पोखरीले चिनाएको सहरमा पोखरीहरूकै बेहाल, अस्तित्व नै सङ्कटमा
सारांश
- जनकपुरधामका ऐतिहासिक पोखरीहरू सरसफाइको अभावमा जीर्ण बन्दै गएका छन्, भने केही सुक्दै गएका छन्।
- गङ्गा सागर र धनुष सागर लगायतका पोखरीहरूमा स्थानीयको पहलमा सरसफाइ अभियान सुरु गरिएको छ, तर पूर्ण सरसफाइ हुन सकेको छैन।
- जनकपुरधामका मेयरले पोखरी सौन्दर्यीकरणका लागि बजेट विनियोजन गरेको र टेन्डर प्रक्रियामा रहेको जानकारी दिएका छन्।
जनकपुरधाम । पोखरीहरूको सहर भनेर चिनिएको जनकपुरधाममा सम्बन्धित निकायको समयमै ध्यान नपुग्दा थुप्रै ऐतिहासिक पोखरीहरू अस्तित्वै नै गुमाउने अवस्थामा पुगेका छन् । अहिले पनि बाँकी रहेका धेरै पोखरीहरू सरसफाइको अभावमा जीर्ण छन्, कतिपय त सुक्दै पनि गएका छन् ।
जनकपुरधामको सुन्दरता बढाउने गङ्गा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउजस्ता केही प्रमुख पोखरीहरू भने स्थानीयको पहल र प्रयासले जोगिएका छन् । तर, ती पोखरीहरूमा पनि पूर्ण रूपमा सरसफाइ र व्यवस्थापन हुन सकेको छैन ।
_0xbPTNWKHB.jpg)
गङ्गा सागर पोखरी, जनकपुरधामको प्रमुख धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा परिचित छ, जुन अहिले पनि केही हदसम्म आकर्षक देखिन्छ । प्रदेशसभा सदस्य रामअशिष यादवको पहलमा पछिल्ला वर्षहरूमा गङ्गा सागर सफा गरिएको छ र हरेक साँझ गङ्गा आरती कार्यक्रम सञ्चालन भइरहेको छ ।
गङ्गा सागरको संरक्षणका लागि स्थापना गरिएको संस्था ‘सेभ द हिस्टोरिकल जनकपुर’ निरन्तर सरसफाइ अभियानमा जुटिरहेको छ । संस्थाका अध्यक्ष तथा अधिवक्ता राजकुमार महासेठका अनुसार कोभिड–१९ महामारीपछि सरसफाइमा सहभागिता घटेको छ । पहिले स्थानीय, प्रहरी र सेनाको सहकार्यमा हुने सरसफाइ अब संस्थामाथि मात्र निर्भर भएको उनले बताए ।
महासेठ भन्छन्, ‘अहिले हामीले हरेक हप्ता सरसफाइ गरिरहेका छौँ । गङ्गा आरती सञ्चालनका लागि चारजना पण्डित, चार कर्मचारी, एक माली र एक भाँडा माझ्ने कर्मचारीसहित १० जनाको खर्च हामीले आफैँ वहन गरिरहेका छौँ ।’

दानपेटी र स्वैच्छिक भेटीबाट उठेको रकमले मात्र यो सबै काम सञ्चालन भइरहेको उनले बताए । सरसफाइमा कुनै सम्झौता नगरिएको भए पनि पोखरीको पूर्वपट्टि केही कमजोरी रहेको स्वीकार गर्दै उनले त्यस क्षेत्रमा सुधारका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
केही दिनअघि गङ्गा सागर पोखरीको डिल मासेर रामनारायण स्मृति भवन निर्माणको प्रयास भएपछि विवाद उत्पन्न भएको थियो । ‘त्यो समयमा ठुलो खाल्डो खनिएको थियो, अहिले आएर त्यो खाल्डो पुरिएको छ,’ महासेठले भने । गङ्गा सागरजस्तै जनकपुरधामका ठुला पोखरीहरूलाई बचाउन सके यसले पर्यटनमा ठुलो योगदान पुर्याउँछ ।
गङ्गासागरसँग ऐतिहासिक र धार्मिक रूपमा जोडिएको धनुष सागर पोखरी लामो समयदेखि उपेक्षामा परेको थियो । तर पछिल्ला महिनाहरूमा गायक तथा युवा अभियन्ता जयनाथ अधिकारीको अगुवाइमा यहाँ सरसफाइ अभियान सुरु भएको छ ।

धनुषाका पूर्वी क्षेत्रका स्थायी बासिन्दा अधिकारीले गङ्गासागरजस्तै महत्त्व बोकेको धनुष सागर लामो समयसम्म बेवास्तामा परेको देखेपछि जनकपुरधाम आइपुगेर हरेक साताको शुक्रबार नियमित सरसफाइ अभियान थालिएको उनको भनाइ छ । ‘पहिले एक्लै कठिन थियो, तर अहिले युवाहरूको साथ पाउँदै गएको छु । सरसफाइमा जागरण जगाउने उद्देश्यले प्रत्येक शुक्रबार धनुष सागरको डिलमा साङ्गीतिक साँझ पनि आयोजना गर्छौँ,’ उनले बताए ।
पोखरीमा अझै पनि फोहोर फाल्नेको कमी छैन । ‘धार्मिक कार्यमा प्रयोग भएका फूल र अन्य सामग्री स्थानीयहरूले सीधै पोखरीमा फाल्छन् । धेरैपटक रोके पनि क्रम रोकिएको छैन । अहिले यो प्रवृत्तिविरुद्ध भिडियो बनाएर सामाजिक सञ्जालमा राखेपछि केही कमी आएको छ,’ उनले भने ।
_QPPmVvYY98.jpg)
सरसफाइमा कमजोरी देखिनुमा स्थानीय तहको मौनता नै उनी मुख्य कारण मान्छन् । ठाउँ–ठाउँमा डस्टबिन राख्नका लागि आफ्नै नेतृत्वमा टिमले जनकपुरधाम उपमहानगरपालिकामा निवेदन दिए पनि उपमहानगरपालिकाले ‘प्रक्रियामा छ’ भन्दै हालसम्म कार्यान्वयन नगरेको उनले गुनासो गरे ।
उनले थपे, ‘हामीले आफ्नो सहरलाई सुन्दर बनाउन सरसफाइ र सचेतना अभियान चलाएका हौँ । यो अभियानको सार्थकता तब मात्र हुनेछ, जब सबैले पोखरीलाई आफ्नै गौरवका रूपमा हेर्छन् ।’
_Z4lmOupr9r.jpg)
धनुष सागरकै डिलमा एउटा क्लब छ, तर त्यस क्लबले सरसफाइमा केही सहयोग नगरेको अधिकारी दुखेसो गर्छन् । ग्रामीण क्षेत्रका साथीहरूले भने प्रत्येक शनिबार पोखरीमै आएर उनलाई सरसफाइमा सहयोग गरिरहेका छन् ।
धनुष सागर सरसफाइ अभियानले अहिले जनकपुरधामका युवामाझ वातावरणीय सचेतना फैलाउँदै ऐतिहासिक पोखरीको पुनर्जीवनतर्फ नयाँ आशा जगाएको छ ।
_FYKvNQDq1T.jpg)
यता, गङ्गा सागरमा सरसफाइ अभियानले टोल–टोलमा रहेका ऐतिहासिक पोखरीहरूलाई पनि सरसफाइ गर्न जनचेतना जगाए पनि केही दिनपछि फेरि पोखरीहरूमा फोहोर बढ्न थालेको छ । पोखरीहरूलाई सुन्दर बनाउन सङ्घीय सरकारबाट करोडौँ बजेट दिएको छ, तर त्यो बजेटले जनकपुरधाममा के काम हुन्छ त्यसको पत्तो छैन ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले धनुष सागर, रतन सागरलगायत पोखरी सौन्दर्यीकरण गर्न बजेट विनियोजन गरिएको बताउँछन् । र त्यसको टेन्डर निस्कने प्रक्रियामा रहेको पनि उनले जानकारी दिए । अन्य साना पोखरीहरूको सौन्दर्यीकरणमा पनि उपमहानगर लागिपरेको उनको भनाइ थियो ।
जनकपुरधाम ५२ कुटी ७२ कुण्डको नामले परिचित छ, तर अब जनकपुरधाममा न त ५२ कुटी नै अस्तित्वमा छन् न त ७२ कुण्ड नै । यी सबै भूमाफियाले अतिक्रमण गरिसकेका छन् । यसप्रति न त स्थानीय सरकार नै सजग छ न त गुठी संस्थान नै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण