नवअभिनेत्रीलाई प्रश्न : अभिनयलाई निरन्तरता दिने कि पुग्यो ?
सारांश
- समृद्धि अर्याल फिल्म 'वरिष्ठ बलराम' बाट मुख्य अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्।
- उनको मोडलिङ यात्रा १५-१६ वर्षको उमेरमा सुरु भएको थियो, र उनले मुम्बईमा अभिनयको प्रशिक्षण लिएकी थिइन्।
- 'फर्की फर्की' बाट नेपाली फिल्ममा डेब्यु गरेकी अर्यालले 'वरिष्ठ बलराम' लाई सफल बनाउन मिहिनेत गरिरहेकी छिन्।
समृद्धि अर्याल फिल्म ‘वरिष्ठ बलराम’की अभिनेत्री हुन् । यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी अर्यालको फिल्म यात्रा भने अनमोल केसीको फिल्म ‘फर्की फर्की’बाट सुरु भएको थियो । फिल्ममा उनले ‘सुजी’ नामक सहचरित्रको भूमिका निर्वाह गरेकी थिइन् ।
अहिले उनी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वरिष्ठ बलराम’बाट मुख्य अभिनेत्रीको रूपमा देखिँदै छिन् । त्यसैले, आफ्नो डेब्यु फिल्म सफल बनाउन उनी प्रचारप्रसारमा दिनरात मिहिनेत गरिरहेकी छिन् । यसै सन्दर्भमा अभिनेत्री अर्यालसँग गरिएको कुराकानीको सम्पादित अंशः
मोडलिङ र अभिनयको सुरुवात कहिले, कसरी भएको थियो ?
मेरो कला यात्रा सानैदेखि सुरु भएको हो । १५–१६ वर्षको उमेरमा मैले मोडलिङ सुरु गरेँ । त्यो समय हङकङमा आयोजित एउटा ‘सेन्स अफ क्लिक’ फेसन कम्पिटिसनमा भाग लिएकी थिएँ । त्यहाँ मैले दोस्रो स्थान हासिल गरेँ । त्यतिबेला बाबाले मोडलिङमा मेरो रुचि देखेर अभिनय सिक्न प्रोत्साहन दिनुभयो । त्यसपछि म मुम्बई गएर तीन–चार वर्ष ‘एक्टिङ विथ’ फिल्म कलेजमा अभिनय र फिल्म निर्माणका विभिन्न पक्ष सिकेँ । त्यसपछि इन्डियामा केही म्युजिक भिडियो, सर्ट फिल्म, सिरिज र नेटफ्लिक्स सिरिजमा काम गर्ने अवसर पनि पाएँ । फिल्मका लागि केही अडिसन पनि दिएँ ।
नेपाली फिल्ममा तपाईंको डेब्यु कसरी भयो ?
नेपालमा मेरो डेब्यु फिल्म अनमोल केसीसँग ‘फर्की फर्की’ हो । मुम्बईबाट काठमाडौं आएको समय एक क्याफेमा फिल्म ‘चपली हाइट’का निर्माता अर्जुन कुमारसँग भेट भएको थियो । उहाँले मेरो मुम्बई यात्राको जानकारी लिएपछि फिल्म ‘फर्की फर्की’को अडिसन भइरहेको र दिन सुझाउनुभयो । म अडिसनमार्फत फिल्ममा छानिएँ । त्यो फिल्ममा मेरो पात्रको नाम ‘सुजी’ थियो । फिल्म अभिनयबाट मलाई राम्रो प्रतिक्रिया मिलेको थियो ।

अनमोल केसीसँगको फिल्म ‘फर्की फर्की’मा काम गर्दाको अनुभव कस्तो रह्यो ?
इन्डियाका विभिन्न प्रोजेक्टमा काम गरे पनि ‘फर्की फर्की’ मेरो पहिलो फिल्म थियो, त्यो पनि सुपरस्टार अनमोल केसीसँग । यो काम गर्दाको अनुभव निकै राम्रो रह्यो । टिमका सबैजना एकदमै राम्रो र ऊर्जावान हुनुहुन्थ्यो, नेपाली इन्डस्ट्रीमा केही नयाँ गरौँ भन्ने सोच भएकाहरूसँग काम गर्न मैले पनि धेरै मिहिनेत गरेँ । यो मेरो लागि एक राम्रो अनुभव र पाठ दुवै थियो । फिल्मबाट मैले नेपाली फिल्म उद्योग बुझ्न पाएँ ।
मुख्य अभिनेत्रीको रूपमा डेब्यु फिल्म ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउँदै छ । कत्तिको उत्साहित हुनुहुन्छ ?
मुख्य अभिनेत्रीको रूपमा यो मेरो पहिलो फिल्म भएकाले उत्साहित पनि छु । मेरो परिवार पनि निकै खुसी हुनुहुन्छ । मैले खासै धेरै अपेक्षा राखेको छैन, बस दर्शकले मन पराइदिनुभए हुन्थ्यो । मुख्य अभिनेत्रीको रूपमा पहिलो फिल्म दर्शकले रुचाउने हुन् वा होइनन्, अभिनय प्रतिक्रिया कस्तो मिल्ने हो भनेर एकदमै डर पनि लागिरहेको छ । आफूले सक्दो मिहिनेत गरेकी छु, फल पनि राम्रो मिल्छ भन्नेमा आशावादी पनि छु ।
मुख्य अभिनेत्रीको भूमिका कसरी मिल्यो ?
पहिलो फिल्म ‘फर्की फर्की’को सम्पादन ‘वरिष्ठ बलराम’का निर्देशक सुरेन्द्र पौडेलले नै गर्नुभएको हो । ‘फर्की फर्की’को सम्पादनको क्रममा उहाँलाई मेरो काम मन परेको रहेछ । उहाँले ममा अभिनयको सम्भावना देखेर ‘वरिष्ठ बलराम’का लागि प्रस्ताव गर्नुभयो । फिल्मको कथा पनि राम्रो लाग्यो । यसको टिममा दयाहाङ राई र विजय बरालजस्ता अनुभवी कलाकारहरूसँग काम गर्ने अवसर छोड्न मन लागेन ।
दयाहाङ र विजयजस्ता अनुभवी कलाकारसँग अभिनय अनुभव कस्तो रह्यो ?
फिल्मको अनुभव धेरै नै राम्रो रह्यो । दयाहाङ राई र विजय बरालजस्ता वरिष्ठ कलाकारहरूसँग काम गर्न पाउनु मेरा लागि ठूलो अवसर थियो । उहाँहरूको यत्रो लामो यात्रा र अनुभवबाट मैले धेरै कुरा सिक्न पाएँ । उहाँहरू एकदमै राम्रा, नम्र, सरल र रमाइलो व्यक्तित्वका कलाकार हुनुहुँदो रहेछ । उहाँहरूको संगत गर्दा र कुरा सुन्दा धेरै ज्ञान प्राप्त हुन्छ । उहाँहरूको संघर्ष र सफलताको कथा सुन्दा मलाई पनि कलाकारको रूपमा कहिल्यै हार नमान्ने प्रेरणा मिलेको छ । फिल्ममा विजयजीसँग मैले दयाहाङ दाइभन्दा बढी स्क्रिन सेयर गरेकी छु । उहाँले मलाई अभिनयमा निकै सहयोग गर्नुभयो । मेरो पात्रलाई अझ राम्रो बनाउन हामी सँगै बसेर स्क्रिप्टमा पनि काम गथ्र्यौँ । समग्रमा यो मेरो लागि निकै सुखद अनुभव रह्यो ।

फिल्ममा तपाईंको भूमिका कस्तो छ ?
फिल्ममा मेरो भूमिका कुसुम नामक पात्रको छ । ऊ एक आत्मनिर्भर युवती हो र बलरामको यात्रामा उसले महत्त्वपूर्ण भूमिका खेल्छे । दुई मुख्य क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ । योभन्दा बढी बताउन मिल्दैन । नत्र सबै कथा खुल्छ ।
‘वरिष्ठ बलराम’ कस्तो फिल्म हो?
यो एक मनोरञ्जनात्मक फिल्म हो । फिल्ममा आमा–बुबाको माया, छोरा–छोरीको माया, देवर–भाउजूको सम्बन्धको मायाजस्ता धेरै भावनात्मक पक्षहरू समेटिएका छन् । यसमा सानो एक्सन पनि छ । मलाई लाग्छ, यो फिल्म परिवारका सबै सदस्यले हेर्न मिल्ने र दर्शकले भावनात्मक रूपमा आफूलाई जोड्न सक्ने खालको छ ।
भविष्यको योजना के छ ? अभिनयलाई निरन्तरता दिने कि पुग्यो ?
मलाई लाग्दैन कि म कहिल्यै फिल्मबाट थाक्छु । अवसरहरू आएमा म पक्कै काम गर्छु । मेरो सपना सफल अभिनेत्री बन्ने नै हो । मैले अभिनय सिक्न थालेको ८ वर्ष भयो । मलाई त अझै भर्खरै सुरु गरेजस्तो लाग्छ । त्यसैले, अभिनयलाई निरन्तरता दिने सोचमा छु ।
सानोमा तपाईंको सपना अभिनय थियो त ?
सानैदेखि मेरो कलाकारितामा आउने सोच थियो । तर एकपटक बाल कलाकारको भूमिकामा रिजेक्ट भएपछि त्यो सपना मरेको जस्तो लागेको थियो । त्यसपछि मैले इन्टेरियर डिजाइन, फेसन डिजाइन र एयरहोस्टेसको कोर्स पनि पढेकी थिएँ । तर, अहिले फेरि अभिनयमा नै फर्किएँ । अब अभिनयबाहेकको इच्छा छैन ।

थिएटरमा काम गर्ने इच्छा छ कि ?
थिएटरमा काम गर्ने इच्छा कसको नहोला र, मेरो पनि छ । कलेजमा आठ–नौ वटा नाटक र इन्डियामा तीन–चार वटा नाटक गरिसकेकी छु । थिएटरमा काम गर्दा कलाकारले आफ्नो कला देखाउने र खारिने मौका पाउँछन्, किनकि त्यहाँ रिटेकको अवसर हुँदैन । यसले कलाकारको अभिनय सुधार गर्न मद्दत गर्छ भन्ने लाग्छ ।
भविष्यमा कुन निर्देशक वा कलाकारसँग काम गर्न मन छ ?
यो कलाकार भन्ने छैन । को–को कलाकार वा निर्देशकसँग काम गर्ने अवसर मिल्छ, त्यो त भगवानकै हातमा छ । राम्रा कथा र फिल्महरूमा काम गर्दै जाने हो । तर, मलाई महिलाप्रधान फिल्महरूमा काम गर्ने इच्छा छ । यस्ता फिल्म जहाँ महिला पात्रले केवल नायकलाई समर्थन गर्ने मात्र नभई आफ्नै कथा, आफ्नै संघर्ष र बलियो अडान राख्ने मौका पाउँछन् । वास्तविक जीवनमा मानिसहरूले आफूलाई जोड्न सक्ने खालका, ‘हो, यो त हाम्रो कथा हो’ भन्न मिल्ने खालका पात्रहरू गर्न मन लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण