छोइनसक्नु हरियो तरकारीको भाउ, के कारणले बढिरहेको छ ?
सारांश
- बजारमा हरियो तरकारीको भाउ अत्यधिक बढेको छ, जसले उपभोक्ताको दैनिकीमा असर गरेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्यमा २००% सम्म वृद्धि भएको जनाएको छ।
- बर्खे तरकारीको सिजन सकिनु र हिउँदे तरकारी नआउनुले बजारमा तरकारीको अभाव भएको हो।
काठमाडौँ । अहिले बजारमा हरियो तरकारीको भाउ अत्यधिक महँगिएको छ, जसले उपभोक्ताको दैनिकीमा प्रत्यक्ष असर पारिरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले एक वर्षको अविधिमा अधिकांश तरकारीको होलसेल मूल्यमा उल्लेख्य वृद्धि भएको बताएको छ ।
कालीमाटी तरकारी बजारका अनुसार एक वर्षको अवधिमा तरकारीको भाउमा २०० प्रतिशतसम्म बढेको छ । खुद्रा बजारमा कालीमाटीभन्दा दोब्बर तेब्बर मूल्यमा बिक्री भइरहेको छ । खुद्रा बजारमा सिमी २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म पर्ने गरेको छ । कन्ने च्याउ ३५० रुपैयाँ, भिण्डी २०० रुपैयाँ पर्ने गरेको छ, जसले गर्दा सर्वसाधारण उपभोक्ताको भान्छा अत्यधिक महँगो भएको छ ।
कुन तरकारीको भाउ कति बढ्यो ?
एक वर्षअघिको तुलनमा भिण्डी र चिचिण्डोको मूल्य दुई सय प्रतिशतसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरणअनुसार यस्तो पाइएको हो ।
एक वर्षअघि (२०८१ कात्तिक १ गते) प्रतिकिलो औसत ४५ रुपैयाँमा किनबेच भएको भिण्डी अहिले १३५ रुपैयाँ प्रतिकिलो छ । यस्तै चिचिण्डो अघिल्लो वर्षको यसै अवधिमा प्रतिकिलो औसत २५ रुपैयाँ पथ्र्यो, तर अहिले ७५ रुपैयाँ पुगेको छ । यसरी हेर्दा यी दुवै तरकारीको मूल्यमा २ सय प्रतिशतसम्म वृद्धि भएको देखिन्छ । यस्तै गरी ब्रोकाउलीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो वर्ष ११६.६७ रुपैयाँ प्रतिकिलो औसतमा बिक्री भएको काउली अहिले २५० पुगेको छ । अर्थात्, ११४.२८ प्रतिशतले वृद्धि भएको छ ।
एक वर्षको अन्तरमा यस्तो छ तरकारीको भाउ वृद्धिः

अघिल्लो वर्षको अधिकांश हरिया तरकारीको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ ।
अघिल्लो वर्ष ११५ रुपैयाँ प्रतिकिलो पर्ने तोफू १७.३९ प्रतिशतले बढेर १३५ रुपैयाँ पुगेको छ । यस्तै जिरीको साग २७६.६७ रुपैयाँ प्रतिकिलो रहेकोमा ३६.१४ प्रतिशतले बढेर ३७६.६७ रुपैयाँ पुगेको छ ।
यस्तै डल्ले च्याउ २९ प्रतिशत, तोरीको साग २५.६७ प्रतिशत, पाकेको फर्सी २७.२७ प्रतिशत, तितेकरेला २६.६७ प्रतिशतले बढेको छ । रातो मुला २२.२२ प्रतिशत, बरेला १०.५३ प्रतिशत, स्थानीय काउली ८.७० प्रतिशत, कन्य च्याउ ४.३५ प्रतिशत बढेको छ ।
यी हुन् ४० प्रतिशतभन्दा कम वृद्धि भएका तरकारी

किन बढिरहेको छ मूल्य ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी तथा निर्देशक विनय श्रेष्ठका अनुसार हरियो तरकारीको मूल्य बढ्नुका (मुख्य छाडी) दैनिक आगमनमा आएको कमी र मौसमी प्रभाव प्रमुख हुन् ।
श्रेष्ठले भने, ‘अहिले बर्खे तरकारीको सिजन सकिने र हिउँदे तरकारी राम्रोसँग बजारमा आइनपुगेको अवस्था छ । यसले गर्दा बजारमा ताजा तरकारीको अभाव भएको छ ।’
मागको तुलनामा आपूर्ति कम हुँदा मूल्य स्वाभाविक रूपमा बढ्ने गरेको उनी बताउँछन् ।
हालैको वर्षा र बाढी पहिरोले पनि तयार हुन लागेका बालीनालीमा क्षति पुर्याएको र त्यसको असर बजारमा देखिएको श्रेष्ठको भनाइ छ । ‘तरकारीले लगातार उत्पादन दिँदैन, सिजन सकिँदै गर्दा उत्पादन घट्छ र त्यसमाथि वर्षातको प्रभावले थप क्षति पुग्यो,’ उनले भने ।
ताजा तरकारीको आगमनमा कमी आएको भए पनि आलु, प्याज जस्ता भण्डारण गर्न सकिने तरकारीको मूल्यमा भने खासै ठुलो परिवर्तन आएको छैन । आलुप्याजको मूल्य गत वर्षभन्दा घटेको छ भने, नयाँ आलुको आगमनले गर्दा रातो आलुको मूल्य केही बढेको देखिए पनि भारतीय आलु भने सस्तो नै रहेको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भारतबाट पनि अहिले ताजा तरकारीको आयात खासै छैन, त्यसैले बजारमा उपलब्ध तरकारीको मात्रा कम हुन गएको र यसले पनि मूल्य वृद्धिमा टेवा पुर्याएको देखिन्छ । विशेष गरी सिमी, बोडी, भिन्डीलगायत तरकारीहरूको मूल्य उच्चतम तहमा पुगेको छ ।
मौसमी चक्र, प्राकृतिक प्रकोप र आपूर्तिमा कमीजस्ता कारणले गर्दा नेपाली उपभोक्ताहरूले अहिले हरियो तरकारीको चर्को मूल्य तिर्नुपरेको छ । हिउँदे तरकारीको आगमन भएपछि मात्र मूल्यमा केही स्थिरता आउन सक्ने श्रेष्ठको भनाइ छ ।
कस्तो छ दैनिक आवागमन ?
कालीमाटी तरकारी बजारमा तरकारी तथा फलफूलको आगमनको अवस्था हेर्ने होभने शुक्रबार ७११.१२ मेट्रिक टन फलफूल तथा आयात भएको छ । बिहीबार ७०९.६३ मेट्रिक टन आयात भएको थियो । बुधबार ८२३.९२ मेट्रिक टन आयात भएको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ । यसर्थ दैनिक ७०० देखि ८०० मेट्रिक टनको हाराहारीमा आगमन रहेको छ । अघिल्लो वर्षको यस अवधिमा करिब ५०० मेट्रिक टनको हाराहारीमा मात्रै आयात रहेको उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण