६ वर्षपछि भेट्दैछन् ट्रम्प र सी, व्यापार युद्ध रोकिएला ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले एसिया भ्रमणमा छन् । साताव्यापी भ्रमणका क्रममा ट्रम्प थुप्रै बैठकमा सहभागी हुनेछन् । त्यसमध्ये सबैभन्दा बढी ध्यान चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटले खिचेको छ । किनकि ट्रम्प राष्ट्रपति बनेपछि विश्वका दुई ठूला अर्थतन्त्रबिच व्यापार तनाव बढेको छ । ट्रम्प-सी भेट यसै विषयमा केन्द्रित हुनेछ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) को शिखर सम्मेलनमा सहभागी हुने अमेरिकी राष्ट्रपति ट्रम्प आइतबार मलेसियाको राजधानी क्वालालम्पुर आइपुगे । यसपछि उनी जापान र दक्षिण कोरियाको यात्रामा जानेछन् । ह्वाइट हाउसका अनुसार उनले त्यहाँ चिनियाँ राष्ट्रपति सीसँग भेट गर्नेछन् ।
ट्रम्पको एसिया भ्रमणको मुख्य लक्ष्य नयाँ व्यापार सम्झौता गर्नु रहेको जनाइएको छ । अमेरिकी कम्पनीहरूले नयाँ मौका पाउन्, अनि अतिरिक्त भन्सार महसुल (ट्यारिफ)बाट हुने आम्दानी अमेरिकी राजस्वमा यथावत् रहोस् भन्ने ट्रम्पको उद्देश्य देखिन्छ ।
विश्वव्यापी व्यापारको यस दौडमा धेरै खेलाडी छन् । तर ट्रम्पको सफलता वा असफलताको कुञ्जी चीनको हातमा छ । ट्रम्पले एपेक शिखर सम्मेलनका क्रममा सी जिनपिङलाई भेट्ने कार्यक्रम छ । सन् २०१९ पछि यी दुई नेताबीच पहिलोपटक भेटवार्ता हुँदैछ ।
यस भेटले ट्रम्पको दोस्रो कार्यकालको बाँकी अवधिमा अमेरिका–चीन सम्बन्धको दिशा निर्धारण गर्न सक्छ । चीनबाट आउने सामानमा लगाइएको कठोर ट्यारिफ टिकाउन सकिँदैन भनेर ट्रम्प आफैंले स्वीकार गरेका छन् ।
अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग बढ्दो आर्थिक द्वन्द्वले दुवै देशका लागि मात्र नभई विश्वकै लागि असर निम्त्याउन सक्छ । चीन र अमेरिकाबीचको वार्ता रोकिँदाको असर अमेरिकी सेयर बजारमा परिरहेको छ । त्यहाँको सेयर बजारमा अहिले तीव्र गिरावट आएको छ ।
ट्रम्पले दक्षिण कोरियासँग सम्झौता र जापानबाट प्रतिबद्धता प्राप्त गरेमा उनको यो ठूलो सफलता मानिनेछ । तर उनको प्राथमिक लक्ष्य सीलाई अमेरिकी कृषि उत्पादन पुनः खरिद सुरु गर्न, विदेशी कम्पनीहरूमाथिको नयाँ प्रतिबन्ध कम गर्न, अमेरिकी कम्पनीहरूलाई चिनियाँ बजारमा बढी पहुँच दिन र व्यापार युद्धको मारबाट बच्न चीनलाई मनाउनु हुनेछ । ट्रम्पका लागि यो भ्रमणको मुख्य ध्येय यति हो ।
सीको लामो रणनीति
अक्टोबर ३० मा दक्षिण कोरियामा सी र ट्रम्पको भेट हुनेछ । यतिबेला सी आफूलाई बलियो वार्ताकारको रूपमा प्रस्तुत गर्न चाहन्छन् । दुर्लभ धातुमा चीनको प्रभुत्वको छ । यी यस्ता खनिज हुन्, जो विना सेमिकन्डक्टर, हतियार प्रणाली, सवारी साधन, स्मार्टफोन बनाउन सकिँदैन । यी धातु अमेरिकाको मुख्य कमजोरी हो । चीनसँग यी धातुको प्रचुर स्रोत छन् । यी धातुको निर्यातमा बन्देज गरेर चीनले अमेरिकालाई कमजोर बनाउन खोजिरहेको छ ।

सीले ट्रम्पको पहिलो कार्यकालबाट पाठ सिकेका छन् । यसपटक चीनले ट्यारिफबाट हुने क्षतिको प्रभाव कम गर्ने केही उपाय अपनाएको छ । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले चीनको कुल निर्यातको २० प्रतिशत हिस्सा ओगटेको थियो । तर पछिल्लो समय चीनले यो अनुपात घटाएको छ । अब चीनका लागि अमेरिका पहिले जस्तो महत्त्वपूर्ण बजार रहेन ।
सीले एकातिर अमेरिकासँगको आर्थिक द्वन्द्व र अर्कोतिर घरेलु कठिनाइलाई सन्तुलनमा राख्नु परेको छ । यतिबेला सीले युवा बेरोजगारी, घरजग्गा संकट, बढ्दो स्थानीय सरकारको ऋण र खर्च गर्न हिच्किचाइरहेको जनसंख्या जस्ता समस्या सामना गरिरहेका छन् । ट्रम्पले एड्भान्स एआई चिप्सको निर्यात पुनः सुरु गर्ने वा ताइवानले पाइरहेको सैन्य सहायता कटौती गर्न सहमत भएमा मात्र चीनले कुनै सम्झौता गर्ने विश्लेषकहरू ठान्छन् । तर त्यहाँ पुग्न सजिलो पक्कै हुनेछैन ।
ट्रम्प प्रायः ‘जुवा खेल्न’ र जोखिम लिन इच्छुक देखिन्छन् । तर सी दीर्घकालीन रणनीतिमा खेलिरहेका छन् । ट्रम्पले त्यति लामो समयसम्म पर्खन सक्छन् ? यतिबेलाको मुख्य प्रश्न यही बनेको छ ।
मलेसिया भ्रमणका क्रममा ट्रम्पको रुचि एउटै कुरामा रहेको देखिएको छ, आफ्ना लागि आयोजना गरिएको समारोहमा मुख्य भूमिका निभाउने । ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई देशबीच सीमा विवाद अझै पूर्ण रूपमा समाधान भएको छैन, तर निष्कर्षमा पुग्न दबाबले सीमा क्षेत्रबाट सेना फिर्ता गर्न सहमत भएका छन् । जुलाईमा एकअर्कामाथि बमबारी गरिरहँदा ट्रम्पले ट्यारिफसम्बन्धी वार्ता समाप्त गर्ने धम्की दिएका थिए । त्यसपछि दुवै पक्षले तुरुन्तै युद्धविरामको घोषणा गरे ।
ट्रम्पको उपस्थिति छोटो समयका लागि भएपनि अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउन मद्दत गर्ने आशा बाँकी आसियान सदस्य राष्ट्रको छ । सन् २०२५ उनीहरूका लागि कठिन वर्ष भएको छ । ट्रम्पको ट्यारिफ नीतिले यी देशको निर्यातमा निर्भर अर्थतन्त्रलाई कमजोर बनाएको छ । सन् २०१७ मा ट्रम्पको आसियानको भ्रमणपछि अमेरिकी बजारमा क्षेत्रीय निर्यात दोब्बर भएको थियो । ट्रम्प आएर यो मुद्दा केही मत्थर भयो भने आसियानका नेताहरूले आफ्नै काममा लाग्न सक्नेछन् ।
सूचीमा अर्को मुद्दा पनि छ । यसमा ट्रम्पले खासै ध्यान दिएका छैनन् । त्यो हो म्यानमारको गृहयुद्ध । सन् २०२१ मा भएको सैन्य कूपछि हरेक आसियान बैठकमा यो विषय मुद्दा बनेको छ ।
विश्वको उत्पादनको एक महत्त्वपूर्ण हिस्सा उत्पादन गर्ने एसियाका औद्योगिक केन्द्रहरूले ट्रम्पको करबाट राहत पाउने आशा गरिरहेका छन् । केही देशले सम्झौताहरूलाई अन्तिम रूप दिएका छन् भने अरू अझै वार्तामा छन् । तर कसैले पनि औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका छैनन् । त्यसकारण यदि कुनै सम्झौता कागजमा उत्रियो भने वा कम्तीमा वार्तामा ठोस प्रगति भयो भने यसलाई स्वागत गरिनेछ ।
चीनलाई उदाहरणको रूपमा लिँदा ट्रम्प र सीबीचको बैठकले प्रगतिको संकेत गर्छ, तर दुई नेताले करदेखि निर्यातसम्मका धेरै मुद्दा समाधान गर्न बाँकी छन् । यसबाहेक विश्वका दुई ठूला अर्थतन्त्र एआई र उन्नत प्रविधिमा प्रतिस्पर्धा गरिरहेका छन् ।

दुई देशबीचको तनावमा केही मात्रै कमी आयो भने पनि यसको फाइदा आसियान मुलुकहरुलाई मिल्नेछ । दक्षिणपूर्वी एसिया यसबाट सायद सबैभन्दा बढी प्रभावित छ । उनीहरू इलेक्ट्रोनिक्स जस्ता क्षेत्रमा अमेरिकी आपूर्ति श्रृंखलाको एक महत्त्वपूर्ण हिस्सा हुन्, तर यो चिनियाँ मागमा पनि निर्भर गर्छ । यस क्षेत्रबाट अमेरिकामा हुने निर्यात विगत १० वर्षमा दोब्बर भएको छ । तर १० देखि ४० प्रतिशतको अतिरिक्त भन्सार महसुलले भियतनाम, इन्डोनेसिया, सिंगापुर र थाइल्याण्ड जस्ता देशका उत्पादकलाई गम्भीर असर पार्न सक्छ ।
यसबाट मलेसियामा चिप बनाइरहेका माइक्रोन टेक्नोलोजी जस्ता अमेरिकी चिप कम्पनी पनि प्रभावित हुनेछन् । मलेसियाले गत वर्ष अमेरिकालाई करिब १० अर्ब डलरको सेमिकन्डक्टर बेचेको थियो । यो अमेरिकामा आयात भएको कुल चिपको २० प्रतिशत हो । जापान र दक्षिण कोरिया जस्ता धनी अर्थतन्त्रले सामना गरिरहेको चुनौती फरक छ । यी अमेरिकाका निकट सहयोगी हुन् । जापान र कोरिया ट्यारिफ र लगानीमा दिगो सम्झौतामा पुग्न खोज्नेछन् । दुवै देशका अटोमोबाइल कम्पनीहरू जसका लागि अमेरिका एक प्रमुख बजार हो, पहिले नै यो अस्थिर वातावरणसँग जुधिरहेका छन् ।
ट्रम्पले जापानकी नयाँ प्रधानमन्त्री सानेई ताकाइचीलाई ‘बलियो र बुद्धिमान महिला’ भनेका छन् । यो हप्ता ट्रम्पसँग स्थिर र प्रभावकारी सम्बन्ध निर्माण गर्ने उनको क्षमताको प्रारम्भिक परीक्षण हुनेछ । यसले बदलिँदो विश्वव्यापी परिदृश्यमा जापानको भूमिका कस्तो हुनेछ भन्ने देखाउने छ । संसद्मा आफ्नो पहिलो भाषणका क्रममा ताकाचीले जापानको रक्षा बजेट बढाउने वाचा गरिन् । यसले जापान अब अमेरिकासँग अरु सुरक्षा जिम्मेवारी बाँड्न तयार छ भनेर देखाएको छ । ट्रम्पले पहिले नै यस विषयमा बोलिसकेका छन् । जापानलाई अमेरिकी सेना तैनाथीमा बढी योगदान गर्न दबाब दिने अपेक्षा गरिएको छ । जापानमा यतिबेला विदेशमा तैनाथ सबैभन्दा धेरै अमेरिकी सेना (लगभग ५३ हजार) छन् ।
दुई देश आफ्ना पुराना सम्झौतामा पनि काम गरिरहेका छन् । यो सम्झौता जापानी अटो कम्पनीहरू टोयोटा, होन्डा र निसानका लागि विशेष लाभदायक छ । यसले अमेरिकी बजारमा जापानबाट आउने कारमा लगाइएको अतिरिक्त भनसार महसुल २७ दशमलव ५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा पुर्याउने छ । यस्तो भयो भने बजारमा जापानी कम्पनी चिनियाँ कम्पनीहरूभन्दा बढी प्रतिस्पर्धी हुनेछन् ।
ताकाचीले रयोसेई अकाजावालाई प्रमुख ट्यारिफ वार्ताकारको रूपमा कायम राखेर नीतिगत निरन्तरतामा भरोसा दिलाउन खोजेको देखिन्छ । जापानले औषधि र सेमिकन्डकटरको क्षेत्रमा आपूर्ति शृङ्खला बलियो बनाउन अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने वाचा गरेको छ । जापानले चामललगायत अमेरिकी कृषि उत्पादनको खरिद बढाउने ट्रम्पले बताएका छन् । यो कदमलाई अमेरिकामा स्वागत गरिएको भएपनि जापानी किसानहरू चिन्तित छन् ।

जापानका पूर्वप्रधानमन्त्री स्वर्गीय शिन्जो आबेसँग ताकाचीको घनिष्ठ सम्बन्ध पनि उपयोगी साबित हुन सक्ने मानिएको छ । आबेले ट्रम्पको विश्वास जित्न मार–ए–लागोमा गल्फ खेल्दै गर्दा उनको साथ सम्बन्ध विकास गरेका थिए । ताकाचीले पनि यस्तै व्यक्तिगत कूटनीति प्रयोग गर्ने प्रयास गर्न सक्छिन् ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङका लागि अहिले सबैभन्दा महत्त्वपूर्ण मुद्दा ट्रम्पको ट्यारिफ हो । तर यो सम्बोधन हुनुभन्दा पहिले नै ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनलाई भेट्न सीमामा जान सक्ने अफवाह फैलिएको थियो ।
अगस्टमा लीले ह्वाइट हाउसको ओभल अफिसमा धेरैजसो समय ट्रम्पको प्रशंसा गर्दै बिताए । यस क्रममा उनले ट्रम्पलाई शान्ति निर्माता भने । ट्रम्पले सन् २०१९ पछि पहिलो पटक किमलाई भेट्ने सम्भावनामा पनि उत्साह व्यक्त गरेका छन् । आफूले ट्रम्पलाई मायाले सम्झिने किमले गत महिना भनेका थिए । अमेरिकी राष्ट्रपतिसँग शिखर सम्मेलन गरेर किमले आफ्नो आणविक हतियार कार्यक्रमलाई फेरि एक पटक वैधानिक बनाउन चाहेको विश्लेषकहरूको अनुमान छ । यद्यपि, त्यस्तो बैठकलाई अन्तिम रूप दिने कुनै संकेत छैन ।
उता, लीले हालैका दिनमा व्यापार सम्झौताको वार्ता गर्ने चुनौतीको सामना गरिरहेका छन् । दक्षिण कोरियाली निर्यातमा अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाएको छ । दक्षिण कोरिया यसलाई १५ प्रतिशतमा घटाउन चाहन्छ । तर दक्षिण कोरियाली अधिकारीहरूले बारम्बार अमेरिका भ्रमणको गरेपनि प्रस्तावित वार्ता रोकिएका छन् । यतिबेलाको बाधा दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्नुपर्ने ट्रम्पको माग हो । यो भनेको देशको अर्थतन्त्रको २० प्रतिशत हाराहारी हो । यति ठूलो लगानीले आर्थिक संकट निम्ताउला भन्ने डर दक्षिण कोरियालाई छ ।
यद्यपि वार्तामा ठोस प्रगति भएको र बुधबार ट्रम्प–लीबीच शिखर सम्मेलनको अन्त्यसम्ममा औपचारिक सम्झौतामा हस्ताक्षर हुनसक्ने आशामा कोरियाली अधिकारीहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण