बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कृषि

कृषि कर्ममा लागेका अनिल भन्छन्– विदेश किन जानु ?

बुधबार, ०५ कात्तिक २०८२, १४ : ००
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • बाजुराका अनिल कुमार शाहीले गाउँमै कृषि व्यवसाय गरेर मनग्य आम्दानी गरिरहेका छन्।
  • उनले स्याउ, ओखर, कागती लगायतका फलफूलका बिरुवा उत्पादन गर्छन् र नयाँ प्रविधि अपनाएका छन्।
  • अनिलको वार्षिक १५ देखि २० लाख आम्दानी छ, र उनले युवालाई कृषिमा लाग्न प्रेरित गर्छन्।

धनगढी । रोजगारीका लागि कैयौँ नेपाली युवा बिदेसिने गरेका भए पनि बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३, जुकोटका २४ वर्षीय अनिल कुमार शाही गाउँमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । व्यावसायिक कृषिबाट उनले वैदेशिक रोजगारीको तुलनामा राम्रो आर्जन गरेका हुन् ।

कृषि विज्ञानमा स्नातक तहमा अध्ययनरत अनिल बाजुराका एक उदाउँदा व्यावसायिक कृषक पनि हुन् । उनले स्थापना गरेको हिमालयन एग्रिकल्चर रिसर्च एण्ड ट्रेनिङ सेन्टर जिल्लाकै उदाहरणीय बनेको छ । यस केन्द्रमा स्याउ, ओखर, कागती, बदाम, आरु, खुर्पानी, नासपाती लगायतका हिउँदे फलफूलका बेर्ना उत्पादन हुन्छ । 

१९ वर्षकै उमेरमा कृषिमा लागेका उनी बर्सेनि आफ्नो दायरा फराकिलो बनाउँदै आएका छन् । आईएससी एजी अध्ययन गरेकी उनकी श्रीमती अस्मिता पनि कृषि कर्ममा सक्रिय छिन् । 

1000036980

अनिलको कृषिसँगको साइनो बाल्यकालदेखि नै गाँसिएको हो । उनका बाजेबज्यै र आमाबुबाले परम्परागत रूपमा फलफूल तथा तरकारी खेती गर्थे, तर त्यो उत्पादन बेचेर पैसा कमाउन सकिन्छ भन्ने ज्ञान उनीहरूमा थिएन ।

‘आमाबुवाले उत्पादन गरेको फलफूल, तरकारी छिमेकी र आफन्तलाई कोसेली स्वरूप बाँडिन्थ्यो, बचेको तरकारी र फलफूल गाई–भैंसीलाई खुवाइन्थ्यो । व्यवसाय भने शून्य थियो,’ अनिलले भने ।

समयसँगै गाउँ नजिकै मोटर गुड्ने सडक पुग्यो । त्यही सडकले अनिललाई कृषिमा भविष्य कोर्ने सपना देखायो । २०७५ सालमा एसईई पास गरेपछि उनी जेटीए पढ्न कञ्चनपुर पुगे । त्यसपछि जुम्लाको बागवानी अनुसन्धान केन्द्रमा ६ महिनाको तालिमले उनलाई थप हौसला दियो । 

1000036815

२०७७ सालमा जेटिए पास गरेपछि उनले ‘हिमालयन फलफूल नर्सरी तथा कृषि पशुपंक्षी फार्म’ दर्ता गरेर व्यावसायिक यात्राको औपचारिक सुरुवात गरे । सुरुमा साढे दुई लाख रुपैयाँ घरबाट मागेर उनले यो काम थालेका थिए । ‘करोडौँ लगानी गरेर बाहिरबाट बिरुवा ल्याइन्छ, त्यो बिरुवा मैले नै उत्पादन गरेर बाजुराको पैसा बाहिर जानबाट रोक्न सकौँ भनेर नर्सरीमा जोड दिएँ,’ उनले भने ।

विशेषगरी २०७९ साल यता अनिलले आफ्नो कृषि व्यवसायलाई थप विस्तार र आधुनिकीकरण गरेका छन् । पहिले स्याउ खेती र त्यसको बजारीकरणमा मात्रै केन्द्रित उनको ध्यान अहिले बिरुवा उत्पादनतर्फ मोडिएको छ । ‘पहिले बाजुरामा लाखौँको संख्यामा बाहिरबाट बिरुवा आउँथ्यो, तर हामी आफैँ ग्राफ्टेड (कलमी) स्याउ र ओखरका बिरुवा उत्पादन गर्दैछौँ,’ उनले भने ।

अनिलको व्यवसायको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको गुणस्तरीय बिरुवा उत्पादन हो । बाहिरबाट बिरुवा ल्याउँदा किसानहरूले जातमा धोका पाउने समस्या थियो । ‘दाँते ओखर भनेर रोपेको बिरुवाले पछि हार्डसिल्ले ओखर फलाउने वा एउटा जातको स्याउ भनेर रोप्दा अर्कै फल्ने समस्या सामान्य थियो,’ उनले सुनाए ।

यो समस्या समाधान गर्न अनिलले आफ्नै फार्ममा उच्च गुणस्तरको ‘मदर प्लान्ट’ (माउ बोट) तयार पारेका छन्, जसबाट उत्पादित बिरुवाहरूमा जातको शुद्धता १०० प्रतिशत सुनिश्चित हुन्छ । ‘यो हो भनेपछि हो, शतप्रतिशत ग्यारेन्टी हुने किसिमको बिरुवा हामी उत्पादन गर्छाैं,’ उनले भने ।

यतिमात्र होइन, उनले स्याउ खेतीमा ‘इन्क्लाइन्ड फ्रुटिङ सिस्टम’ नामक नयाँ पद्धति पनि अपनाएका छन्, जसमा बोटलाई छड्के पारेर कम दूरीमा लगाइन्छ, जसले गर्दा उत्पादन बढी लिन सकिन्छ । ‘यो हाम्रो लागि नयाँ प्रविधि हो । हामी यसमा परीक्षण र अनुसन्धान गरिरहेका छौँ, पूर्ण सफल भइसक्यौँ भन्न मिल्दैन,’ उनले भने ।

1000036965

अनिलको फार्म अहिले स्याउ र ओखरको व्यावसायिक खेती र आधुनिक नर्सरीसहितको ‘मोडल फार्म’ को रूपमा विकास भइरहेको छ, जहाँबाट अरू किसानले पनि सिक्न सक्छन् ।

अनिल र उनकी श्रीमती अस्मिता मिलेर यो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याएका छन् । पाँच हेक्टर जमिनमा फैलिएको उनको फार्ममा स्याउ, ओखर, आरू, खुर्पानी जस्ता फलफूल उत्पादन हुन्छ भने नर्सरीमा हजारौँ बिरुवा हुर्किरहेका छन् ।

आम्दानीको हिसाबले पनि उनीहरू सफल छन् । हाल वार्षिक ८ देखि १० लाख रुपैयाँ लगानी गर्दा १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको अनिल बताउँछन् । ‘लगानीभन्दा नाफा राम्रो भइरहेको छ । हामी हरेक वर्ष अघिल्लो वर्षभन्दा बढी आम्दानी गर्ने लक्ष्यका साथ काम गर्छाैं,’ उनले भने । यो व्यवसायले उनको परिवारका ५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । स्थायी रूपमा बाहिरको कामदार नभए पनि सिजनको समयमा दैनिक १० देखि १५ जना गाउँलेले उनको फार्ममा ज्यालादारी काम पाउँछन् ।

बाजुरा जस्तो विकट हिमाली जिल्लामा व्यावसायिक कृषि गर्नु आफैँमा चुनौतीपूर्ण छ । बगैँचाबाट उनको फार्मसम्म उत्पादन लैजान कर्णाली नदी तर्नुपर्छ, जहाँ पक्की पुल छैन । कहिलेकाहीँ गाडी तार्न डुङ्गा (किस्ती) को भर पर्नुपर्छ, जुन बर्खामा बाढीका कारण चल्दैन । यस्तो अवस्थामा उत्पादनलाई बजारसम्म पुर्‍याउन फलामको चिउरा चपाउनु जस्तै गाह्रो भएको उनको अनुभव छ ।

1000036967

यसका बाबजुद उनी कत्ति पनि विचलित छैनन् । कृषि ज्ञान केन्द्रजस्ता सरकारी निकायबाट उनले सहयोग पाइरहेका छन्, जुन प्रायः ५० प्रतिशत अनुदान साझेदारीमा आधारित हुन्छ । कृषि ज्ञान केन्द्रले उनलाई जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मान पनि गरिसकेको छ । अनिलका अनुसार, राज्यले किसानका लागि ढुवानी र बजारीकरणमा मात्र नभई उत्पादन लागत घटाउन सहयोग गर्नुपर्छ । ‘किसानलाई प्याकेजिङ सामग्री र हार्भेस्टिङ (फल टिप्ने) सामग्रीमा सहयोग गर्ने हो भने उनीहरूको लागत घट्छ र बजारमा राम्रो मूल्य पाउन सक्छन्,’ उनले भने ।

बाजुरालाई गरिबी, पछौटेपन र भोकमरीले चिनिन्छ । अनिल यहाँको उत्पादन देशभर पुर्‍याएर बाजुरा सम्भावनाको खानी भएको जिल्लाका रूपमा चिनाउन चाहन्छन् । अनिल कृषि सम्बन्धी थुप्रै कार्यक्रममा जान्छन् । यस क्रममा उनी भारतसम्म पुगेका छन् ।

1000036825

अनिल गाउँमा युवालाई पनि कृषिमा लाग्न प्रेरित गर्छन् । अनिलकै सफलता देखेर कतिपयले अब गाउँमै बसेर आधुनिक कृषि व्यवसाय गर्ने सोच बनाउन थालेका स्थानीय गोविन्द शाहीले बताए ।

मेहनत गर्ने हो भने विदेशमा कमाइ हुने पैसा गाउँघरमै बसेर कमाउन सकिने अनिलको बुझाइ छ । गाउँमै पैसा कमाउन सकिने अवस्था रहेको जिकिर गर्दै युवालाई प्रश्न गर्छन्– विदेश किन जानु ?

‘गाउँमै सम्भावना छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । बिदेसिनु पर्दैन, आफ्नो जमिनमै पसिना बगाउँदा सम्मान र आम्दानी दुवै पाइन्छ,’ अनिलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप