बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी पुस्ताको रोजाइमा ‘मौरिस हर्जोग’ पदमार्ग

सोमबार, ०३ कात्तिक २०८२, ०९ : २१
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग युवा पुस्ताको रोजाइ बनेको छ, जहाँ दैनिक तीन सय आन्तरिक पर्यटक आउँछन्।
  • सामाजिक सञ्जालबाट प्रभावित युवाहरू नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन अन्नपूर्ण क्षेत्रमा पुगेका छन्।
  • स्थानीय व्यवसायीहरूले अस्थायी होटल चलाएका छन्, तर स्थायी संरचना र सुविधा विस्तारमा समस्या छन्।

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर र 'मौरिस हर्जोग' पदमार्ग युवा पुस्ता अर्थात् 'जेनजी' को पहिलो रोजाइ बनेको छ। दसैँ-तिहारको बिदामा पोखराकी दिवाना सुनुवार र बनेपाकी अनुषा लामा जस्ता धेरै युवा पर्यटक अन्नपूर्ण आधार शिविर घुम्न पुगेका छन्। 

मौसममा सुधार आएसँगै दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्, जसमा करिब ८० प्रतिशत जेनजी पुस्ताका छन्। सामाजिक सञ्जालमा भाइरल भएका फोटो र भिडियो देखेर लोभिएर आएका उनीहरू नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहन्छन्।

छोटो दूरीमा हिमाल, ताल, झरना, फरक भूगोल र वन्यजन्तुको अवलोकन गर्न पाइने भएकाले अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग युवाहरूबिच लोकप्रिय बनेको हो। सन् १९५० मा अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रान्सका मौरिस हर्जोगको सम्मानमा नामकरण गरिएको यो पदमार्ग वि.सं. २०८० देखि सञ्चालनमा आएको हो।

पर्यटकको चाप बढेसँगै हुमखोला, साँघीखर्क लगायतका ठाउँमा स्थानीयवासीले अस्थायी टहरा र टेन्टमा होटल चलाएका छन्। तर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्‍याप)ले स्थायी संरचना बनाउन नदिएको र विद्युत् तथा सञ्चार सुविधाको समस्या रहेको व्यवसायी बताउँछन्। 

फोहर व्यवस्थापन र होटलको क्षमता विस्तार मुख्य चुनौती बनेको छ। गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पदमार्गको स्तरोन्नति र सुविधा थप गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गर्ने आश्वासन दिएका छन्। गाउँपालिकाले पनि एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणलाई निरन्तरता दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप