शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

शनिबार, ०१ कात्तिक २०८२, २३ : १०
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • तिहारको अवसरमा, भक्तपुरमा फूल र मालाको मूल्य बढेको छ, किनभने व्यापारीहरूले किसानबाट सिधै खरिद गरिरहेका छन्।
  • गुण्डु र ताथलीका किसानले मखमली माला प्रतिको रु ३०-३५ मा बिक्री गरिरहेका छन्, भने सयपत्री फूलको मूल्य पनि बढेको छ।
  • स्थानीय किसानहरूले फूलखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्, तर यस वर्षको वर्षाले सयपत्री फूलको उत्पादनमा असर पारेको छ।

भक्तपुर । मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन थालेपछि तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएको छ । फूलखेती हुने भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानले व्यापारी घरमै आउन थालेपछि राम्रो मूल्य पाएका छन् । 

आइतबारदेखि तिहार सुरु हुँदैछ । शनिबारदेखि तिहारको धनतेरस सुरु भएपछि बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । 

व्यापारी बजारमा एउटा मखमलीको माला रु ८० मा बिक्री गरिरहेका छन् । गुण्डुका किसानले शुक्रबारसम्म मखमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा बिक्री गरेकामा शनिबारदेखि किसानले प्रतिमाला रु ३० देखि ३५ मा बिक्री गरिरहेका छन् । 

गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले शनिबारदेखि किसानसँग आफूले मखमली फूलको प्रतिमाला रु ३० दखि रु ३५ मा किनेको बताए । 

सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण–९ ताथलीका वनमालाले पनि मखमलीको प्रतिमाला रु ३० मा बिक्री गरेको बताए । 

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता फूल तथा माला बिक्री गर्दै आएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताइन् । व्यापारी र बिचौलिया नै प्रतिस्पर्धामा मूल्य बढाएर किसानको घरघरबाट फूलमाला उठाउन थालेको उनको भनाइ छ । 

स्थानीय उर्मिला नगरकोटी यतिखेर फूल र मालाको व्यापारबाटै एक परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताउँछिन् । उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको छ ।

स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट रु तीन लाखको आम्दानी गरेको बताइन् । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उनले बताइन् । 

सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा करिब तीन पाथीभन्दा बढी हुन्छ । हाल एक ढ्वाङको मूल्य रु सात सयसम्ममा बिक्री भइरहेको छ । यहाँबाट एकै घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् । 

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला ७० रुपैयाँमा बिक्री गरेको बताउँछन् । 

यस वर्ष लामो झरी र बर्सातका कारण सयपत्री फूल मरेर उत्पादन नै नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए । उनले टनेलबाहिर खुला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्यवृद्धि भएको बताए । व्यापारीले सयपत्री फूलको माला भने लम्बाइको साइजअनुसार प्रतिगोटा रु १५० देखि ८०० सम्ममा बिक्री गरेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप