कार्तिक कृष्ण त्रयोदशी: आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी जयन्ती मनाइँदै
सारांश
- आज देशभर धन्वन्तरी जयन्ती मनाइँदैछ, जुन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्ती हो।
- धार्मिक मान्यता अनुसार, भगवान् विष्णु धन्वन्तरीका रूपमा प्रकट भई अमृत वितरण गरेपछि देव वैद्यको पद स्वीकार गरेका थिए।
- आजको दिन आयुर्वेदका विद्यार्थी, चिकित्सक र स्वास्थ्यकर्मीहरूले विशेष कार्यक्रम गरी भगवान् धन्वन्तरीको पूजा र आराधना गर्दछन्।
काठमाडौँ । हिन्दु धर्ममा आरोग्यता र स्वास्थ्यसँग सम्बन्धित पवित्र पर्व धन्वन्तरी जयन्ती (आइतबार) आज देशभर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने यस पर्वलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ ।
धार्मिक विश्वासअनुसार, आजकै दिन भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरीका रूपमा अवतरित भएका थिए । देवता र असुरबिचको समुद्र मन्थनका क्रममा हलाहल विष, कामधेनु, ऐरावत, उच्चैःश्रवा अश्व, अप्सरा, कौस्तुभ मणि, वारुणी, महाशङ्ख, कल्पवृक्ष, चन्द्रमा, लक्ष्मी र कदली वृक्ष आदिको उत्पत्तिपछि अन्त्यमा भगवान् धन्वन्तरी प्रकट भएको उल्लेख पाइन्छ ।
सुवर्ण कलशमा अमृत लिएर चतुर्भुज रूपमा प्रकट भएका धन्वन्तरीले देवता र असुरबिच अमृत वितरण गरेपछि देवराज इन्द्रको अनुरोधमा देव वैद्यको पद स्वीकार गरी स्वर्गमा बसोबास गरे । त्यसै समयदेखि धन्वन्तरीलाई आरोग्यका देवता र आयुर्वेदका संस्थापकका रूपमा मानिन्छ ।
आयुर्वेद शास्त्रका प्रवर्तक धन्वन्तरीलाई ‘वैद्यराज’- वैद्यहरूको राजा पनि भनिन्छ । आजकै दिन आयुर्वेदका विद्यार्थी, चिकित्सक र स्वास्थ्यकर्मीहरूले विशेष कार्यक्रम आयोजना गरी भगवान् धन्वन्तरीको पूजा र आराधना गर्ने परम्परा रहेको छ ।
धन्वन्तरीको पूजा वा आराधना निम्न मन्त्रद्धारा गर्नुपर्दछ ।
ॐ नमो भगवते वासुदेवाय धन्वन्तरये
अमृतकलश हस्ताय सर्वामय विनाशनाय
त्रैलोक्यनाथाय श्रीमहाविष्णवे नमः
अर्थात
म भगवान् वासुदेव (विष्णु) लाई नमस्कार गर्छु । जो भगवान् धन्वन्तरीका रूपमा प्रकट भएका छन्, तिनलाई नमस्कार । जसका हातमा अमृत (अजर–अमर हुने शक्ति) भएको कलश छ । जो सबै प्रकारका रोग, पीडा र व्याधिहरू नाश गर्ने शक्ति राख्छन् । जो तीन लोकका स्वामी हुन् स्वर्ग, पृथ्वी र पातालका अधिपति । म ती महान् विष्णुलाई नमस्कार गर्दछु, जो समस्त जगत्को पालक हुन् ।
धार्मिक विश्वास अनुसार, धन्वन्तरीको पूजा आराधनाले शरीर, मन र आत्मामा आरोग्य र शान्ति प्राप्त हुन्छ । रोग निवारण, दीर्घायु, भय नाश, चिन्ता शमन र मानसिक स्थिरता प्राप्त हुने जनविश्वास रहेको छ । विशेष गरी चिकित्सा तथा सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि यो दिन अत्यन्त शुभ मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण