पोखरामा ४ करोड बराबरको फूल कारोबार हुने, स्थानीय फूलले बजार धाने
सारांश
- यस वर्ष पोखरामा तिहारको समयमा करिब ४ करोड रुपैयाँको फूलको कारोबार हुने अनुमान गरिएको छ।
- पोखरा महानगरपालिकाले स्थानीय किसानहरूलाई फूलखेतीमा प्रोत्साहन गर्दै अनुदान दिएको छ, जसमा ३०० रोपनीमा सयपत्री फूलको खेती गरिएको छ।
- महानगरले फूलको न्यूनतम समर्थन मूल्य तोकेको छ र बिक्री नभएका फूलहरू प्रतिकिलो ८० रुपैयाँमा खरिद गर्ने भएको छ।
पोखरा । यस वर्षको तिहारमा पोखरामा ४ करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान गरिएको छ । पोखरा महानगरपालिकाले तिहारभरि करिब ३ लाख माला आवश्यक पर्ने र सोही मात्रामा फूलको खरिदबिक्रीबाट उक्त कारोबार हुने आँकलन गरेको हो । पोखरामा उत्पादित फूलले नै पोखराको फूलको सम्पूर्ण माग धान्ने दाबी महानगरपालिकाले गरेको छ ।
महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले भने। ‘पोहोर-परारभन्दा अहिले फूलको उत्पादन निकै बढेकोले अब हामीलाई फूल खोज्न बाहिर जानुपर्दैन । यो तिहारको बेलामा मात्रै ३ लाख माला पुग्ने फूलको उत्पादन हाम्रै किसानले गरेका छन् ।’ पोखरामा करिब ४० जना व्यावसायिक फूलखेती गर्ने किसान छन् भने महानगरले ३०० जना किसानलाई अनुदान दिएर खेतीका लागि प्रेरित गरेको छ ।
महानगरको तथ्यांकअनुसार यहाँ करिब ३०० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको छ, जसमध्ये १५० रोपनीमा महानगरपालिकाको अनुदानमा किसानहरूले खेती गरेका हुन् । महानगरले किसानलाई फूलखेतीका लागि बीउ, मल र मल्चिङ प्लास्टिकमा गरी करिब साढे ७ लाख रुपैयाँ बराबरको अनुदान दिएको छ । कडरियाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको बताए ।
यहाँका वडा नम्बर १३, १४, २६ र ३३ मा फूल उत्पादन बढी हुने महानगरले जनाएको छ । उत्पादित फूलको बिक्री मूल्य पनि महानगरले नै तोकिदिएको छ । कडरियाले भने, ‘उपभोक्तालाई महँगो नपरोस् र किसानले उचित मूल्य पाओस् भनेर यसवर्ष किसान र व्यवसायीसमेतको समन्वयमा फूलको न्यूनतम समर्थन मूल्य तोकेका छौँ ।’ जसअनुसार थुङ्गाको साइजअनुसार रु. २ देखि ५ सम्म, मालाको रु. १०० देखि १५० सम्म र प्रतिकिलो रु. ३०० देखि ४०० रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ ।
स्थानीय उत्पादन पर्याप्त भए पनि यो वर्ष करिब २५ प्रतिशत फूल नजिकका जिल्लाहरूबाट पोखरा आउने अनुमान गरिएको छ । ती फूलहरू पनि महानगरकै मूल्यमा बेच्नुपर्नेछ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल कास्कीका अध्यक्ष श्रीराम सुवेदीले पनि पोखराका लागि आवश्यक फूल बाहिरबाट ल्याउनुपर्ने अवस्था नरहेको बताए । 'पोखरामा अहिले प्रशस्त फूल उत्पादन भइरहेका छन् । मखमली र सयपत्रीको पूरा माग पोखराले धान्छ भन्ने हाम्रो विश्वास छ,' उनले भने । सो संस्थाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने र बाहिरबाट आयात हुने तथा प्लास्टिकका फूलहरू प्रतिबन्धमा महानगरसँग समन्वय गरिरहेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर नै प्लास्टिकका फूलहरूको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
बिक्री नभएका फूल महानगरले किनिदिने न्यूनतम समर्थन मूल्य तोकेसँगै तिहारको आसपासमा महानगरभित्रका किसानका फूल बिक्री नभए पोखरा महानगरले नै खरिद गरिदिने भएको छ । तिहारको बेला फूल बिक्री नभएको खण्डमा वा तिहारको तीन दिनपछि पनि बिक्री नहुने अवस्था आएमा महानगरपालिकाले किसानबाट प्रतिकिलो रु. ८० को दरले खरिद गरिदिने जनाएको हो । यसका लागि किसानहरू महानगरपालिकामा सूचीकृत हुनुपर्ने र आफ्नो उत्पादनको विवरण पहिले नै उपलब्ध गराउनु पर्नेछ । कृषि महाशाखा प्रमुख कडरियाका अनुसार बिक्री हुने आशाले धेरै किसान अझै सूचीकृत भने भएका छैनन् । उनीहरूलाई सूचीकृत हुन प्रेरित गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण