सरकारसँग राजेन्द्र महतोको गुनासो : आन्दोलनको मर्म बुझेन
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भयो, जसमा आगामी निर्वाचनको तयारीबारे छलफल भयो।
- बैठकले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्य छानबिन आयोग र जन-लोकपाल आयोग गठनको माग गरेको छ।
- पार्टीले देशव्यापी मुक्ति यात्रा आयोजना गर्ने र निर्वाचनका लागि उम्मेदवार छनोटको कार्यविधि बनाउने निर्णय गरेको छ।
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको चारदिने बैठक सम्पन्न भएको छ । बैठकले हालको राजनीतिक परिवेश, आन्दोलनपछिको स्थिति, सरकारको कार्यशैली र आगामी निर्वाचनका तयारीलगायत विषयमा छलफल गरेको छ ।
बैठकले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ ।
आन्दोलनको मर्म र जनभावना सरकारले नबुझेको महतोले आरोप लगाए । आन्दोलनमा बलिदानी दिएका युवाहरूका माग सुन्नुको सट्टा सरकार प्रशासनिक सन्तुलन र नियुक्तिमा मात्र व्यस्त रहेको उनले गुनासो गरेका छन् ।
बैठकले आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, जनधनको क्षति तथा बलिदानका घटनाको सत्यतथ्य छानबिन गर्न सत्य छानबिन, न्याय एवं क्षतिपूर्ति आयोग गठनको माग गरेको छ । साथै ठुला घोटाला, भ्रष्टाचार, करछली र अनियमिततामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न स्वतन्त्र र शक्तिशाली जन–लोकपाल आयोग गठन गर्न पनि बैठकले माग गरेको महतोले जानकारी दिए ।
बैठकपछि जारी गरेको विज्ञप्तिमा बहुल संस्कृतिको सम्मान, स्वशासन र समान अधिकार सुनिश्चित गर्न संविधान पुनर्लेखनको सैद्धान्तिक सहमति जनाउँदै संविधान सुधार सुझाव आयोग गठनको माग गरिएको छ । बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई ध्यानमा राख्दै समावेशी र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न विशेष ‘अन्तरिम घोषणा’ जारी गर्नुपर्ने पनि निर्णय गरेको छ । उक्त घोषणामार्फत आगामी संसद्ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था संस्थागत गर्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै पार्टीले देशव्यापी मुक्ति यात्रा आयोजना गर्ने निर्णय गरेको छ । जसअन्तर्गत मधेसमा झापा–कञ्चनपुर पदयात्रा र पहाडमा सांस्कृतिक संवाद यात्रा सञ्चालन गरिनेछ । उक्त अभियानको सम्पूर्ण तयारीका लागि कार्यकारिणी समितिलाई नै मूल आयोजक समितिको रूपमा रूपान्तरण गरिएको छ ।
पार्टी एकता, सहकार्य र मोर्चा निर्माणका कार्यलाई अघि बढाउन वरिष्ठ उपाध्यक्ष राम नरेश यादवको नेतृत्वमा वार्ता तथा संवाद समिति गठन गरिएको छ ।
साथै आसन्न निर्वाचनका लागि उम्मेदवार छनोटदेखि प्रचार–प्रसारसम्मको कार्यविधि तयार गर्न वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा ११ सदस्यीय निर्वाचन तयारी समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण