विदेशी शक्तिको 'ग्रान्ड डिजाइन'ले देश भुङ्ग्रोमा गयो : दुर्गा प्रसाई
सारांश
- दुर्गा प्रसाईले देशलाई कमजोर बनाउन विदेशी शक्ति लागेको आरोप लगाए, साथै बैंक ब्याजदरको विरोध गरे।
- प्रसाईले आफू सफल व्यवसायी भएको र बैंक ब्याजदर घटाउन आन्दोलन गरेको दाबी गरे, र राजसंस्था र हिन्दू राष्ट्र हटाउनु 'ग्रान्ड डिजाइन' भएको बताए।
- प्रसाईंले केही व्यापारीप्रति आक्रोश व्यक्त गर्दै, सिंहदरबारमा आगलागी हुनुलाई व्यवस्थाको संकेतको रूपमा टिप्पणी गरे।
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत सुनियोजित रूपमा कमजोर बनाइएको दाबी गरेका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आफूले सुरु गरेको अभियान बैंकको ब्याज नतिर्ने बहाना नभई देशलाई लुटतन्त्रबाट बचाउने प्रयास भएको दाबी गरे।
आफूलाई ‘पढेलेखेको नभई भोगेको र बुझेको’ व्यक्ति भन्दै प्रसाईले एक रुपैयाँरबाट आफ्नो व्यावसायिक साम्राज्य खडा गरेको बताए। 'मलाई बैंकको ब्याज नतिर्न आन्दोलन गर्यो भनेर आरोप लगाइयो, तर आज म तपाईंका हातमा प्रमाण राखिदिन्छु,' उनले भने, 'म नेपालको सफल व्यवसायी हुँ, तर आफूलाई व्यापारी वा व्यवसायी भन्दिनँ।'
उनले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण देखाएका थिए। साथै, आफ्नो लगानीको बीएन्डसी मेडिकल कलेजले सबैभन्दा बढी विद्युत् खपत गरी नियमित महसुल तिरेको भन्दै कोशी प्रदेशबाट उत्कृष्ट उपभोक्ताको सम्मान पाएको र त्यो सम्मान आफू प्रहरी हिरासतमा हुँदा पाएको उनले बताए।
प्रसाईले आफ्नो आक्रोश केही सीमित व्यापारी र समूहप्रति लक्षित रहेको स्पष्ट पारे। उनले केही मारवाडी समुदायका व्यापारीले बिजुली बालेर पैसा नतिर्ने तर आफूजस्ता व्यवसायीले नियमित भुक्तानी गर्दा पनि राज्यबाट अपहेलित हुनुपरेको गुनासो गरे। 'देशमा ४१ हजार मारवाडी परिवार छन्, मेरो विरोध सबैप्रति होइन। बर्माबाट लखेटिएका १६ परिवार छन्, जसले बर्मालाई नाङ्गो बनाए, अब नेपाललाई पनि त्यही गर्दैछन्,' उनले भने।
उनले आफूले देशको पक्षमा बोल्दा र गलत कार्यको विरोध गर्दा विभिन्न लाञ्छना खेप्नुपरेको बताए।
प्रसाईले आफ्नो अभियानको मुख्य जड बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर भएको बताए। 'बैंकहरूले ७ प्रतिशत भनेर कागज गराउँछन् तर १६-१७ प्रतिशत ब्याज असुल्छन्। यसले गर्दा आम नागरिक, डाक्टर, पत्रकार र व्यवसायी ऋणको पासोमा परेका छन्,' उनले भने। आफ्नो आन्दोलनकै कारण ब्याजदर ६ प्रतिशतमा झर्न बाध्य भएको र यसको फाइदा सम्पूर्ण नेपालीलाई पुगेको उनको दाबी थियो।
प्रसाईले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु ‘ग्रान्ड डिजाइन’को हिस्सा भएको दाबी गरे। उनले भने, 'किन गिरिजाप्रसादले 'ग्रान्ड डिजाइन' भनिरहन्थे? किन राजसंस्था र हिन्दू राष्ट्र हटाउनु परेको थियो? यो खेल अहिले आएर प्रस्ट भयो।' उनले सिंहदरबार र सर्वोच्च अदालतजस्ता सम्पदामा आगलागी हुनुले व्यवस्था नै सकिएको संकेत गरेको टिप्पणी गरे।
उनले हालैको 'जेनजी' आन्दोलनमा आफू सहभागी हुन खोज्दा रोकिएको र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिँदै भने, 'उहाँले मलाई बचाउनुभयो, नत्र म थुनामा हुन्थें।' यद्यपि, उनले सिंहदरबारमा आगो लाग्दा बालेनका नगर प्रहरीले दमकल पठाउनुको साटो आन्दोलनकारीलाई पानी बाँडेको भन्दै आलोचना गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण