शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्री अर्यालको भूमिका शंकास्पद, तत्काल राजीनामा दिनुपर्छ: प्रभु साह

युवाहरूको हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने सरकारलाई तत्काल मार्गप्रशस्त गर्न सुझाव
शनिबार, ०८ कात्तिक २०८२, १६ : ५०
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • आजपा अध्यक्ष प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै युवाहरूको हत्यामा सरकारको भूमिका शंकास्पद रहेको आरोप लगाए।
  • उनले जेन-जी आन्दोलनका युवाहरूको हत्यारालाई सरकारले संरक्षण गरेको र कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे।
  • साहले तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाहीको दायरामा ल्याउन पहल नगरेको भन्दै सरकारको आलोचना गरे।

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा माग गरेका छन्। जेन–जी आन्दोलनमा युवाहरूको हत्या गर्नेहरूलाई यो सरकारले जोगाउन खोजेको उनको आरोप छ।

पर्साको पर्सागढीमा शनिवार आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, ‘भदौ २३ गते युवाहरूमाथि नरसंहार गरियो, उनीहरूको छाती र टाउकोमा ताकी–ताकी गोली हानिएको छ। अहिलेसम्म हत्याराहरूलाई पक्राउ गर्न नसक्ने यो सरकारको अब काम छैन, गृहमन्त्री नै लुरे परे।’

साहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहितका 'हत्याराहरूलाई' पक्राउ गरी कानूनी कारबाहीमा ल्याउन गृहमन्त्री अर्यालले कुनै पहलकदमी नलिएको भन्दै आक्रोश पोखे। उनले गृहमन्त्री पहिले एमालेको कार्यकर्ता भएकै कारण ओली जस्तालाई कारबाही गर्न नसकेको आरोप लगाए।

‘यो सरकार बनेको यतिका दिन बितिसक्यो, तर युवाहरूको हत्यारालाई कारबाही गर्न सकेको छैन। उल्टै हत्याराहरूको बलमा प्रहरी प्रशासनले आन्दोलनकारी युवाहरूमाथि छानि–छानि जाहेरी दर्ता गरिएको छ,’ साहले भने, ‘बालेन शाह र सुदन गुरुङविरुद्ध एमालेका युवाहरूले दिएको जाहेरी किन लिइयो? यो सरकारको गतिविधि आँफैमा शंकास्पद छ।’

उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले जेन–जी पुस्ताको भावनामाथि गम्भीर खेलवाड गरेको आरोप लगाउँदै युवाहरूको हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही नगरी मुद्दा 'मुल्तवी'मा राख्नु दुर्भाग्यपूर्ण भएको बताए।

साहले युवाहरूको हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही गर्न नसक्ने यो सरकारको औचित्य समाप्त भएको भन्दै तत्काल मार्गप्रशस्त गर्न सुझाव दिए। उनले यो सरकारले कारबाही नगरे जनताले आफ्नै बलमा हत्याराहरूलाई जनकारबाही गर्ने चेतावनी पनि दिएका छन्।

उनले अहिलेको सरकारले युवाहरूको हत्यारालाई कारबाही नगरे जनताले आफ्नै बलमा हत्याराहरूलाई घरबाट थुतेर जनकारबाही गर्ने चेतावनी दिए। साथै, उनले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने, नारायणी हस्पिटललाई मेडिकल कलेज बनाउने, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय बनाउने लगायतका काममा पूर्वमन्त्रीहरूले ध्यान नदिँदा नागरिकले दुःख पाएको पनि बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप