मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
तिहार

दाजुभाइले एकापसमा लगाए भाइटिका

बिहीबार, ०६ कात्तिक २०८२, १३ : ४६
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • तनहुँका दाजुभाइ मदन र सुमन तिमिल्सिनाले विगत ८ वर्षदेखि एकअर्कालाई भाइटिका लगाउँदै आएका छन्।
  • दिदीबहिनी नभएपछि उनीहरूले भाइटिका आफैँ मनाउन थालेका हुन्।
  • दाजुभाइले भाइटिका लगाउँदा सुरुमा धेरैले अनौठो माने पनि अहिले यो निरन्तरता पाएको छ।

तनहुँ । तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गर्छन् ।

तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटिका लगाएका छन् । आज उनीहरुले शुभसाइतमा एकापसमा टीका लगाएका हुन् । 

सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटिकाको प्रक्रियाअनुसार निधारमा सप्तरङ्गी टीका लगाएर उनले फूलको माला गलामा पहिराइदिए ।

भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटिका लगाइदिए । विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एक अर्कालाई टीका लगाएर भाइटिका मनाउँदै आएका छन् । दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटिका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताए ।

उनले भने,“विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टीका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजुभाइले नै भाइटिका गर्ने सोच बनाएर सुरु गर्‍यौँ । त्यसपछि निरन्तर एक अर्कालाई टीका लगाएर भाइटिका मनाउँदै आइरहेका छौँ ।” 

मदन र सुमनले भाइटिका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबिच भाइटिका लगाउने सामाजिक मान्यता थिएन । 

तिहारको मुख्य दिन भाइटिका, दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप