस्था कमजोर बनेको धनगढीका बासिन्दा मुरलीधर जोशी बताउँछन् । आपराधिक गिरोहलाई निस्तेज पार्न प्रहरी प्रशासनले अझै प्रभावकारी कदम चाल्नुपर्ने उनको सुझाव छ ।
‘अहिले जति पनि घटना भएका छन्, लागुऔषध पनि एउटा कारण हो । सबैभन्दा पहिले लागु औषधलाई नियन्त्रण प्रहरीमात्र नभएर सबै लाग्नुपर्छ । सबै तह–तप्काबाट यो नियन्त्रण भए युवाहरू अपराधतर्फ जाने थिएनन्,’ उनले भने । प्रहरीले पनि आफ्नो सक्रियता बढाउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण