मिथिलामा आज ‘भैयादुज’ पर्व
सारांश
- आज महोत्तरीसहित तराई-मधेशमा 'भैयादुज' पर्व मनाइँदै छ, जुन दिदीबहिनी र दाजुभाइको सम्बन्धमा आधारित छ।
- यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्तो दिई सप्तरङ्गी टीका लगाइदिने र विभिन्न परम्परागत विधिहरू पूरा गर्ने गरिन्छ।
- भैयादुजमा दाजुभाइले दिदीबहिनीलाई उपहार दिने र मिष्टान्न भोजन गराउने चलन छ, जसले पर्वको समापन गर्दछ।
महोत्तरी । महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत शनिबार सुरु भएको दीपावली आज ‘भैयादुज’ मनाएर सकिने छ ।
मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई सामान्यतया आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनी माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।
विवाहित बहिनीले भने दाजुभाइलाई निम्ता गर्ने चलन छ । निम्ता मान्न जाने दाजुभाइले नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइ दिने गर्छन् ।
यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तुभने एउटै पाइन्छ । अघि सत्ययुगमा राजा वलिका बहिनीहरु गङ्गा र यमुनाले देवतासँगको युद्धअघि दाजुको सौर्यवृद्धि, युद्धमा विजय, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइ दिएका कथा नै यो पर्वको आधार रहँदै आएको मिथिला लोकपरम्पराका जानकार संस्कृतिविद् जलेश्वर–५ का ध्रुव राय बताउँछन् ।
मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले दाजुभाइको गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसै क्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने विधिको भावभने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने रहेको रायको भनाइ छ ।
मिथिलाभरिका सबै गाउँ सहरका दिदीबहिनीले बुधबार ओखलमा गोबरसँगै कुटिएको केराऊका दाना (बजरी) गोबरबाट झिकेर धोई पखाली ल्याइएकामा आज ती केराऊका दाना आ–आफ्ना दाजुभाइलाई मिठाई, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाएर भैयादुज पर्व मनाउने गर्छन् ।
दिदीबहिनीले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात् ‘बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु’ भन्ने भनाइका साथ दाजुभाइलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाई बजरी खुवाएर भैयादुज पर्व मनाउने गर्छन् ।
यो विधि सकिएपछि दाजुभाइले आफ्नो गच्छे र क्षमताअनुसार दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा उपहार र कोसेली दिने चलन छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण