एसियन हाइवे: पूर्वी खण्डको चार स्थानमा कालोपत्रे सुरु
सारांश
- एसियन हाइवेको पूर्वी खण्डमा कालोपत्रे सुरु भएको छ, जसमा काँकडभिट्टाबाट केरखासम्मको सडक पर्दछ।
- सडकको स्तरोन्नति एसियाली विकास बैंकको सहयोगमा भइरहेको छ, जसमा १० अर्ब लगानी गरिएको छ।
- सडकखण्डमा ओभरपास र एनिमल अन्डरपास निर्माण भइरहेको छ, जसले यातायात व्यवस्थापनमा सुधार गर्नेछ।
झापा । निर्माणाधीन एसियन हाइवेको पूर्वी खण्डमा कालोपत्रे सुरु भएको छ । काँकडभिट्टाबाट केरखासम्मको ४५ किलोमिटरमध्ये दुई दशमलव पाँच किमी सडकमा कालोपत्रे सुरु गरिएको काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) ले जनाएको छ ।
बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा तीव्र गतिमा भइरहेको छ । सडक आयोजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्रे गरिएको बताए । “काम तीव्र गतिमा भइरहेको छ”, उनले भने, “पछिल्लो समय निर्माण व्यवसायीले पनि ध्यान दिएर कामको गति बढाएको छ । वर्षा सकिएको छ, अब चाडपर्व पनि सकिएपछि कामको गति अझै बढ्छ ।” उनले पहिलो सतहको कालोपत्रे भएको सडकमा माथिल्लो सतहको पाँच सेन्टिमिटरको कालोपत्रे थपिने जानकारी दिए ।
एसियाली विकास बैङ्कको सहयोगमा रु १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वी खण्डअन्तर्गत काँकडभिट्टाबाट केरखाको सीतापुरीसम्मको स्तरोन्नति कार्य जारी छ । निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले सडकमा पर्ने १५२ वटा कल्भर्टमध्ये ९२ को निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।
यातायातको अधिक चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण पनि धमाधम भइरहेको आयोजना प्रमुख पन्तले बताए । उनका अनुसार मेचीनगरको चारआली चोकबाट पूर्वतर्फ २५१ मिटर, पश्चिमतर्फ २२६ मिटर र बिर्तामोडको चारपानेमा चोकबाट पूर्वतर्फ २०७ मिटर, पश्चिमतर्फ ३०८ मिटर ‘ओभरपास’ निर्माण धमाधम भइरहेको छ ।
आधुनिक ढाँचामा निर्माण भइरहेको ओभरपासमा मानिस र सवारीसाधन आवतजावत गर्ने बेग्लाबेग्लै ठाउँ बनाइने उनले बताए । मेचीनगरको चारआलीअन्तर्गत जङ्गल क्षेत्रमा पर्ने सडकमा हात्तीसहित जङ्गली जनावर ओहोर–दोहोर गर्नका लागि ‘एनिमल अन्डरपास’ पुल निर्माण भइरहेको उनले जानकारी दिए ।
पूर्वी खण्डको १८ वटा पुलमध्ये अधिकांशको काम भइरहेको आयोजना प्रमुख पन्तको भनाइ छ । सङ्घीय सरकारले काँकडभिट्टाबाट केरखासम्मको पूर्वी सडकखण्ड निर्माणका लागि दमकमा र केरखाबाट इटहरीसम्मको पश्चिमी सडकखण्डको निर्माणका लागि इटहरीमा कार्यालय स्थापना गरेको छ ।
हालसम्ममा सो सडकखण्डको भौतिक प्रगति २७ प्रतिशत रहेको आयोजना प्रमुख पन्तले जानकारी दिए । सरकारले काँकडभिट्टा–लौकही सडकको ९५ दशमलव ७६ किलोमिटर क्षेत्रमा एसियन हाइवेको निर्माण अघि बढाएको भन्दै उनले सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडक बन्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण