बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

पोखरीले चिनाएको सहरमा पोखरीहरूकै बेहाल, अस्तित्व नै सङ्कटमा

स्थानीय तहलाई छैन वास्ता, एक दुई जनाले कतिञ्जेल गर्ने ?
सोमबार, ०३ कात्तिक २०८२, ०८ : ३०
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • जनकपुरधामका ऐतिहासिक पोखरीहरू सरसफाइको अभावमा जीर्ण बन्दै गएका छन्, भने केही सुक्दै गएका छन्।
  • गङ्गा सागर र धनुष सागर लगायतका पोखरीहरूमा स्थानीयको पहलमा सरसफाइ अभियान सुरु गरिएको छ, तर पूर्ण सरसफाइ हुन सकेको छैन।
  • जनकपुरधामका मेयरले पोखरी सौन्दर्यीकरणका लागि बजेट विनियोजन गरेको र टेन्डर प्रक्रियामा रहेको जानकारी दिएका छन्।
00:00 / NaN:NaN
Audio By AI

जनकपुरधाम  । पोखरीहरूको सहर भनेर चिनिएको जनकपुरधाममा सम्बन्धित निकायको समयमै ध्यान नपुग्दा थुप्रै ऐतिहासिक पोखरीहरू अस्तित्वै नै गुमाउने अवस्थामा पुगेका छन् । अहिले पनि बाँकी रहेका धेरै पोखरीहरू सरसफाइको अभावमा जीर्ण छन्, कतिपय त सुक्दै पनि गएका छन् ।

जनकपुरधामको सुन्दरता बढाउने गङ्गा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउजस्ता केही प्रमुख पोखरीहरू भने स्थानीयको पहल र प्रयासले जोगिएका छन् । तर, ती पोखरीहरूमा पनि पूर्ण रूपमा सरसफाइ र व्यवस्थापन हुन सकेको छैन ।

pokhari (1)

गङ्गा सागर पोखरी, जनकपुरधामको प्रमुख धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा परिचित छ, जुन अहिले पनि केही हदसम्म आकर्षक देखिन्छ । प्रदेशसभा सदस्य रामअशिष यादवको पहलमा पछिल्ला वर्षहरूमा गङ्गा सागर सफा गरिएको छ र हरेक साँझ गङ्गा आरती कार्यक्रम सञ्चालन भइरहेको छ ।

गङ्गा सागरको संरक्षणका लागि स्थापना गरिएको संस्था ‘सेभ द हिस्टोरिकल जनकपुर’ निरन्तर सरसफाइ अभियानमा जुटिरहेको छ । संस्थाका अध्यक्ष तथा अधिवक्ता राजकुमार महासेठका अनुसार कोभिड–१९ महामारीपछि सरसफाइमा सहभागिता घटेको छ । पहिले स्थानीय, प्रहरी र सेनाको सहकार्यमा हुने सरसफाइ अब संस्थामाथि मात्र निर्भर भएको उनले बताए ।

महासेठ भन्छन्, ‘अहिले हामीले हरेक हप्ता सरसफाइ गरिरहेका छौँ । गङ्गा आरती सञ्चालनका लागि चारजना पण्डित, चार कर्मचारी, एक माली र एक भाँडा माझ्ने कर्मचारीसहित १० जनाको खर्च हामीले आफैँ वहन गरिरहेका छौँ ।’ 

rajkumar mahaseth

दानपेटी र स्वैच्छिक भेटीबाट उठेको रकमले मात्र यो सबै काम सञ्चालन भइरहेको उनले बताए । सरसफाइमा कुनै सम्झौता नगरिएको भए पनि पोखरीको पूर्वपट्टि केही कमजोरी रहेको स्वीकार गर्दै उनले त्यस क्षेत्रमा सुधारका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

केही दिनअघि गङ्गा सागर पोखरीको डिल मासेर रामनारायण स्मृति भवन निर्माणको प्रयास भएपछि विवाद उत्पन्न भएको थियो । ‘त्यो समयमा ठुलो खाल्डो खनिएको थियो, अहिले आएर त्यो खाल्डो पुरिएको छ,’ महासेठले भने । गङ्गा सागरजस्तै जनकपुरधामका ठुला पोखरीहरूलाई बचाउन सके यसले पर्यटनमा ठुलो योगदान पुर्‍याउँछ । 

गङ्गासागरसँग ऐतिहासिक र धार्मिक रूपमा जोडिएको धनुष सागर पोखरी लामो समयदेखि उपेक्षामा परेको थियो । तर पछिल्ला महिनाहरूमा गायक तथा युवा अभियन्ता जयनाथ अधिकारीको अगुवाइमा यहाँ सरसफाइ अभियान सुरु भएको छ ।

jaynath yadav

धनुषाका पूर्वी क्षेत्रका स्थायी बासिन्दा अधिकारीले गङ्गासागरजस्तै महत्त्व बोकेको धनुष सागर लामो समयसम्म बेवास्तामा परेको देखेपछि जनकपुरधाम आइपुगेर हरेक साताको शुक्रबार नियमित सरसफाइ अभियान थालिएको उनको भनाइ छ । ‘पहिले एक्लै कठिन थियो, तर अहिले युवाहरूको साथ पाउँदै गएको छु । सरसफाइमा जागरण जगाउने उद्देश्यले प्रत्येक शुक्रबार धनुष सागरको डिलमा साङ्गीतिक साँझ पनि आयोजना गर्छौँ,’ उनले बताए ।

पोखरीमा अझै पनि फोहोर फाल्नेको कमी छैन । ‘धार्मिक कार्यमा प्रयोग भएका फूल र अन्य सामग्री स्थानीयहरूले सीधै पोखरीमा फाल्छन् । धेरैपटक रोके पनि क्रम रोकिएको छैन । अहिले यो प्रवृत्तिविरुद्ध भिडियो बनाएर सामाजिक सञ्जालमा राखेपछि केही कमी आएको छ,’ उनले भने । 

pokhari (4)

सरसफाइमा कमजोरी देखिनुमा स्थानीय तहको मौनता नै उनी मुख्य कारण मान्छन् । ठाउँ–ठाउँमा डस्टबिन राख्नका लागि आफ्नै नेतृत्वमा टिमले जनकपुरधाम उपमहानगरपालिकामा निवेदन दिए पनि उपमहानगरपालिकाले ‘प्रक्रियामा छ’ भन्दै हालसम्म कार्यान्वयन नगरेको उनले गुनासो गरे । 

उनले थपे, ‘हामीले आफ्नो सहरलाई सुन्दर बनाउन सरसफाइ र सचेतना अभियान चलाएका हौँ । यो अभियानको सार्थकता तब मात्र हुनेछ, जब सबैले पोखरीलाई आफ्नै गौरवका रूपमा हेर्छन् ।’ 

pokhari (7)

धनुष सागरकै डिलमा एउटा क्लब छ, तर त्यस क्लबले सरसफाइमा केही सहयोग नगरेको अधिकारी दुखेसो गर्छन् । ग्रामीण क्षेत्रका साथीहरूले भने प्रत्येक शनिबार पोखरीमै आएर उनलाई सरसफाइमा सहयोग गरिरहेका छन् । 

धनुष सागर सरसफाइ अभियानले अहिले जनकपुरधामका युवामाझ वातावरणीय सचेतना फैलाउँदै ऐतिहासिक पोखरीको पुनर्जीवनतर्फ नयाँ आशा जगाएको छ ।

pokhari (3)

यता, गङ्गा सागरमा सरसफाइ अभियानले टोल–टोलमा रहेका ऐतिहासिक पोखरीहरूलाई पनि सरसफाइ गर्न जनचेतना जगाए पनि केही दिनपछि फेरि पोखरीहरूमा फोहोर बढ्न थालेको छ । पोखरीहरूलाई सुन्दर बनाउन सङ्घीय सरकारबाट करोडौँ बजेट दिएको छ, तर त्यो बजेटले जनकपुरधाममा के काम हुन्छ त्यसको पत्तो छैन । 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले धनुष सागर, रतन सागरलगायत पोखरी सौन्दर्यीकरण गर्न बजेट विनियोजन गरिएको बताउँछन् । र त्यसको टेन्डर निस्कने प्रक्रियामा रहेको पनि उनले जानकारी दिए । अन्य साना पोखरीहरूको सौन्दर्यीकरणमा पनि उपमहानगर लागिपरेको उनको भनाइ थियो । 

जनकपुरधाम ५२ कुटी ७२ कुण्डको नामले परिचित छ, तर अब जनकपुरधाममा न त ५२ कुटी नै अस्तित्वमा छन् न त ७२ कुण्ड नै । यी सबै भूमाफियाले अतिक्रमण गरिसकेका छन् । यसप्रति न त स्थानीय सरकार नै सजग छ न त गुठी संस्थान नै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप