चिउरीबाट साबुन उत्पादन, मालामाल हुँदै कृषक
सारांश
- दार्चुलाको मार्मा गाउँपालिकामा चिउरीको घिउ बेच्ने परम्परागत पेशा अब उद्योगमा परिणत भएको छ।
- चिउरीको उत्पादन र बजारको सम्भाव्यता अध्ययनपछि उद्योग स्थापना भई स्थानीय किसानको जीवनस्तरमा सुधार आएको छ।
- उद्योगले साबुन उत्पादनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना गरेको छ र चिउरीबाट थप उत्पादन गर्ने योजना छ।
धनगढी । कुनै समय दार्चुलाको मार्मा गाउँपालिका–६, सेरीजैथलाका शंकरसिंह महरा आफ्ना बुवा–बाजेले रोपेका चिउरीबाट घिउ निकालेर गाउँ–गाउँ डुल्दै बेच्न हिँड्थे । घरको ओखल र ढिकीमा घण्टौँ पसिना बगाएर पेलिएको घिउ प्रतिकेजी ४० रुपैयाँमा बेच्दा पनि ठुलै आम्दानी मानिन्थ्यो ।
अहिले समय फेरिएको छ । शंकरसिंहको परिवारले मात्र होइन, सिङ्गो मार्मा गाउँपालिकाले चिउरीलाई हेर्ने दृष्टिकोण बदलिएको छ । हिजो घरायसी प्रयोग र स–साना स्थानीय बजारमा सीमित चिउरी आज उद्योगको रुपमा सञ्चालनमा छ ।
‘त्यतिबेला तेलको चलन थिएन । सबैले चिउरीकै घिउ किन्थे,’ शंकरसिंह सम्झिन्छन्, ‘चाडपर्वमा पुरी–सेलरोटी पकाउनेदेखि दैनिक खानामा समेत यसैको प्रयोग हुन्थ्यो । आम्दानी भने अनिश्चित थियो । बजारको कुनै ठेगान थिएन ।’
कुनै बेला साबुन किन्न सीमावर्ती भारतीय बजार धाउनुपर्ने मार्माका बासिन्दा आज आफ्नै गाउँको माटोमा फलेको चिउरीबाट बनेको साबुन धनगढी र महेन्द्रनगरका बजारमा पठाइरहेका छन् । गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रशस्त मात्रामा पाइने तर खेर गइरहेको चिउरीको सम्भावना देख्यो । पालिका अध्यक्ष जमनसिंह धामीका अनुसार उद्योग स्थापना गर्नुअघि एक विस्तृत अध्ययन गरिएको थियो ।
‘हामीले सुरुमा एउटा रिसर्च टिम बनायौँ । त्यो टिमले मार्मा र छिमेकी पालिकाहरूमा रहेका चिउरीका बोटहरूको संख्या, उत्पादन क्षमता र यसको बजारको सम्भाव्यतामाथि विस्तृत प्रतिवेदन तयार ग¥यो,’ अध्यक्ष धामीले भने, ‘त्यतिमात्र होइन, हाम्रो टिमले पोखरा, बुटवलजस्ता ठाउँमा सञ्चालित यस्तै प्रकृतिका उद्योगहरूको भ्रमण गरेर प्राविधिक ज्ञान र अनुभव पनि बटुल्यो ।’
यही गहन अध्ययन र तयारीपछि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, शिवलिङ्ग सहकारी संस्था र गाउँपालिकाको डेढ करोडको संयुक्त लगानीमा उद्योगको खाका तयार भयो, तर यात्रा सोचेजस्तो सहज थिएन । कोभिड–१९ महामारी र मेसिनरी उपकरण आयातमा भएको ढिलाइका कारण उद्योग सञ्चालनमा आउन केही समय लाग्यो । हाल गाउँपालिकाको वडा नम्बर २ मा व्यवस्थित भवनमा सञ्चालित यो उद्योगले स्थानीय किसानको जीवनमा आर्थिक अवस्थामा सुधार ल्याएको छ । उद्योगमा चिउरीको दाना भुट्ने र पेल्ने आधुनिक मेसिन जडान भएपछि परम्परागत ओखल–ढिकीको झन्झट हटेको छ ।
_36zhMbz4Yc.jpg)
‘पहिला ओखलमा कुट्दा धेरै चुहावट हुन्थ्यो र मेहनत पनि बढी लाग्थ्यो । अहिले मेसिनले काम गर्दा समय र श्रम दुवै बचेको छ । उत्पादन पनि शुद्ध हुन्छ,’ स्थानीय किसान दिपकसिंह महराले भने ।
उद्योगले किसानलाई दोहोरो फाइदा दिएको छ । उनीहरूले चिउरीको दाना प्रतिकेजी ६० रुपैयाँसम्ममा बेचेर नगद आम्दानी गर्छन् । यसबाहेक उद्योगले घिउ निकालिसकेपछिको पिना (साबुनको मुख्य कच्चा पदार्थ) पनि खरिद गर्छ, जसले किसानलाई अतिरिक्त आम्दानीको स्रोत दिएको छ ।
‘हिजो जुन चिउरीको कुनै निश्चित मूल्य थिएन, आज त्यही चिउरी हाम्रो आम्दानीको बलियो आधार बनेको छ,’ शंकरसिंहले भने । उनको खेतमा अहिले २०० भन्दा बढी चिउरीका बोट छन् । उनी यसलाई अझै विस्तार गर्ने योजनामा छन् ।
यो उद्योगले मार्माका किसानलाई मात्र नभई छिमेकी पालिका बैतडीको डिलाशैनी र दार्चुलाकै नौगाडका किसानलाई समेत आकर्षित गरेको छ । ती क्षेत्रमा सङ्कलन केन्द्र स्थापना गरिएका छन्, जहाँबाट चिउरी सङ्कलन गरी उद्योगसम्म ल्याइन्छ ।
उद्योगले स्थानीय स्तरमा रोजगारीको ढोका खोलेको छ । विशेषगरी महिला र युवाहरूका लागि सङ्कलन केन्द्रमा काम गर्ने, कच्चा पदार्थ ढुवानी गर्ने र उद्योगभित्र साबुन उत्पादनमा संलग्न ७ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
‘यो उद्योगले पैसामात्र दिएको छैन, घरआँगनमै काम गर्ने अवसर पनि दिएको छ,’ स्थानीय भानादेवी महराले भनिन्, ‘यसले हामीलाई आत्मनिर्भर बनाएको छ र घरखर्च चलाउन श्रीमानको मात्र भर पर्नुपर्ने बाध्यता हटेको छ ।’
रोजगारीको अवसरले युवाहरूलाई कामका लागि बाहिरिनुपर्ने बाध्यतालाई केही हदसम्म कम गरेको अध्यक्ष जमनसिंह धामीले बताउँछन् ।
मार्मा गाउँपालिकाको योजना साबुनमा मात्र सीमित छैन । उद्योगले चिउरीको घिउलाई प्रशोधन गरेर उच्च गुणस्तरको खाने तेल र स्याम्पु उत्पादन गर्ने सम्भाव्यता अध्ययन गरिरहेको छ । ‘स्याम्पु बनाउनका लागि यसको अन्तिम रिपोर्ट आउन बाँकी छ,’ अध्यक्ष धामीले भने ।

अहिले चिउरी सङ्कलन केन्द्र विभिन्न ठाउँमा छन् । छिमेकी पालिका नौगाड गाउँपालिका र बैतडीको डिलाशैनीमा पनि सङ्कलन केन्द्र छ । मार्माको पनि विभिन्न ठाउँमा सङ्कलन केन्द्र छन् ।
यसका साथै, चिउरीको फूलबाट मह उत्पादन गर्ने र प्रशोधनपछि निस्कने खेर जाने पदार्थबाट जैविक मल बनाउने योजना पनि उद्योगको छ । यसले चिउरीको बोटदेखि अन्तिम उत्पादनसम्मको हरेक हिस्सालाई मूल्यमा परिणत गर्नेछ ।
खासगरी अहिले बजार विस्तार भएको छ । उत्पादन पनि बढेको छ । चिउरी उद्योग सञ्चालनले मार्माका किसानले आयस्रोत मात्र नभई रोजगारी पनि पाउने हुँदा यसलाई राम्रो व्यवस्थापन गरेर बढाउनुपर्ने स्थानीय बिर्मासिंह महराको भनाइ छ ।
गाउँपालिकाका अनुसार मार्मा गाउँपालिकाको–४, ३, १ र ६ नम्वर वडामा चिउरी उत्पादन हुने गरेको छ । अहिले गाउँपालिकाभरि १५ सयभन्दा बढी चिउरीका बोट छन् । एक बोटबाट कम्तीमा एक क्विन्टल घिउ उत्पादन हुन्छ ।
‘पहिला त्यत्तिकै खेर गइरहेको हुन्थ्यो । जंगलमा त्यत्तिकै छोडेको हुन्थ्यो । घरमा लगाउनेहरू भने केही आम्दानी गरिरहन्थे । अहिले उद्योग खुलेपछि चिउरीको महत्त्व बढेको छ,’ स्थानीय दिपक पन्तले भने ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको प्राविधिक सहयोग, शिवलिङ्ग सहकारी संस्था र मार्मा गाउँपालिकाको डेढ करोड लगानीमा उक्त उद्योग सञ्चालनमा आएको थियो । अहिले गाउँपालिकाले सहकारीसँग समन्वय गरेर उद्योग सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण