बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालुवाटार बैठकमा रास्वपाको ५ बुँदे अपेक्षा : ताजा जनादेश बिना देश अघि बढ्दैन

बुधबार, ०५ कात्तिक २०८२, ११ : १६
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • रास्वपाले बालुवाटार बैठकमा पुरानो गठबन्धनलाई कुशासनको प्रतीक ठहर्‍यायो र ताजा जनादेशको माग गर्‍यो।
  • रास्वपाले सुशील कार्की नेतृत्वको सरकारलाई समर्थन अनिश्चितकालीन हुने चेतावनी दिँदै सुशासनका लागि पाँच आधार प्रस्तुत गर्‍यो।
  • सोबिता गौतम र स्वर्णिम वाग्लेले बैठकमा भाग लिए, निष्पक्ष छानबिन, निर्वाचन सुधार र विदेशमा मतदानको व्यवस्था गर्नुपर्ने माग गरे।

काठमाडौँ । मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट सोबिता गौतम र स्वर्णिम वाग्लेले सहभागिता जनाए। करिब चार घण्टा चलेको बैठकमा रास्वपाले वर्तमान एमाले–कांग्रेस गठबन्धनलाई चरम कुशासन र अहङ्कारको प्रतीक ठहर गर्दै त्यसको वैधता समाप्त भइसकेको कुरा राखेको थियो।

वाग्लेका अनुसार भाद्र २३ को जेन-जी शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको नरसंहारपछि पुरानो सत्ताको नैतिक र राजनीतिक औचित्य सकिएको र त्यसैले ताजा जनादेश अब अपरिहार्य बनेको रास्वपाको अडान हो। उनका शब्दमा, ‘हामी संविधानको मर्यादाभित्र रहेर नयाँ जनादेशको माग गर्दैछौँ। प्रतिनिधिसभाको नयाँ निर्वाचन छ महिनाभित्र सम्पन्न हुनुपर्छ, तर राष्ट्रिय सभाको स्थायी स्वरूप कायम रहनुपर्छ, ताकि प्रतिगमनको सम्भावना टाढा रहोस्।’

रास्वपाले सुशील कार्की नेतृत्वको सरकारप्रति सद्भाव रहेको तर समर्थन अनिश्चितकालीन हुन नसक्ने चेतावनी दिएको छ। वाग्लेका अनुसार, सुशासनका लागि बनेको सरकारले आफ्नो वैधताको स्रोत निरन्तर खोजिराख्नुपर्छ, जसका पाँच आधार रास्वपाले पहिल्यै तय गरिसकेको छ — इमानदार निर्वाचन तयारी, भ्रष्टाचारविरुद्ध कडा कदम, आर्थिक सुधार, गुणस्तरीय विकास, र सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध।

उनले भाद्र २३ को नरसंहार र त्यसपछिका घटनामा निष्पक्ष छानबिन, प्रहरीको मनोबल उच्च राख्ने नीति, र निर्वाचन आयोगमा दलहरूको छाया हटाउनुपर्ने माग पनि दोहोर्‍याए। भ्रष्टाचारका दर्जनौँ मुद्दा बाहिर ल्याएर विधि र संस्थामार्फत कारबाही गर्नुपर्ने वाग्लेको जोड थियो।

अर्थतन्त्रका सुधार सिफारिसहरूको कार्यान्वयन, सार्वजनिक खरिदमा पारदर्शिता, संविधान संशोधनका लागि विश्वसनीय उच्चायोग, र सर्वदलीय संवादको संस्थागत रूप— यी विषयहरूमा पनि रास्वपाको ध्यान केन्द्रित रहेको उनले जानकारी गरे।

वाग्लेले निष्पक्ष र भयरहित निर्वाचनका लागि राष्ट्रसंघ र मित्रराष्ट्रहरूको पर्यवेक्षण सुनिश्चित गर्नुपर्ने र विदेशमा रहेका नेपालीका लागि मतदानको व्यवस्था गर्न कूटनीतिक पहल तत्काल सुरु हुनुपर्ने माग गरे। ‘देशलाई स्थिरता र जवाफदेही शासन चाहिएको हो, पुरानो ढर्रामा फर्कनु होइन,’ वाग्लेको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप