बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विकास निर्माण

बीपी राजमार्ग : स्थायी निर्माण छठपछि, सडकको डिजाइन नै परिवर्तन

लगानी गर्नुअघि अध्ययन गर्न सुझाव
आइतबार, ०९ कात्तिक २०८२, ०६ : ५८
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • बीपी राजमार्गको स्थायी पुनर्निर्माण छठ पर्वपछि सुरु हुने, सडक विभागले जानकारी गरायो।
  • अविरल वर्षाले सडकमा क्षति पुर्‍याएपछि अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको छ।
  • राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइएको छ।

काठमाडौँ । लामो समयदेखि अस्थायी ट्र्याकको भरमा सञ्चालनमा रहेको बीपी राजमार्गको स्थायी पुनर्निर्माण छठ पर्वपछि सुरु गरिने भएको छ । सडक विभागले ठेक्का लागिसकेका खण्डहरूमा छठपछि निर्माण कार्य अगाडि बढ्ने जनाएको हो । 

सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख तथा सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेका अनुसार दसैँलगत्तै स्थायी पुनर्निर्माण सुरु गरिने तयारी गरिए पनि असोजको तेस्रो साताको अविरल वर्षाले ढिलाइ भएको हो, असोजको वर्षापछि आएको बाढी–पहिरोले अस्थायी ट्रयाकमा क्षति पुगेको छ । यो सडक २०२७ जुलाई (दुई वर्षभित्र) निर्माण गरिसक्ने लक्ष्य छ । 

२०८१ असोजको दोस्रो साता परेको अविरल वर्षाले सडकमा क्षति पुगेपछि यहाँ अस्थायी ट्रयाक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको थियो । तर फेरि यस वर्षको असोजमा परेको अविरल वर्षाले सडकमा थप क्षति गर्‍यो । यद्यपि सडक विभागले तत्काल अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याएको छ । 

यो सडक स्थायी रूपमा पुनर्निर्माणका लागि केही खण्डको ठेक्का लागिसकेको छ । 

बाढीले केही स्थानमा सडकको डिजाइन सामान्य परिमार्जन गर्नुपर्ने भएकाले काम सुरु हुन ढिलाइ भएको न्यौपाने बताउँछन् । तर कतिपय स्थानमा मात्र डिजाइनमा सामान्य परिवर्तन हुने उनले सुनाए । ‘कुनै–कुनै ठाउँमा बाढी आइसकेपछि खोलाको प्रकृति परिवर्तन भएकाले विज्ञहरूसँग परामर्श गरी त्यसलाई अनुकूल हुने गरी स्थानीयकृत परिवर्तन गरिनेछ,’ उनले भने, ‘बाँकी धेरैजसो ठाउँमा पुरानै डिजाइनअनुसार काम अगाडि बढ्नेछ ।’

एउटा ठेक्का आह्वान गर्नै बाँकी 

क्षतिग्रस्त यस राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि करिब २९.५ किलोमिटर सडकमध्ये ३ खण्डको ठेक्का लागिसकेको छ, जहाँ एक खण्ड जाइकाले निर्माण गर्नेछ । साढे दुई किलोमिटर सडक भने ठेक्का लाग्न बाँकी छ । 

नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ, यो खण्ड १ अर्ब बराबरको लागत अनुमान गरेकोमा ६१ करोड रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण गर्ने गरी सडक डिभिजन खाल्टेले खरिढुंगा/घिसिङ/क्षितिज जेभीसँग ठेक्का सम्झौता गरेको हो । 

एक वर्षअघि क्षतिग्रस्त राजमार्गको स्थायी पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का प्रक्रिया अघि बढाइएको छ । साथै यस खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड (साढे आठ अर्ब) रुपैयाँ स्रोत सहमति दिइएको छ ।

यस्तै बर्खेखोलादेखि पिप्लेसम्म ३.२२ किलोमिटर सडक जाइकाले पुनर्निर्माण गर्ने जिम्मा लिइएको छ । पिप्लेदेखि डालाबेँसीसम्म २.३० किलोमिटर सडक ठेक्का लगाउने तयारी भएको छ । यो खण्डको लागत करिब १ अर्ब २१ करोड लाग्ने अनुमान गरिएको छ । 

यसैगरी डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ । यो खण्ड निर्माण गर्न २ अर्ब ४५ करोड लागत लाग्ने अनुमान गरिए पनि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का पाएको छ । 

साथै चारसय बेँसीदेखि भकुन्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीले ठेक्का पाएको छ । यो सडक खण्ड पुनर्निर्माणका लागि २ अर्ब ५२ करोड लाग्ने अनुमान गरिएकोमा १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 

पुनर्निर्माणमा साढे आठ अर्ब 

एक वर्षअघि क्षतिग्रस्त राजमार्गको स्थायी पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का प्रक्रिया अघि बढाइएको छ । साथै यस खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड (साढे आठ अर्ब) रुपैयाँ स्रोत सहमति दिइएको छ । जसमध्ये राजमार्गको भक्तपुर खण्डलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुली खण्डलाई एक अर्ब रुपैयाँ बराबरको स्रोत सहमति दिइएको हो । 

२०८१ असोजमा १३ किलोमिटर सडक रोशी खोलाले पूर्ण रूपमा कटान गरेको थियो, यसपछि अस्थायी सडक बनाएर सञ्चालन गरिएको थियो, एक वर्षपछि असोजमै अस्थायी संरचना फेरि भत्कियो । 

यस्तै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदानसहित बर्खेखोलादेखि पिप्लेसम्म ३.२२ किलोमिटर सडक पुनर्निर्माण गर्ने सहमति गरेको छ । नेपालका पूर्वी जिल्लालाई काठमाडौँसँग जोड्ने मुख्य राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा नै निर्माण भएको हो । सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग  सन् २०१५ मा सम्पन्न भएको थियो । जसको लागत २६ अर्ब येन बराबर छ ।

बीपीमा लगानी गर्नुअघि अध्ययन गर्न सुझाव 

बीपी राजमार्गमा ठुलो लगानी गर्नुअघि राम्रो अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायातविज्ञ आशिष गजुरेलको सुझाव दिएका छन् । 

उनले बीपी राजमार्गलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न हाल भइरहेका समस्याहरूको मूल कारण पहिचान गरी सोहीअनससार समाधान खोज्नुपर्ने बताएका छन् । 

उनका अनुसार यस राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म वर्षायामममा पटक–पटक क्षति पुगिरहेको छ । २०८१ असोजमा १३ किलोमिटर सडक रोशी खोलाले पूर्ण रूपमा कटान गरेको थियो, यसपछि अस्थायी सडक बनाएर सञ्चालन गरिएको थियो, एक वर्षपछि असोजमै अस्थायी संरचना फेरि भत्कियो । 

‘यो राजमार्गका खोलाको किनारमा पर्खाल,तारजाली लगाएर सडक निर्माण गरिएका छन् । खोलाको जमिन प्रयोग भएका कारण खोलले हरेक वर्ष सडक कटान गरिरहेको छ,’ उनले भने, ‘खोलालाई निर्बाध रूपमा बग्न दिनुपर्छ । अब राम्रोसँग अध्ययन गरेर मात्र सोही ठाउँमा पुनर्निमाण गर्ने वा अन्य ठाउँबाट विकल्प खोज्नेबारे राम्रो निर्णय हुनुपर्छ ।’

अध्ययन नै नगरी ठुलो लगानी गरेर पुनर्निर्माण गरे पनि अर्को वर्ष फेरि खोलाले कटान गरे लगानी व्यर्थ हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप