आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

नवपुस्ताका कविहरूलाई हौसलामूलक कार्यक्रम 'मेरो कविता' आयोजना हुँदै

मङ्गलबार, ०४ कात्तिक २०८२, १५ : ०५
मङ्गलबार, ०४ कात्तिक २०८२

इलाम । राजधानी काठमाडौँ केन्द्रित साहित्यिक गतिविधिको विकल्पका रूपमा पूर्वी नेपालमा पनि सिर्जनात्मक अभियानको नयाँ लहर फैलिएको छ ।

यही अभियानलाई सुदृढ बनाउन My Platform को प्रस्तुतिमा दमक –३, बेलडाँगी क्याम्पमा विशेष कविता रियालिटी शो 'मेरो कविता' आयोजना गर्ने तयारी गरेको छ ।

कार्यक्रमको उद्देश्य पूर्वका नव–साहित्यकार तथा कविहरूलाई अवसर प्रदान गर्नु, मौलिक रचनालाई राष्ट्रिय स्तरसम्म ल्याउनु र युवापुस्तामा साहित्यप्रतिको आकर्षण बढाउनु रहेको आयोजकले बताएकाे छ ।

“हामी पूर्वमा पनि साहित्यको मोल बुझ्ने र सिर्जना गर्ने सामर्थ्य राख्छौँ भन्ने देखाउन चाहन्छौँ,” आयोजक केवल क्षेत्रीले भने, “यो कार्यक्रमले नयाँ पुस्ताका आवाजलाई मञ्च दिनेछ र उनीहरूलाई हौसला र प्रोत्साहनको नयाँ वातावरण सिर्जना गर्नेछ ।”

कार्यक्रममा चार जना निर्णायकहरू हेमन यात्री, उत्तम तुम्सा, सुमन स्मारिका र अज्ञातदधिलाई चयन गरिएको छ ।निर्णायकहरूले कविता प्रस्तुति, विषयवस्तु, लय, सन्देश र अभिव्यक्तिको आधारमा प्रतिस्पर्धीहरू मूल्याङ्कन गर्नेछन् ।

रियालिटी शो अन्तर्गत अनलाइन आव्हानबाट प्राप्त कवितामध्ये योग्य कविहरू छनोट गरिनेछन् ।छनोटपछि ५० जना कविहरूलाई भौतिक अडिसनका लागि आमन्त्रित गरिने र त्यसपछि तीन दिनसम्म बन्द प्रशिक्षण (वर्कशप) सञ्चालन गरिने योजना रहेको आयोजकले बताएका छन् ।

कार्यक्रमका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने कविहरूलाई नगद पुरस्कार, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ।साथै उत्कृष्ट रचनाहरूलाई डिजिटल माध्यममार्फत देश–विदेशका साहित्यप्रेमी समक्ष पुर्‍याउने योजनासमेत रहेको आयोजक क्षेत्रीले जनाएका छन् ।

आयोजकका अनुसार यो कार्यक्रमले काठमाडौँ केन्द्रितताको सन्तुलन कायम गर्दै पूर्वी नेपालमा नयाँ साहित्यिक चेतना र सिर्जनात्मक वातावरण निर्माण गर्ने मार्ग खोल्नेछ।स्थानीय युवा, साहित्यप्रेमी र कलाकारहरूमा यसले उत्साह र उत्सुकता जगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप