मुस्ताङमा आन्तरिक पर्यटकको भिड, तयारीबिना जाँदा बिजोग
काठमाडौँ । मुस्ताङसहित हिमाली क्षेत्रको विभिन्न स्थानमा आन्तरिक पर्यटकको भिड लागेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार भाइटीकाको भोलिपल्ट शुक्रबार मात्रै बेनी-जोमसोम सडकखण्ड हुँदै ६ हजार ८५९ पर्यटक भित्रिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी छिरिङ किप्पा लामाका अनुसार शुक्रबार एकै दिन ६ हजार ५०६ आन्तरिक र ३५३ विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । यसमा २ हजार १६८ यात्रुवाहक सवारीसाधन प्रयोग भएका थिए ।
अग्रिम बुकिङ नगर्दा समस्या
अहिले मुस्ताङ सहित हिमाली क्षेत्र जाने पर्यटकले भिडभाड र अव्यवस्थाको सामना गरिरहेका छन् । होटल तथा अन्य आवासहरू अग्रिम बुकिङ नगरी र पर्याप्त तयारीबिना यात्रामा निस्कँदा उनीहरूले बास बस्ने ठाउँ र खानेकुरा पाउनसमेत कठिनाइ भोगेका छन् ।
बाराको निजगढबाट मुस्ताङ घुम्न आएका राहुल तिमल्सिना भन्छन्, 'दसैँ तिहारको बिदामा घुम्न त गइयो तर बस्ने ठाउँ, खानेकुरा नपाउँदा तनाव भएको छ । घुइँचो लागेको रहेछ। सिजनमा त अबदेखि नजाने, बरु अफसिजनमै ठिक रहेछ।' उनीजस्तै अन्य धेरै पर्यटकहरूले पनि यस्तै समस्याहरू भोगिरहेका छन् । काठमाडौंबाट चार जना साथीहरूसहित आएका सुवास अधिकारीले जोमसोम पुग्नासाथ होटल पाउन धौधौ परेको र अन्ततः एउटै कोठामा कोचिएर महँगो शुल्क तिर्नुपरेको अनुभव सुनाए, जहाँ खानेकुराको पनि पर्याप्त व्यवस्था थिएन र उनले आफूहरूको पूर्वतयारीको कमीले यस्तो अवस्था आएको स्वीकार गरे ।
परिवारसहित पोखराबाट मनाङ गएकी सिर्जना लामाले साना बालबालिकालाई व्यवस्थित खाना र आवास दिन नसक्दा निकै पछुतो लागेको बताइन् । जहाँ सुत्नका लागि पनि पालो पर्खिनुपर्ने र सडकमा सवारीसाधनको लामो लाइनले गर्दा यात्रा कष्टकर बनेको उनको भनाइ थियो । जसले गर्दा उनले भविष्यमा सिजनमा यात्रा नगर्ने निधो गरिसकेकी छन् ।
बुटवलका नवीन घिमिरे, जो ट्रेकिङको उद्देश्यले मुस्ताङ आएका थिए, उनलाई पनि होटलको समस्याले सतायो र योजना बिथोलिएपछि एक रात स्थानीयको घरमा अतिरिक्त शुल्क तिरेर बस्नुपरेको बताए, साथै सामाजिक सञ्जालमा मुस्ताङबारे फैलिएका केही गलत जानकारीले आफूहरूलाई पर्याप्त तयारी गर्नबाट वञ्चित गरेको उल्लेख गरे। चितवनकी गीता पौडेल, पाँच जनाको समूहमा दसैँको टीका लगाएर सीधै मुस्ताङ हिँडेको, होटल नपाएर गाडीमै रात बिताउनु परेको दुःखद् अनुभव सुनाउँदै यस्तो समस्या आउला भन्ने सोचेकै नभएको र यात्रुहरूलाई अग्रिम तयारीका लागि आग्रह गरिन् ।
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनका सिजन भएको र कोरला नाका खुल्दा ह्वात्तै पर्यटक बढेको बताउछन् । उनका अनुसार बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जाँदा यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आएको छ । तर चाडपर्वको समयमा आउने पर्यटकको वृद्धिलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ ।

मुस्ताङमा पर्यटनको अवस्था र यसका चुनौतीबारे जानकारी राख्ने मुस्ताङ थकालीका सञ्चालक तथा पत्रकार सुशीलबाबु थकालीले यस विषयमा विस्तृत जानकारी दिएका छन् । उनले मुस्ताङमा आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनुलाई सकारात्मक रूपमा लिँदै दसैँ र तिहारको लामो बिदा तथा कोरला नाका खुलेपछि बाटो सहज भएकाले पर्यटकको चहलपहल बढेको बताए ।
थकालीका अनुसार अहिलेको मुख्य समस्या भनेको पर्यटकहरू पर्याप्त जानकारी र पूर्वतयारीबिना नै मुस्ताङ आउनु हो । जसले गर्दा यहाँ भिडभाड र अस्तव्यस्तता बढेको र पर्यटकहरूले सोचेजस्तो सुविधा र अनुभव पाउन नसकेको उनको भनाइ छ । सामाजिक सञ्जालमा मुस्ताङमा खाने र बस्ने ठाउँ केही पनि छैन भन्नेजस्ता गलत सन्देशहरू फैलिएको भन्दै उनले त्यसको खण्डन गरे, 'यो सरासर गलत हो। हामीले यसलाई सकारात्मक रूपमा लिइरहेका छौँ, तर यो नकारात्मक रूपमा प्रचार भइरहेको छ ।'
उनले पर्यटकहरूलाई घुम्न आउनुअघि उचित जानकारी लिन र अग्रिम बुकिङ गरेर आउनुपर्नेमा जोड दिए, 'अब जानकारी, सूचना लिएरै आउनुपर्छ । तलबाट हिँड्ने बेलामा पनि सबै कुरा बुझेर अनि अग्रिम बुकिङ, होटलहरू बुकिङ गरेर आउनुपर्यो ।'
उनले मुस्ताङमा कतिपय सामुदायिक भवनहरू, आमा समूहका भवनहरू, वडा कार्यालयका भवनहरू र सरकारी अनुदानबाट बनेका भवनहरू खाली रहेको औंल्याए, जुन पर्यटन सिजनमा पर्यटकलाई अस्थायी आवासको रूपमा प्रयोग गर्न सकिन्छ ।

उनले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै भने, 'अहिले पनि मेरो होटलमा दुई-तीनवटा ग्रुप आएका थिए, उनीहरूलाई केही पनि थाहा थिएन । सूचना नै थाहा छैन के। त्यसरी आइरहेको छ के ।'
मुस्ताङको भौगोलिक अवस्था र मौसममा आउने अचानक परिवर्तनहरूले पनि पर्यटकलाई चुनौती दिन सक्ने भएकाले उचित कपडा, आवश्यक औषधि र अन्य तयारीबिना आउने पर्यटकहरूले स्वास्थ्य समस्याको पनि सामना गर्नुपर्ने हुन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण