बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बाल नियात्रा

कालापत्थरको चुचुरोमा

शनिबार, ०८ कात्तिक २०८२, ०८ : ००
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • लेखकले सगरमाथा क्षेत्रको भ्रमण गरे, जसमा लुक्लाबाट सुरु भएको पदयात्रा थियो।
  • यात्राको क्रममा, उनले विभिन्न हिमाल र स्थानहरूको अवलोकन गरे, जसमा तेङ्बोचे र गोरकशेप जस्ता ठाउँहरू थिए।
  • लेखक कालापत्थरको चुचुरोमा पुगेर सगरमाथाको मनमोहक दृश्यको अनुभव गरे, र देशको गौरवको भावना व्यक्त गरे।

नेपाल प्राकृतिक विविधताका हिसाबले संसारकै सबैभन्दा सुन्दर र समृद्ध देश हो । यहाँ समुद्रको सतहदेखि ५९ मिटर मात्र उचाइमा रहेको धनुषाको ‘मुसहरनिया’ भन्ने ठाउँदेखि आठ हजार आठ सय ४८ दशमलब ८६ मिटर उचाइ भएको संसारकै सर्वोच्च हिमाल सगरमाथा समेत रहेको छ । यस्तो विविधताले भरिएको, अमूल्य, सधैँ स्वतन्त्र रहेको र गौरवशाली मुलुक संसारमा अन्यत्र कतै पनि भेटिन्न । 

म संसारकै सर्वोच्च शिखर रहेको देशकी नागरिक हुँ भन्ने सम्झनासाथ मेरो शिर गर्वले सगरमाथाजत्रै भइहाल्छ । संसारका अग्ला चौधवटा हिमालहरूमध्ये आठ वटा हिमाल र तिनका २० वटा चुलीहरूमध्ये १४ वटा  चुलीहरू मेरै देशमा छन् भन्ने जानेदेखि नै हिमालप्रतिको गौरवले त्यसै–त्यसै रमाउन थालेकी छु म । हिमाललाई नजिकैबाट हेर्ने उत्सुकताले छोइरहेकी मलाई साँच्चै नै एकपटक सगरमाथा क्षेत्रको भ्रमण गर्ने सौभाग्य पनि मिलिहाल्यो । 

म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा फुच्चे जहाज चढेर लुक्लाका लागि उडेँ । जहाज आकाशका पुग्नासाथ नीलो आकाशमा हीराका हारझैँ लहर लागेर चम्चमाइरहेका दोर्जेलाक्पा, जुगल, लाङटाङ, गौरीशङ्कर, चोयु, नुम्बुर, मकालु र सगरमाथा आदि हिमालहरू देखिँदै गए । धेरै टाढाबाट मलाई नै हेरिरहेको सगरमाथालाई भेट्न जाँदैछु भन्ने सोचाइ उर्लिंदा मेरो मन हर्कले बुरुक्कै उफ्रियो । 

राता, सेता र गुलाबी रङका गुराँसका पूmलले ढकमक्क भएका दर्जनौँ पहाड, खोँच, कन्दरा, नदीनालाका रोमाञ्चकारी दृश्य देखाउँदै जहाजले मलाई लुक्ला विमानस्थलमा ओरालिदियो । 

चौथो दिन नाम्चेबाट अनेक उकाला, ओराला, घुम्ती र कन्दरा पार गरेर तेङ्बोचे भन्ने रमणीय गाउँमा पुगेँ ।

कालापत्थर पुग्नका लागि सोलु जिल्लाको लुक्ला विमानस्थलबाट पैदलयात्रा गर्नुपर्ने रहेछ । लुक्ला विमानस्थलसँगै रहेको लुक्लाबजार छिचोलेर म पनि अघि बढेँ र त्यसदिन फाक्दिङ नामको गाउँमा पुगेर बास बसेँ । दोस्रो दिन उकालै–उकालो छिचोलेर नाम्चेबजार पुगेँ । तेस्रो दिन संसारकै सबैभन्दा अग्लो स्थानमा बनेको स्याङ्बोचे विमानस्थल र त्यहीँ स्थापना भएको याक फार्म घुमेर पुनः नाम्चेबजारमै आएर बास बसेँ । 
 
चौथो दिन नाम्चेबाट अनेक उकाला, ओराला, घुम्ती र कन्दरा पार गरेर तेङ्बोचे भन्ने रमणीय गाउँमा पुगेँ । पाँचौँ दिन पाङ्बोचे पुगेँ । छैटौँ दिन दिङ्बोचे पुगेँ । सातौँ दिन लोबुचे गाउँमा पुगेँ । यो लोबुचे भन्ने ठाउँमा अन्तर्राष्ट्रिय मौसम विज्ञान प्रयोगशाला बनाइएको रहेछ । 

पिरामिड शैलीमा निर्माण भएको त्यस प्रयोगशालाको छानोचाहिँ ऐनाजस्तै चम्किलो रहेछ । यहाँबाट उत्तरतर्फ चाँदीझैँ टल्किएको पुमोरी हिमाल देखिँदोरहेछ । ऐनाझैँ चम्किलो सोलारको छानो भएको यो अन्तर्राष्ट्रिय मौसम विज्ञान प्रयोगशाला भवनको भुइँतलामा ‘एट थाउजेन इन’ नामको होटल पनि चलाइएको रहेछ । हो, यात्राको सातौँ दिन म यही होटलमा वास बसेँ । 

मैलेचाहिँ स्थापनाकालदेखि नै यस प्रयोगशालामा काम गर्दै आएको हुनाले हाल म यसको आधारभूत काम गर्न सक्ने भएको छु । यसको सञ्चालन र हेरविचार मैले नै गरिराखेको छु ।

यही होटलमा अन्तर्राष्ट्रिय मौसम विज्ञान प्रयोगशालाका कर्मचारी काजी विष्ट भेटिनुभयो । मैले उहाँसित चिनजान हुनासाथ प्रयोगशालाबारे जानकारी लिने इच्छा व्यक्त गरेँ । उहाँले भन्नुभयो– ‘यो होटलको माथ्लो तलामा इटालीले बनाएको अन्तर्राष्ट्रिय प्रयोगशाला छ । यो संसारको सबैभन्दा उच्च स्थान अर्थात् पाँच हजार ५० मिटर उचाइमा स्थापित मौसम सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने प्रयोगशाला हो । यस भवनको छानो सोलार प्यानलबाट बनाइएको छ र यसैबाट शक्तिशाली ऊर्जा पनि निकालिएको छ । यही ऊर्जाले यस प्रयोगशालाका सबै मेशिनहरू चलाइन्छन् ।’ 

‘यो भवन होटलको हो कि प्रयोगशालाकोे हो ?’ मैले थप जिज्ञासा राखेँ ।

‘यो भवन इटालीले प्रयोगशाला सञ्चालनका लागि बनाएको हो । जग्गा नेपाल सरकारकै हो । संसारभरिका इच्छुक वैज्ञानिकहरूले अध्ययन अनुसन्धान गर्ने यस प्रयोगशालामा अहिलेसम्म चार हजार भन्दा बढी वैज्ञानिकहरूले भ्रमण र अध्ययन अनुसन्धान गरिसकेका छन् । अहिलेचाहिँ इटालियन सरकारले आर्थिक सहयोग गर्न छोड्यो । नेपाल सरकारले पनि यसको सञ्चालनमा खासै चासो नदेखाएपछि सोचे अनुसारका काम हुन सकेको छैन । 

मैलेचाहिँ स्थापनाकालदेखि नै यस प्रयोगशालामा काम गर्दै आएको हुनाले हाल म यसको आधारभूत काम गर्न सक्ने भएको छु । यसको सञ्चालन र हेरविचार मैले नै गरिराखेको छु । होटलचाहिँ नेपाल सरकारसित घर भाडामा लिएर निमा नुरू शेर्पाले सञ्चालन गर्नुभएको हो । यो होटलको नाम ‘एट थाउजेन इन’ भए पनि यस भवनको आकारले गर्दा ‘पिरामिड होटल’ को नामले नै चिनिँदै आएको छ ।’ 

‘यस प्रयोगशालाले गर्ने कामहरू चाहिँ के–के हुन् नि ?’

‘यो क्षेत्रमा कति मात्रामा प्रदूषण छ, प्रदूषण के कति मात्रामा बढिरहेको छ र हिमाली क्षेत्रमा यसको के कस्तो असर परिरहेको छ भन्ने कुराको अध्ययन गर्छ । ‘टेटोनिक प्लेट’को कारणले हाम्रो जमिन कति मात्रामा सरिरहेको छ भन्नेबारे अनुसन्धान गर्छ । हिमाली भेगमा अक्सिजनको कमीका कारणले हुन सक्ने असर र रोकथामका उपायबारे पनि अध्ययन गर्दै आएको छ ।’

अब त आमादब्लम, थामसेर्कु र काङ्टेगा हिमालभन्दा अझै उत्तरतर्फ पुगिसकेकी छु म । अर्थात् हिमालपारिको धर्तीमा आइपुगेकी छु म ।

काजीदाइलाई धन्यवाद दिएर सुत्न गएँ म । अनि भोलिपल्ट बिहान ६ बजे नै उठेर काला पत्थरतर्फ हिँडिहालेँ । 

अब म लोबुचेको पाँच हजार ५० मिटर उचाइ भन्दा अझैमाथि जाँदै थिएँ । हिमरेखाभन्दा माथिको धर्तीमा हिँड्दै थिएँ म । पिरामिड भवनबाट बाटो लाग्दा पुमोरी हिमालकोे शीतल उज्यालोले मलाई बाटो देखाइरहेझैँ भान हुन्थ्यो । आँगनमा खेलिरहेका दर्जनौँ चराहरूले पनि मेरै लागि शुभयात्राको राग हालिरहेझैँ सुनिँदै थियो ।

अब त आमादब्लम, थामसेर्कु र काङ्टेगा हिमालभन्दा अझै उत्तरतर्फ पुगिसकेकी छु म । अर्थात् हिमालपारिको धर्तीमा आइपुगेकी छु म । अब यी हिमालहरूलाई हेर्न मैले दक्षिणतिर पो फर्किनुपर्छ त ! मभन्दा उत्तरतिरचाहिँ ल्होत्से, नुप्चे, पुमोरी, सगरमाथा र मैले नामै नजानेका कैयौँ चुचुराहरू मुस्कुराइरहेका देखिँदैछन् ।

मलाई यो बेला सपनामा छु कि विपनामा छु भनेर भेउ पाउन मुस्किल परिरहेछ । अनि हिमाल छुँदै झरेको चिसो बतासले मेरो कानैमा आएर साउती मारिरहेछ— ‘हेर् नानी, तँ त सगरमाथाको सामुन्नेमा पो छेस् त । तँ त अब सर्वोच्च हिमालको आधारभूमिमा पो आइपुगेकी छेस् त बाबै !’

ओहो हो ! क्या शानदार दृश्य छ हिमशृङ्खलाको ।

लोबुचेको धर्ती टेकेदेखि नै ज्यान गह्रुङ्गो भइरहेको छ । पाइला पाइलाले ज्यानलाई फतक्क गलाइरहेछन् । शरीर कमजोर भएझैँ लाग्दैछ । पाइलैपिच्छे थकाइ मार्न मन लाग्छ । तर यही कठिन यात्राले अपार आनन्द पनि दिइरहेको छ । जोसुकैले हत्तपत्त पाइहाल्ने खालको अवसर कहाँ हो र यो ? धर्तीको शान सगरमाथाको दर्शन गर्न त्यसै पाइन्छ त ? नेपालका हिमाल हेर्नका लागि लाखौँ पर्यटक सात समुद्र तरेर आउँछन् । अनि म नेपालीले चाहिँ आफ्नै हिमाल हेर्न गाह्रो मानेर हुन्छ त ? 

झन् अनौठो भूगोलमा आइपुगेँ अहिले त ! वारिपट्टि पहाडजत्रो ढिस्को छ । पारिपट्टि पनि उस्तै पहाड उठेको छ र बीच भागमा चाहिँ अँध्यारो गल्छी छ । 

यो उकालो नाघेपछि हिमालै हिमाल, लेकैलेक, खोँचैखोँच, तरेली नै तरेली भएको साह्रै सुन्दर भूगोल देखापर्‍यो । 

आहा ! कस्तो मनोहारी दृश्य ।

यतिखेर भने म पूरै ढुङ्ग्यानी धर्तीमा आइपुगेकी छु । घरजत्रा ढुङ्गा छन् जताततै । बाटो बाटोजस्तो छैन । यहाँ त अनुमानका भरमा हिँड्नुपर्दो रहेछ । घोडा, खच्चरको लिदी र जोक्पेको गोबर पछ्याउँदै हिँडिरहेँछु म पनि । 

झन् अनौठो भूगोलमा आइपुगेँ अहिले त ! वारिपट्टि पहाडजत्रो ढिस्को छ । पारिपट्टि पनि उस्तै पहाड उठेको छ र बीच भागमा चाहिँ अँध्यारो गल्छी छ । 

आम्मामामाऽऽऽ, यस्तो डरलाग्दो बाटो कसरी पार गर्नु ? बाटो देखेर आत्तिएँ र एक्लै बोलेँ म ।

‘हिमनदीको बाटो भनेको यस्तै हुन्छ । यी आला ढिस्का जमिनमुनि जमेको हिउँको जगमा उभिएका हुन्छन् । घामको ताप पायो भने जमिनमुनि जमेर बसेका हिउँका ढिक्काहरू पग्लिन थाल्छन् । घाम चर्केर जमिन तातेका बेला कहिलेकाहीँ ती ढिक्काहरू ठूल्ठूलो आवाज निकाल्दै पड्किन्छन् पनि । त्यो बेला कतै ढिस्का उठ्छन् भने कतै जमिन धसिएर डरलाग्दा खाडल बन्छन् । त्यही भएर हिमनदी क्षेत्रको बाटो कतिखेर मेटिन्छ र कतिखेर बनिन्छ भन्ने पत्तै हुन्न । सगरमाथाको आधारशिविर (बेसक्याम्प) जाँदा हिँडेको बाटो भारी पुर्‍याएर फर्किंदा मेटिइसकेको पनि हुन सक्छ । अनि फेरि हिमनदीको बगर खोस्रिएर नयाँ बाटो बनाउनुपर्छ ।’ मरिकुच्च भारी बोकेर मेरा पछिपछि आइरहेका एकजना भरियादाइको आवाज थियो यो । 

एउटा थुम्को पार गरेपछि यहीँबाट सगरमाथाको आधारशिविर पनि देखियो । सगरमाथा, ल्होत्से, नुप्से, लोला आदि हिमालहरूको फेदीमा रङ्गीन पालले बनेको ठूलो गाउँझैँ पो रहेछ सगरमाथाको आधारशिविर त ! 

हिमनदी भनेको हिमालको हिउँ पग्लिएर सललल्ल बग्ने नदी होलान् भन्ने लाग्थ्यो मलाई । तर त्यस्तो त पटक्कै होइन रहेछ । हिमनदी भनेको त वर्षांैदेखि जमेर बसेको हिउँको जगमाथि उभिएका ढुङ्गा, माटो, हिउँढिक्के पोखरी, बगरहरूको साझा चित्र पो हो रहेछ । हिमनदीले धर्तीभित्र रहेका विशाल विशाल ढुङ्गा उधिनेर निकाल्दोरहेछ । पहाडजत्रै बगर उमार्दोरहेछ । धर्तीलाई पट्ट फुटाएर पोखरी निर्माण गर्न सक्दोरहेछ । छँदाखाँदाको पोखरीलाई आफ्नै गर्भभित्र लुकाउन पनि सक्दोरहेछ । 

बडो विचित्रको चिज रहेछ हिमनदी भनेको त !  

एउटा थुम्को पार गरेपछि यहीँबाट सगरमाथाको आधारशिविर पनि देखियो । सगरमाथा, ल्होत्से, नुप्से, लोला आदि हिमालहरूको फेदीमा रङ्गीन पालले बनेको ठूलो गाउँझैँ पो रहेछ सगरमाथाको आधारशिविर त ! 

पूर्वतर्फ हिउँ जमेर बनेको सेतो दरबारजस्तो हिउँकै ढिस्को, बीचमा बगिरहेको भर्खरै जन्मेको दूधकोशी नदी र पश्चिमतर्फ पालैपालको रङ्गीन संसारको साझा चित्रझैँ देखिएको आधारशिविरलाई मैले यहीँबाट पनि साँच्चै नै सुन्दर नमूना बस्तीको रूपमा पो देखेँ त ! 

हो, मैले यहाँ विचित्रका हिमाली सिर्जनाहरू देखेँ । धर्ती पट्ट फुटेर निस्केका हिउँका नीला धारहरू देखेँ । धर्ती फुटाएर उम्रिएका नीला दहहरू र गेग्रानका आला ढिस्काहरू पनि देखेँ । 

बाटैमा एउटा सूचना बोर्ड उभिएकोे थियो । त्यसमा लेखिएका अक्षरहरूले— ‘५१६४ मिटरको उचाइमा रहेको गोरकशेप बस्तीमा स्वागत छ’ भने ।

निक्कै माथि पुगेपछि सोलुखुम्बु जिल्लाको उत्तरीभेगको अन्तिम मानव बस्ती गोरकशेप देखियो । गोरकशेपको बस्तीभन्दा देब्रेतर्फ हिउँको टोपी लगाएर जुरूक्क उठेको कालापत्थरको डाँडो रहेछ । कालापत्थरलाई आफ्नो छातीमा च्यापेर योभन्दा माथिचाहिँ पुमोरी हिमाल ठडिएको रहेछ । 

अनि पुमोरीका पूर्वतिरचाहिँ नुप्चे, सगरमाथा र ल्होत्सेका जग्मगाउँदा चुचुराहरू रहेछन् । गोरकशेपको यो अन्तिम मानव बस्ती त हिमालकै काखमा पर्ने फराकिलो बगरका बीचमै पो हिउँझैँ उज्यालो भएर बसिरहेको रहेछ । कस्तो अचम्म ! 

नेपालीले कम चिने पनि विश्वप्रसिद्ध गन्तव्यको रूपमा रहेको गोरकशेपमा पाइलो टेक्ने अवसर पाएर फुरूङ्ग भएँ म । 

बाटैमा एउटा सूचना बोर्ड उभिएकोे थियो । त्यसमा लेखिएका अक्षरहरूले— ‘५१६४ मिटरको उचाइमा रहेको गोरकशेप बस्तीमा स्वागत छ’ भने । यो बिन्दुबाट बायाँतिर लागे कालापत्थरको चुलीमा र सिधै पूर्वाेत्तरतर्पm गए सगरमाथाको आधारशिविरमा पुगिनेछ । 

मैले कालापत्थरतिरको बाटो समातेँ । गोरकशेपको बस्ती छोडिनासाथ कठिन उकालो सुरू भइहाल्यो । 

उकालामा डफ्फा–डफ्फा भएर हिँडिरहेथे विदेशी पदयात्रीहरू । टाढैबाट देखिरहेथेँ— तिनका रहरलाग्दा पाइलाहरूलाई ! टुकुटुकु टेकिएका रङ्गीविरङ्गी लट्ठीहरूलाई !

हिमाल हेर्दाहेर्दै हिमालै भएर चुलिइरहेछ मेरो मनको उत्साह पनि । 

सुरूको एक झमट उकालो नाघेपछि एउटा विशाल तर भिरालो मैदानमा आइपुगेँ म । यो मैदानको तेर्सेतेर्से उकालो पनि छिचोलेँ । मैदानको उत्तरी कुनाबाट झण्डै नब्बे डिग्रीको गोरेँटो बोकेर गगनचुम्बी पहाड उभिएको छ र यो नै कालापत्थर चढ्दाको दोस्रो उकालो रहेछ । 

बाटो झन् झन् ठाडो हुँदै जाँदैछ । धेरै परसम्म देखिँदैछ— यो सुलुत्त उठेको बाटो । 

हिमरेखाभन्दा धेरै माथिको उचाइ हो यो जहाँ वनस्पतिको कुनै नामोनिशान छैन । ठाउँ ठाउँमा बिस्कुन सुकाएजस्तो बरफतुल्य हिँउ भेटिन्छ । त्यही हिउँमा पदयात्रीले टेकेका पाइतालाका छापहरू भेटिन्छन् । हिउँका रासभित्रबाट चिहाइरहेका विशाल विशाल ढुङ्गाहरू भेटिइरहेछन् । 

हिमाल हेर्दाहेर्दै हिमालै भएर चुलिइरहेछ मेरो मनको उत्साह पनि । 
 
म निक्कै माथिल्लो उचाइमा पुगिसकेकी छु । सगरमाथा, ल्होत्से र नुप्चे हिमालहरू हातैले छोइएलाझैँ देखिँदैछन् यहाँबाट । सूर्यको प्रकाशमा नुहाइरहेका चमकदार हिमाललाई नाङ्गा आँखाले हेर्नै नसक्ने स्थिति बनिसकेको छ अब । त्यसैले सर्वोच्च शिखर सगरमाथासँगै उभिएका दर्जनौँ हिमाललाई निरन्तर हेर्न मैले आँखामा कालो चश्मा लगाइसकेकी छु ।  

गोरकशेपबाट करीव तीन घण्टा लगातार हिँडेपछि पाँच हजार ६ सय ४४ मिटर उचाइको कालापत्थरको शिखरमा पाइलो राख्न सफल भएँ ।

यो उकालो पनि पार गरेपछि अब कालापत्थरको अन्तिम उकालो देखापर्‍यो । कालापत्थरको यो अन्तिम उकालाले मसित पनि अन्तिम परीक्षा नै लिइरहेको छ । सास बेपत्तासँग फुलिरहेको छ । स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै बडो मुस्किलले पाइला चालिरहेकी छु । हुरी भएर जोडले हुर्रिने हावामा पातलिँदै गएको अक्सिजनका कारण फोक्सो जोडजोडले चलिरहेको छ । तर असजिलो भए पनि म आत्तिएकी छैन । मुटुमा दरिलो आँट र मनमा खुशी बोकेर विस्तारै विस्तारै हिँडिरहेकी छु म । 
 
गोरकशेपबाट करीव तीन घण्टा लगातार हिँडेपछि पाँच हजार ६ सय ४४ मिटर उचाइको कालापत्थरको शिखरमा पाइलो राख्न सफल भएँ । कालापत्थरको अन्तिम बिन्दुमा उभिएर आँखैअघि ठिङ्ग उभिएको सगरमाथालाई देख्दा गौरवले टम्म भरिएँ म । 

त्यति मात्रै होइन, एकदमै नजिककै उभिएको पुमोरी हिमाललाई हेरेर रोमाञ्चित भएँ । सगरमाथा र सगरमाथासँगै कुम जोडेर उभिएका विशाल हिमालहरूसित यति नजिक होऊँला भनेर चिताएकै थिइनँ मैले कहिल्यै पनि । तर आज यिनीहरूसँगै कुम जोडेर सँगसँगै उभिन पाउँने भाग्यमानीहरूमध्ये एक भएँ म पनि ।

वाह, क्या आनन्दको क्षण आयो मेरो जिन्दगीमा पनि ! हिप हिप हुर्रे !

कालापत्थरको टुप्पामा पनि दायाँतर्फचाहिँ चार/पाँच जना उभिन मिल्ने भिरालो ठाउँ रहेछ । देब्रेपट्टि चाहिँ डरलाग्दो भीर र भीरमुन्तिर विशाल हिमनदी रहेछ । त्यो हिमनदीमा कतै नीला दह, कतै पट्ट चिरिएका हिउँका नीला धारहरू अनि डोजरले उधिनेजस्ता ढिस्का, रोडा, बालुवा र चट्टानका रासहरू देखिइरहेछन् यहीँबाटै । 

खै, भन्नै सक्तिनँ, म मेरा देशका गौरवशाली हिमालहरूलाई हेर्दाहेर्दै के–के भएँ, भएँ !

कालापत्थरको पूर्वउत्तरको फेदीमा सगरमाथा आधारशिविरको रंगीन अस्थायी बस्ती देखिँदैछ । आधारशिविरको उत्तरीभित्तोको खुम्बु आइसफल र त्यसको तल बाँसका कलिला टुसाजस्तै आकृतिका हिमालका सेता टुसाहरूको चमक पनि साँच्चै राम्रा देखिइरहेका छन् यहाँबाट । आधारशिविरभन्दा मुन्तिर पनि कतै नीला दह, कतै चट्टान, कतै बरफका रास र गेग्रानका ढिस्काहरू देखिइरहेका छन् ।   

मैले कालापत्थरको टुप्पामा उभिएर साह्रै नजिकको दूरीबाट पुमोरी, ल्होत्से, मकालु, नुप्चे र सगरमाथालाई मायालु नजरले हेरेँ । श्रद्धाले नमस्कार गरेँ अनि हर्ष, गर्व र उत्साहले पग्लिएँ । यो विजयले मलाई रोऊँरोऊँजस्तो पनि लाग्यो । हाँसूँहाँसूँजस्तो पनि लाग्यो । नाचूँनाचूँजस्तो पनि लाग्यो । गम्भीर बनेर बसिरहूँजस्तो पनि लाग्यो । 

खै, भन्नै सक्तिनँ, म मेरा देशका गौरवशाली हिमालहरूलाई हेर्दाहेर्दै के–के भएँ, भएँ !

मैले घामको प्रकाशभन्दा तेजिलो देखिएको सगरमाथालाई आफैँले लेखेको कविता यहीँबाट वाचन गरेर सुनाएँ— 

‘छन् सृष्टिका उच्च कला तिमीमा
रहस्यका लाख थला तिमीमा
के तेज पायौ र बन्यौ विशाल
नेपालका गौरव हे हिमाल !’

कविता सुनाउँदा सुनाउँदै म हर्षले विभोर भएँ र एकछिन् त रोएँ पनि ।

जाडाले गर्दा धेरैबेर टिक्नै सकिएन चुचुरोमा । हावाको तीब्र वेगले गर्दा टिक्न सक्ने स्थिति थिएन । कालापत्थरको टुप्पोमा घामले पनि ताप नभएको प्रकाश मात्रै पठाइरह्यो । हुरीजस्तो हावाले पनि अक्सिजन होइन, बरफ मात्रै बर्साइरह्यो । 

मैले झोलाबाट नेपालको राष्ट्रिय झण्डा झिकेँ र सगरमाथातिर फर्केर फहराएँ । सँगै उभिएका विदेशीहरूसित केही थान तस्वीर खिचिमागेँ र पाँच हजार ६ सय ४४ मिटर उचाइको कालापत्थरको चुचुरोबाटै विश्वको सर्वोच्च हिमालसित पनि बिदा मागेँ । 

मनले भनिरह्यो— ‘हे विश्वकै सर्वोच्च हिमाल तिमीलाई नमस्कार छ ! तिम्रो उच्च, अटल र पवित्र आकृतिलाई मनमा सजाएर तिमीसित बिदा मागिरहेछु । मलाई पनि असल र ज्ञानी मान्छे बन्ने बाटो सधैँ देखाइरहू है सगरमाथा !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी खतिवडा
भवानी खतिवडा
लेखकबाट थप