शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले भीभीआइपी/भीआइपी सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने

आइतबार, ०२ कात्तिक २०८२, १५ : १९
आइतबार, ०२ कात्तिक २०८२

काठमाडौँ । सरकारले भीभीआइपी/भीआइपीको सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने भएको छ । 

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले शक्तिको भरमा सुरक्षा मापदण्ड मिच्ने गरिएको भन्दै त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

मन्त्रालयले केही दिन अघि भीभीआइपी र भीआइपीले तोकिएकोभन्दा बढी दिएका सुरक्षाकर्मी फिर्ता बोलाएको थियो ।

जेनजी आन्दोलनका क्रममा लुटिएका सुरक्षा निकायका हातहतियार फिर्ता ल्याउन र फरार कैदीबन्दी पक्राउ गर्न संयुक्त गस्ती सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

आन्दोलनका क्रममा हराएका हतियारहरू सङ्गठित गिरोहमा पुग्न नदिन संयुक्त गस्ती सञ्चालन गर्ने निर्णय बैठकले गरेको मन्त्री अर्यालले बताए ।

राजनीतिक दलहरूले पनि कैदीबन्दी र हतियार प्रयोग गर्दैनौँ भनी स्वघोषणा गर्नुपर्ने निर्णय बैठकको छ ।आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित तरिकाले सम्पन्न गर्न संयुक्त सुरक्षा गस्ती सुरु गर्ने निर्णय बैठकले गरेको मन्त्री अर्यालले जानकारी दिए । 

शान्ति सुरक्षा कायम गरी निर्वाचनको वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ अघि बढाउने निर्णय गरिएको हो ।

मुलुकभर प्रमुख जिल्ला अधिकारीमार्फत पेट्रोलिङ गरिने भएको हो । गृहमन्त्रीको अध्यक्षतामा रहने केन्द्रीय सुरक्षा समितिमा गृह सचिव, रक्षा सचिव नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक सदस्य हुन्छन् । 

गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख सदस्य सचिव हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप