५० वर्षअघि शोलेले जब समाजका यी मान्यतालाई चुनौती दियो
सारांश
- बलिउड फिल्म 'शोले' ले ५० वर्ष पूरा गर्दा सांस्कृतिक अनुभवको रूपमा आफ्नो स्थान बनाएको छ।
- फिल्मले मित्रता, महिला सशक्तिकरण, र खलनायकको चित्रणमा नयाँ परिभाषा दिँदै पुराना मान्यतालाई चुनौती दियो।
- 'शोले' मा जय-वीरूको मित्रता, बसन्तीको भूमिका, र गब्बर सिंहको खलनायकपनले फिल्मलाई अमर बनायो।
- यासिर उस्मान
बलिउडका ठूला-ठूला ब्लकबस्टरहरू समयसँगै धमिलो हुँदै गएका छन्, तर शोले भने बढ्दो विरासत बनेको छ।
५० वर्षअघि भारतको स्वतन्त्रता दिवसको दिन सार्वजनिक भएको यो फिल्म अब केवल एउटा फिल्म मात्र रहेन, यो एक पूर्ण सांस्कृतिक अनुभव बनेको छ। यो हरेक पटक हेर्दा नयाँ रङ लिने एउटा विशेष अनुभूति हो।
बूमर होस् या जेन एक्स, मिलेनियल्स होस् या जेनजी, हरेक पुस्ताले यसलाई आ-आफ्नै नजरले हेर्छन् र यसमा आफ्नै प्रतिबिम्ब भेट्टाउँछन्। यो फिल्म हरेक समयसँग मित्रता गाँस्न जान्दछ र जय-वीरूको दोस्तीजस्तै सबैमाझ घुलमिल हुन्छ।
७० को दशकको यो ‘मसाला फिल्म’ शोलेको संवाद, निर्देशन र प्राविधिक पक्षहरूमा दशकौँदेखि चर्चा भइरहेको छ। तर यसको सबैभन्दा खास कुरा यो हो कि यसले मनोरञ्जनको बाटो समातेर समाज र हिन्दी सिनेमाको पुरानो ढर्रालाई चुनौती दियो।

स्वतन्त्रतापछिका भारतीय फिल्महरूमा कथाहरू प्रायः निश्चित ढाँचामा चल्थे, तर शोलेको सबैभन्दा ठुलो विशेषता के थियो भने यसले बलिउडका ती पुराना रूढिवादी सोच र स्टेरियोटाइपहरूलाई तोड्यो, जुन वर्षौंदेखि फिल्मी कथाहरूको हिस्सा थिए।
सायद यसै कारणले गर्दा, ५० वर्षपछि पनि शोले हामीलाई पुरानो वा समयभन्दा पछाडिको फिल्म लाग्दैन। यसको सोच र संवेदना आजको समयको जस्तो लाग्छ, मानौं यो समयको प्रवाहको वास्ता नगरी आफ्नै धुनमा हिँडिरहेको छ।
शोलेका धेरै पक्षहरू छन् जसले स्पष्ट रूपमा सङ्केत गर्छन् कि यो फिल्म आफ्नो समयभन्दा धेरै कदम अगाडि थियो।
१. जय र वीरू: जब चोर बने चौकीदार
केही अपवादहरू छोड्ने हो भने, शोलेभन्दा अगाडिका बलिउडका नायकहरू प्रायः दागविहीन, नैतिकताको मूर्ति र आदर्शवादी ढाँचामा ढालिएका हुन्थे।
शोलेले यो परम्परागत आदर्शवादी ढाँचालाई भत्काइदियो। यहाँ जय र वीरू थिए—जेलबाट छुटेका, चोर र बदमास, जसको अतीत कतै पनि सफा थिएन। उनीहरू रक्सी पिउँथे, झूट बोल्थे र ठगी पनि गर्थे।

तर जब ठाकुर बलदेव सिंह र रामगढका मानिसहरूको आशा यी दुईमा टिक्यो, तब यी नायकहरू परिवर्तन मात्र भएनन्, खतरनाक गब्बर सिंहको सामना गर्न डटेर उभिए।
नायक त्यो होइन जो दागविहीन छ, बरु त्यो हो जसले आफ्नो अतीतलाई पछाडि छाडेर, आफ्नो भित्रको उज्यालो जगाउँछ। बदमास भएर पनि उनीहरूले गाउँको रक्षा गरे, दोस्ती निभाए र मानवता देखाए।
२. मित्रताको नयाँ परिभाषा
शोलेभन्दा पहिले बलिउडका फिल्महरूमा पुरुषहरूको दोस्ती धेरै हदसम्म प्रेमी–प्रेमिकाको जस्तो हुन्थ्यो भन्ने स्वयं लेखक जावेद अख्तरको विश्वास छ ।
उनको भनाइ छ, ‘उनीहरू अङ्गालो हालेर ‘मेरो ज्यान, मेरो साथी, तिमीले ज्यान नै माग्यौ भने पनि के मागेको’ जस्ता संवाद बोल्थे। वास्तविक साथीहरूले एकअर्कालाई कहिल्यै यस्तो बोल्दैनन्।’
उनी भन्छन्, ‘तर शोलेमा जय र वीरू एकअर्कालाई जिस्काउँथे, ठट्टा गर्थे, झगडा गर्थे, तर अप्ठ्यारोमा एकअर्काको साथ दिन्थे।’

तपाईंलाई त्यो दृश्य याद होला, जब जय, वीरूको सम्बन्ध लिएर बसन्तीकी काकीकहाँ जान्छ, तर पछि गम्भीर भएर एकअर्कासँग आफ्नो आउँदो जीवनबारे भावनाहरू बाँड्छन्।
जब समय आउँछ, जय कुनै ठुला संवाद नबोलिकन आफ्नो ज्यान दिन्छन्।
यस प्रकारको मित्रता र केमिस्ट्री पहिलो पटक शोलेमा देखियो र यसपछि आउने हिन्दी फिल्महरूको दोस्तीमा यसको गहिरो असर रह्यो।
३. बसन्ती: गाउँकी ‘वर्किङ वुमन’
हिन्दी कमर्सियल फिल्महरूमा प्रायः सहरी वा गाउँकी नायिका केवल ‘प्रेमिका’ मात्र हुन्थिन्, ‘वर्किङ वुमन’ होइनन्।

तर रामगढकी बसन्ती (हेमा मालिनी) ले देखाइन् कि महिला पनि ड्राइभिङ सिटमा हुन सक्छिन्। टमटम चलाउने बसन्ती ‘काम गर्ने महिला' थिइन्, जो चार पर्खाल बाहिर निस्केर आफ्नो घर चलाउँथिन्।
उनी गाउँमा इज्जतका साथ कमाउँथिन् र लजालु नायिकाहरूभन्दा फरक भएर कसैसँग नडराई आफ्नो कुरा स्पष्ट रूपमा भन्थिन्।
आफ्नो पहिलो दृश्यमै बसन्तीले बताउँछिन्, ‘मानिसहरू मलाई भन्छन् बसन्ती, तिमी केटी भएर टमटम चलाउँछौ? तब म त्यसको जवाफ दिन्छु कि धन्नो (घोडी) घोडी भएर टमटम तान्न सक्छ भने बसन्ती केटी भएर किन टमटम चलाउन सक्दिनँ?’
४. राधा: परम्पराभन्दा परको प्रेम
शोलेभन्दा पहिले निर्देशक रमेश सिप्पीले आफ्नो पहिलो फिल्म ‘अन्दाज’ मा पनि यस्तो महिलाको जीवनमा प्रेमको सम्भावनाबारे कुरा गरेका थिए जसको पति अब यो दुनियाँमा छैनन्।
त्यस समयको समाजमा सामान्यतया यस्ता महिलाहरूका लागि प्रेम, शृङ्गार वा नयाँ जीवनको सुरुवातका कथाहरू कमै हुन्थे।

अन्दाजको कथाको विषय यही थियो, तर शोले जस्तो एक्सन, प्रतिशोध र रोमाञ्चले भरिएको फिल्ममा पनि रमेश सिप्पीले राधा (जया बच्चन) को पात्रमार्फत एउटा गहिरो र साहसिक कुरा व्यक्त गरे कि प्रेम उमेर, परिस्थिति वा समाजको छापको मोहताज हुँदैन।
यो कुरा न त भाषणमा भनिएको थियो न कुनै संवादमा जोर-जुलुम थियो।
केवल एउटा दृश्य थियो जब ठाकुर (सञ्जीव कुमार) आफ्नी विधवा बुहारी राधाको दोस्रो विवाहका लागि उनका बाबु (इफ्तिखार) सँग अनुमति माग्न जान्छन्।
बाबु छक्क पर्दै भन्छन्, ‘यो कसरी हुन सक्छ ठाकुर साहब? समाज र बिरादरीले के भन्लान्?’
ठाकुर जवाफ दिन्छन्, ‘समाज र बिरादरी मानिसलाई एक्लोपनबाट बचाउनका लागि बनेका हुन्, कसैलाई एक्लो राख्नका लागि होइनन्। अनि अरूको डरले हामी आफ्नी राधालाई जिउँदै मार्ने ?’
एउटा मेनस्ट्रिम ‘मसाला फिल्म’ भए तापनि शोलेका धेरै कुरामा प्रगतिशील सोच झल्कन्छ र केही त त्यस समयको हिसाबले विद्रोही पनि लाग्छन्।

एक ससुरा आफ्नी विधवा बुहारीको फेरि विवाह गराउने प्रयास गर्छन्, त्यो पनि एक यस्तो व्यक्तिसँग जो अपराधी रहेका छन्—किनकि उनी जान्दछन् कि उनकी बुहारीको खुसी यसैमा छ।
यही त थियो पात्रहरूमा एक नयाँ सोचको आगमन, समयसँगै चल्ने कुरा जसले शोलेलाई अविस्मरणीय बनाउँछ।
स्क्रिन राइटर सलीम खानले एक पटक शोलेका संवादहरूबारे कुरा गर्दै भनेका थिए, ‘मानिसहरू आज पनि हामीलाई भन्छन् कि तपाईंहरूले कस्तो कमालको संवाद लेख्नुभयो—‘होली कब हे?’ वा ‘कितने आदमी थे?’’
‘अब यी लाइनहरू बढी प्रख्यात भए, तर अरू संवाद जस्तै—‘समाज र बिरादरी मानिसलाई एक्लोपनबाट बचाउनका लागि बनेका हुन्’ वा ‘थाहा छ संसारको सबैभन्दा ठुलो बोझ के हो? बूढो बाबुको काँधमा जवान छोराको लास।’
‘तर, मानिसहरूलाई याद रहन्छ—कितने आदमी थे?’
५. डाकु गब्बर सिंह: जीवनभन्दा ठुलो खलनायक
यसो त शोलेभन्दा पहिले पनि हिन्दी सिनेमामा धेरै अविस्मरणीय खलनायकहरू भएका थिए, तर गब्बर सिंहको खलनायकपनको शैली त्यस समयको लागि बिल्कुलै नयाँ र क्रान्तिकारी थियो।
प्राण, के एन सिंह र अजितजस्ता प्रायः सुट-बुटमा देखिने सहरी शैलीका खलनायकहरूभन्दा गब्बर सिंह पूर्ण रूपमा फरक थिए।
उनी जङ्गलमा बस्ने, धूलोले ढाकेको, निर्दयी डाकु थिए जसले ठाकुरका नातिहरूलाई मात्र होइन, आफ्नै गिरोहका साथीहरूलाई पनि संकोच विना मारिदिन्थे।

गब्बर आफैँ फिल्ममा भन्छन्, ‘पचास-पचास कोस टाढा जब कुनै बच्चा रुन्छ, तब आमा भन्छिन् सुत नत्र गब्बर आउनेछ।’
अचम्मको कुरा, यसका बाबजुद शोले रगतले लतपतिएको हिंसक फिल्म थिएन। यसमा हिंसालाई सशक्त तर प्रतीकात्मक दृश्यहरू मार्फत देखाइएको थियो।
याद गर्नुहोस्, गब्बरले ठाकुरको सम्पूर्ण परिवारको हत्या गर्छन्। पूरै फिल्म यही दृश्यमा टिकेको छ, जसको बदला ठाकुरले लिन्छन्, तर यो दृश्यमा रगतको एक थोपा पनि देखिँदैन।
इमाम (ए के हाङ्गल) को छोराको हत्या पनि देखाइँदैन। केवल गब्बरले एउटा किरालाई मिचिदिनु नै काफी थियो।
तर रगतको थोपा नदेखाई पनि गब्बरको छवि यति भयानक र गहिरो छ कि उनलाई पचास वर्ष बितिसक्दा पनि भारतीय सिनेमाको सबैभन्दा ठुलो खलनायक मानिन्छ।

शोलेलाई अमर बनाउनमा जय-वीरूको दोस्ती, बसन्तीको चञ्चलता, राधाको मौनता वा ठाकुरको पीडा जति आवश्यक थिए, त्यति नै आवश्यक थियो गब्बरको डर।
सलीम-जावेदले गब्बरको रूपमा केवल एक खलनायक मात्र सिर्जना गरेनन्, बरु हिन्दी सिनेमाको सबैभन्दा डरलाग्दो र अविस्मरणीय अनुहार प्रस्तुत गरे जसको गुञ्ज पचास वर्षपछि पनि रोकिएको छैन।
हलिउड वा युरोपेली फिल्महरूभन्दा फरक, हिन्दी फिल्महरूले सुरुदेखि नै धेरै जनराहरू एकै फिल्ममा पस्किँदै आएका छन्।
शोलेमा पनि एक्सन, रोमान्स, कमेडी, इमोसन, थ्रिल सबै छ, तर शोलेले यी सबै भावनालाई बेमिसाल सन्तुलनमा मिलायो।
यसको सिनेम्याटोग्राफी, ब्याकग्राउन्ड स्कोर, सम्पादन र कथाको तालमेल यति बलियो थियो कि हरेक दृश्य मनमा बस्यो।
कथाका मुख्य पात्रहरू मात्र होइन, साँभा, कालिया, जेलर, हरिराम नाई र सूरमा भोपाली जस्ता साना-साना पात्रहरू पनि मानिसहरूलाई आजसम्म याद छन् र ५० वर्ष बितिसक्दा पनि उनीहरू पप-कल्चरको हिस्सा बनेका छन्।
हिन्दी सिनेमाका धेरै स्टेरियोटाइपलाई ध्वस्त पार्दै, शोले एउटा लोककथा जस्तो बनेको छ जुन पुस्तादेखि पुस्तासम्म सुनाइन्छ, दोहोर्याइन्छ तर यसले आफ्नो चमक कहिल्यै गुमाउँदैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण