मैथिली र्याप, हिपपपमा झुम्दै मधेस, संस्कृति झल्काउने गीत संगीत ओझेलमा
सारांश
- मैथिली र्याप गीतहरू नेपाल र भारतमा लोकप्रिय हुँदै गएका छन्, जसले मैथिली भाषीहरूको संगीतको स्वाद परिवर्तन गरेको छ।
- कतिपयले र्यापलाई मैथिली संस्कृति जोगाउने माध्यम मानेका छन् भने, केहीले यसले मौलिकतालाई असर गर्ने चिन्ता व्यक्त गरेका छन्।
- विभिन्न दृष्टिकोणहरूका बाबजुद, मैथिली गीत संगीतमा परिवर्तन आवश्यक रहेको र यसले युवा पुस्तालाई आकर्षित गरिरहेको देखिन्छ।
काठमाडौँ । ‘हमर बोली नगां तार, खुखरी के धार, गर्दन के पार कनि क क विचार, नइ त बोरा मे प्याक क क सिधे ओइपार, सिस्टम हिलाबै बाला यादव सरकार...’
यो धनुषाका डिके सागरले मैथिली भाषामा गाएको र्याप गीत हो, जुन अहिले निकै चर्चित छ ।
एक महिनाअघि मधेसबिट्स नामको युट्युबमा राखिएको यो गीत दसैँको फुलपातीको दिनसम्म साढे ४६ लाखभन्दा बढी पटक हेरिएको छ । यो र्याप नेपालमा मात्र होइन, भारतमा पनि निकै हिट बनिरहेको छ ।
त्यस्तै राहुल मण्डलको ‘भगतै’लगायत ‘एक मुठी चाउर दे न घुरमी नचा दे न...’ जस्ता र्याप निकै चर्चामा छ । धनुषाकै कृष्णकुमार महतोको ‘इ छै जनकपुर...’ मैथिली र्यापले पनि तहल्का मचाएको छ । त्यस्तै नवराज अन्सारीका पनि विभिन्न मैथिली र्यापले नेपाल तथा भारतका सीमा क्षेत्रमा चर्चा कमाएको छ ।
कमेडी सर्ट फिल्ममा जमेका कलकतियाबालीको मैथिली भाषाका यस्तै गीत संगीतले स्रोतालाई तान्ने गरेको छ । मैथिली गीत संगीतको बादशाह ठान्नेहरूका लागि अहिले मैथिली भाषामा आएको र्याप, पप तथा प्यारोडीले चुनौती थपिएको छ । अहिले तराई मधेसका कार्यक्रमहरूमा उनीहरूकै गीत संगीतले ठाउँ लिएका छन् । पुराना पारम्परिक गीत संगीत सुन्न नै छाडेका छन् ।
रेडियो, एफएममा पनि यस्तै मैथिलीका प्यारोडी तथा पप संगीतले ठाउँ पाएका छन् । यसले मैथिली भाषीहरूको संगीतको स्वादमा परिवर्तन आएको बुझ्न सकिन्छ । बजारले के चाहेको छ, कस्तो माग गरेको छ त्यस्तै गीत संगीत अहिले मैथिली भाषीलाई प्यारो लाग्न थालेको छ । त्यसमा कतिपय राम्रा पनि छन् भने कतिपय अश्लील छन् । यसले मैथिली गीत संगीतको अनुयायीका लागि चुनौती थपिएको छ ।
मैथिली भाषा आफैमा सम्पन्न छ । यसको आफ्नै पहिचान छ, तर यसको गीत संगीतले पर्याप्त बजार पाएको छैन ।
मैथिलीको तुलनामा भोजपुरी गीत अगाडि छ ।
मैथिली र्यापर डिके सागर भन्छन्, ‘मैथिली संस्कृति निकै सम्पन्न छ, यसलाई कायम राख्न गीत संगीत, साहित्य तथा विभिन्न रचनाहरू हुनुपर्छ त्यसैअन्तर्गत हामीले र्याप म्युजिकमा गएका हौँ ।’
मैथिली गीत खराब छ, सुन्न चाहँदैनन् भन्ने पनि होइन, तर यसलाई जोगाउन विभिन्न माध्यमको आवश्यकता पर्छ, जहाँ आफूले र्यापको तरिका अपनाएको उनी सागर तर्क गर्छन् । ‘मैथिली भाषा, संस्कृति, रहन,सहन वेशवूषालाई कसरी सुनाउने, देखाउने प्रचार गर्ने सबै आआफ्नो ठाउँबाट लाग्नुपर्छ,’ सागर भन्छन्, ‘अहिलेका जेनरेसन र्याप, पपहरू सुन्न चाहन्छन्, त्यसैमार्फत हामी मैथिली भाषा संस्कृतिलाई जोगाउन चाहेको हो ।’
तर सप्तरीका मैथिल गायक सन्तोष सानु भने र्याप, पप, हिपपप गीत संगीतले मैथिली कला संस्कृति समाप्त हुँदै गइरहेको तर्क गर्छन् । ‘यस्तै यस्तै गीत संगीतले मिथिला र मैथिलीको वास्तविक भाषा संस्कृति समाप्त हुँदै गइरहेको छ ।’
यसअघि भोजपुरी गीत संगीतले पनि यस्तै चुनौती दिएको र अहिले मैथिलीबाट पनि चुनौती थपिएको उनको भनाइ छ ।
दसैंमा मथिला क्षेत्रमा झिझिया बज्छ, यो मैथिल क्षेत्रमा निकै चर्चित भाका हो । तर अहिले त्यसमा पनि मिसमास हुन थालेको छ । ‘गोदनाकै गीतलाई बिगारेर गाउन थालेका छन् । विभिन्न विवाहका गीतहरू हेर्नुस् त्यसलाई मिक्सिङ गरेर त्यसको मूल भाव नै बिगारेका छन्,’ सानु भन्छन्, ‘यसले विस्तारै मैथिली भाषा समाप्त गर्ने पक्का छ ।’
जिन्स पेन्ट र कालो चस्मा लगाएर र्याप गीत गाउँदै झिझिया खेल्नुलाई उनले विकृति भित्रिएको बताए । ‘यो हाम्रो भाषा संस्कृति समाप्त हुनेतिर गएको हो,’ उनले भने, ‘र्याप म्युजिक हाम्रो होइन, यो पश्चिमी सभ्यताबाट आएको हो, त्यसमा संस्कृतिको कुरा राखेर मात्र हुँदैन, त्यसको पहिरन, लवज, लिरिक्सले धेरै कुरामा असर गर्छ ।’
तर र्यापर राहुल मण्डल भने जेनजी पुस्ताले के चाहन्छ त्यो हामीले दिनुपर्ने बताउँछन् । ‘त्यही पुरानै परम्पराशैलीको गीत संगीत कसैले सुन्न चाहँदैनन्,’ उनी भन्छन्, ‘आधुनिक गीत, र्याप, पप तथा हिपपप गीतहरू सुन्नेको रुचि बढेको छ ।’
त्यसैले मैथिली गीत संगीत पनि रुपान्तरण हुनुपर्नेमा उनले जोड दिए ।
यसअघि मैथिली गीत संगीत प्रायःले सुन्दैन्थे, बरु भोजपुरी गीतमा रमाउँथे तर पछिल्लो समय मैथिली गीतमा केही मात्र मिक्समाक्स गरेर बजाएपछि सबैले रुचिपूर्वक सुन्न थालेका मण्डल बताउँछन् । ‘खानाको स्वाद फेरिएजस्तै दर्शक, स्रोतको पनि गीत संगीतमा स्वाद फेरिएको छ, समयको मागअनुसार परिवर्तन हुनुपर्छ ।’
संगीतमा पनि मैथिली समृद्ध छ । बच्चाको जन्म भएदेखि मृत्युसम्मका विभिन्न अवसरहरूमा गाउन सकिने गीतहरू यस भाषमा छन् । न्वारनको गीत, मुन्डनको गीत, विवाहको गीत, मृत्युपछि गाइने गीत (निर्गुन) आदिले मैथिली भाषालाई समृद्ध एवम् जीवन्त बनाएको छ ।
तर करिब एक दशकअघिसम्म मैथिली गीत–संगीतहरूमा जुन किसिमको मौलिकता र मिठास पाइन्थ्यो, त्यो अब छैन ।
जनकपुरका पत्रकार एवं साहित्यकार रोशन जनकपुरी भन्छन्, ‘अहिले जुनखालको र्याप तथा पप गीतहरू आइरहेका छन्, त्यसले पारम्परिक गीत संगीतलाई असर अवश्य गर्छ, तर त्यसलाई रोक्न पनि सकिँदैन ।’
युग परिवर्तनसँगै गीत संगीतमा पनि परिवर्तन आउनुपर्ने उनी बताउँछन्, जसलाई कसैले चाहँदैन रोक्न सकिँदैन । तर भाषाको मौलिकतामा भने ध्यान दिनुपर्ने उनी सुझाउँछन् ।
‘र्याप संगीत पश्चिमबाट आएको हो, त्यसलाई अहिलेको पुस्ताले रुचाउन थालेका छन्, तर यसको मतलब मौलिकता मासेर होइन, भाषा संस्कृति परम्परालाई ख्याल गरेर गीत संगीतमा ध्यान दिनुपर्छ ।’
मैथिली भाषा आफ्नै र्याप छ, भगता, झुमर गीत संगीतलाई र्यापकै रूपमा लिन सकिन्छ, त्यसको पनि आफ्नै मौलिकता छ तर कतिपयले त्यसलाई पनि बिगारेर गाउने गरेको देखिन्छ, जसले गर्दा मैथिली गीत संगीतलाई प्रभाव पार्ने उनी बताउँछन् ।
‘केही र्यापरले मैथिली भाषा, संस्कृतिलाई ख्याल गरेको देखिन्छ, सन्देशमुलक गीत बनाएका हुन्छन्,’ उनी भन्छन्, ‘त्यसले मैथिली भाषालाई खासै असर गरेको देखिँदैन, ‘तर कपितय भ्युजका लागि टिकटक, रिलका लागि अनावश्यक गीत गाइरहेका छन्, जसले कालान्तरमा मैथिली गीत संगीतलाई असर पार्छ ।’
संगीतका आधारभूत ज्ञानसमेत नभएकाहरूले मैथिली गीत गाएर झन बढी अश्लीलता फैलाइरहेका कतिपयको गुनासो छ ।
समाजिक सञ्जालकै कारण धेरै जनाले गीत निकालेका तर उनीहरूले गाएका गीतले मैथिली संस्कृतिलाई बिगारिरहेको पनि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण