सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु मूर्तिको निर्माण तीव्र, नेपालकै सबैभन्दा ठुलो बन्दै

मङ्गलबार, ०४ कात्तिक २०८२, ०९ : ३९
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • मुस्ताङको मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माण भइरहेको छ, जसको ४० प्रतिशत काम सकिएको छ।
  • यो मूर्ति निर्माणमा शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् र अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने लक्ष्य छ।
  • मुक्तिनाथमा निर्माणाधीन यो मूर्तिले धार्मिक र पर्यटकीय महत्व बढाउने र मुस्ताङको सम्भावनालाई उजागर गर्नेछ।

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माण कार्यले गति लिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निर्माणाधीन यस मूर्तिको काम चालिस प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यले बताएका छन्। यो मूर्ति तयार भएपछि नेपालकै सबैभन्दा ठुलो विष्णु मूर्ति बन्नेछ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ सालमा सुरु गरेको यो परियोजनामा शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। अर्को वर्षसम्ममा मूर्ति निर्माण सम्पन्न हुने लक्ष्य छ।

यो विशाल मूर्ति मुक्तिनाथ मन्दिर र सोनाम लामाले निर्माण गरेको बुद्ध मूर्तिको बिचमा करिब दुई सय फिटको दूरीमा रहनेछ। समुद्र सतहबाट ३,७१० मिटर उचाइमा रहेको यो स्थानबाट चारैतिर हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

सोनाम लामा र शेष घले यो परियोजनाको नेतृत्व गरिरहेका छन्। लामाले यसअघि नै मुक्तिनाथमा करिब ६ करोड रुपैयाँको लगानीमा बुद्ध मूर्ति स्थापना गरिसकेका छन्। लामाका अनुसार हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा थलो मुक्तिनाथको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गर्न विष्णु मूर्ति निर्माणको पहल गरिएको हो।

2

विष्णु मूर्ति निर्माणका लागि आवश्यक ढुङ्गा चोभारबाट ल्याइएको छ। यसअघि स्थापना गरिएको बुद्ध मूर्तिमा पनि चोभारकै ढुङ्गा प्रयोग भएको थियो। मूर्ति निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा २० जनाभन्दा बढी कालिगड संलग्न छन्। ३५ फिट अग्लो यो मूर्ति निर्माण सम्पन्न भएपछि मुक्तिनाथको धार्मिक र पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

मूर्ति स्थापनाका लागि मुक्तिनाथ विकास समितिले सहयोग गरिरहेको लामाले जनाएका छन्। गाउँपालिकाले समेत वडा अध्यक्ष र स्थानीयहरूसँग मूर्ति स्थापनाका विषयमा छलफल गरिरहेको उनले बताए। समग्र परियोजना सम्पन्न गर्न करिब ९ करोड रुपैयाँ लाग्ने अनुमान छ।

मुक्तिनाथ विकास गुरु योजनाअन्तर्गत परम्परागत धार्मिक संरचनाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले यो परियोजना अगाडि बढाइएको हो। हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने मुक्तिनाथमा विश्वभरका पर्यटक र तीर्थयात्रीहरू आउने गर्छन्। 

घलेका अनुसार विष्णु मूर्तिको स्थापनाले मुक्तिनाथको धार्मिक र पर्यटकीय महत्वलाई थप उजागर गर्नेछ र यसले मुस्ताङको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप