बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
छठ पर्व

आस्थाको महापर्व छठ : शास्त्रगत महत्त्व, विधि र सूर्य उपासनाको वैदिक परम्परा

सोमबार, १० कात्तिक २०८२, ०७ : ०६
सोमबार, १० कात्तिक २०८२

सारांश

  • छठ पर्व मिथिलाञ्चलमा मनाइने एक महत्त्वपूर्ण पर्व हो, जुन सूर्यदेवको उपासना र सामाजिक सद्भावको प्रतीक हो।
  • यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ, जसमा सूर्यलाई अर्घ दिने र विभिन्न विधिहरू गरिन्छ।
  • छठ पर्वले समानता, संयम, र आत्मशुद्धिको सन्देश दिन्छ, र यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व छ।
00:00 / NaN:NaN
Audio By AI

जनकपुरधाम । दीपावली र भाइटीका (भातृद्वितिया) लगायतका पर्वहरू सम्पन्न भएलगत्तै मिथिलाञ्चलमा आस्थाको महापर्व छठको रौनक सुरु भएको छ। मिथिला क्षेत्रका प्रमुख पर्वहरूमध्ये छठको विशेष स्थान छ। यस पर्वको तयारी ५ देखि ७ दिनअघि नै सुरु हुने गर्दछ र कार्तिक शुक्ल चतुर्थी तिथिबाट विधिवत् सुरु भई कार्तिक शुक्ल सप्तमीका दिन बिहान उषा अर्घ दिएर सम्पन्न हुन्छ।

यो पर्वमा मुख्यगरी प्रत्यक्ष देवता सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै विद्यमान छ । छठ पर्वमा गरिब–धनी, ब्राह्मण–दलित, उच्च–निम्न सबै वर्गका मानिसहरू एकैसाथ सहभागी हुन्छन् । सामाजिक विभेद र छुवाछुतजस्ता विकृति हटाउँदै यसले समानता र सद्भावको सन्देश दिने पर्वका रूपमा छुट्टै पहिचान बनाएको छ । संस्कृतिविद् डा. रेवतीरमण लालका अनुसार, “छठ त्यो विशुद्ध वैदिक संस्कार हो जसले समाजमा समानता, संयम र आत्मशुद्धिको अभ्यास गराउँछ।”

  • छठ पर्वको विधि

छठ पर्वमा सप्तमी युक्त षष्ठी तिथिमा मुख्य व्रत लिने परम्परा छ । सूर्य देवतालाई पहिलो अर्घ सोही दिन साँझमा अर्पण गरिन्छ, जसलाई मैथिली भाषामा ‘सँझुका अर्घ’ भनिन्छ । त्यसैगरी, भोलिपल्ट बिहान सूर्योदयको समयमा दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ ।

छठ पूजामा साँझ सूर्यलाई अर्पण गरिएका प्रसादहरू सामान्यतः जलाशयमै राखिन्छन्, तर कतिपय ठाउँमा असुरक्षाका कारण राति घरमा ल्याइ बिहान पुनः घाटमा लगिने गरिन्छ । जनकपुरधाम उपमहानगरपालिका–४ की व्रती शिलादेवी साह भन्छिन्, “छठ केवल पूजा मात्र होइन, यो आत्मसंयम र श्रद्धाको अभ्यास हो । व्रती व्यक्ति बिहानदेखि रातिसम्म चोखो शरीर, शुद्ध मन र पूर्ण आस्थाका साथ पूजा गर्छन्।”

  • चारदिने विधि र संयमको अभ्यास

छठ पर्व चार चरणमा पूर्ण हुन्छ, जसले व्रतीमा संयम र आत्मशुद्धि बढाउँछ।

१. नहाय खाय (चतुर्थी):

व्रतालुहरू नुहाईधुवाई गरी घर र शरीर सफा गर्छन् । यस दिन चोखो (सात्त्विक) अन्न, दाल र लौका–भात खाइन्छ । यही दिनबाट छठ पर्व औपचारिक रूपमा प्रारम्भ हुन्छ ।

IMG-20251027-WA0009

२. खरना (पञ्चमी):

यो दिन दिनभर उपवास (व्रत) गरी साँझमा नयाँ माटोको चुल्होमा दूध, चामल र सख्खर (गुड) बाट खीर पकाइन्छ । यसलाई देवी–देवताहरूलाई अर्पण गरी परिवारसँग थोरै मात्रामा ग्रहण गरिन्छ । मिथिलाञ्चलमा यस विधिलाई “खरना” भनिन्छ ।

३. सन्ध्या अर्घ (षष्ठी):

यस दिन महिला तथा पुरुषहरू अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिन्छन् । व्रतालुहरू पोखरी, नदी वा तलाउको किनारमा फलफूल, नारिवल, ठकुवा, भुसवा, उखु आदि लिएर उपस्थित हुन्छन् । जलमा उभिएर सूर्य आराधना गर्ने यो क्षण अत्यन्त पवित्र मानिन्छ ।

४. भोरका अर्घ (सप्तमी):

भोलिपल्ट बिहान सूर्योदयको बेला पुनः अर्घ दिइन्छ । यसपछि व्रतालुहरू घर फर्की पारण (व्रत तोड्ने विधि) गर्छन् । त्यसैसाथ चारदिने छठ पर्व सम्पन्न हुन्छ ।

IMG-20251027-WA0011

  • विधिपूर्वक पूजा र मन्त्र उच्चारण

छठको दिन व्रतालुहरूले विशेष मन्त्र उच्चारण गर्दै सूर्यदेवलाई जल अर्पण गर्छन्:

“नमेऽद्य कार्तिक मासीय शुक्ल पक्षे षष्ठम्यां तिथौ (गोत्र नाम उच्चारण गरी) जन्मजन्मान्तरार्जित ज्ञाताज्ञात कायिक वाचिक मानसिक सकल पापकामावाप्ति काम अद्य प्रातश्च सूर्यायार्घमहं दास्ये।”

तत्पश्चात् व्रतालुले जल, अक्षत, दुबो, रातो फूल र चन्दनसहित सूर्यलाई नमस्कार गर्दै प्रार्थना गर्छन् —

“नमो भगवते श्री सूर्यनारायणाय नमः”

“नमोस्तु सूर्याय नमः”

यसपछि प्रसाद र पूजा सामग्री सूर्यतर्फ अर्पण गरी व्रतालुहरू घाटमा कथा सुन्ने परम्परा रहेको छ ।

षष्ठी देवीको पूजा र वैदिक अर्थ

छठ केवल सूर्य पूजासम्म सीमित छैन, यसमा षष्ठी देवीको आराधना पनि मुख्य अंश हो । धर्मग्रन्थ अनुसार षष्ठी देवी प्रकृतिको छैटौँ अंश हुन्, जसले सम्पूर्ण जीवको रक्षा गर्छिन् । ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतले सन्तान प्राप्तिका लागि षष्ठी देवीको पूजा आरम्भ गरेका थिए । त्यसबेलादेखि नै मिथिलाञ्चलमा उनलाई “छठी माता” भनेर सन्तान र सृष्टिको रक्षाकर्ता देवीको रूपमा पूजा गरिन्छ ।

कतिपय शास्त्रमा षष्ठी देवीलाई सूर्यकी माता पनि भनिएको छ । यसैले छठ पर्वलाई “मातृत्व र प्रकृतिको पर्व” पनि भनिन्छ ।

  • छठको पौराणिक महत्त्व

रामायणकालीन प्रसङ्ग:

लंका विजयपछि रामराज्यको स्थापनाका अवसरमा भगवान राम र माता सीताले कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको आराधना गरी उपवास बसेका थिए । सप्तमीको बिहान अनुष्ठान गरेर सूर्यदेवबाट आशीर्वाद प्राप्त गरे । यही दिनबाट छठ पर्वको परम्परा सुरु भएको विश्वास गरिन्छ ।

IMG-20251027-WA0010

महाभारतकालीन प्रसङ्ग:

सूर्यपुत्र कर्णले पनि सूर्य उपासनाको परम्परा सुरु गरेका थिए । उनी हरेक दिन नदी वा पोखरीमा जलमा उभिएर सूर्यलाई अर्घ दिने गर्थे । सूर्यको कृपाले उनी अतुलनीय शक्ति र तेजका धनी बनेको मानिन्छ । त्यस्तै, पाण्डव पत्नी द्रौपदीले आफ्ना परिवारजनको स्वास्थ्य र दीर्घायुका लागि सूर्य उपासना गर्ने गर्थिन् । यसरी छठ पर्व केवल मिथिलाञ्चलको नभई सम्पूर्ण भारतीय सभ्यताको आध्यात्मिक धरोहर बन्न पुग्यो ।

सामाजिक, सांस्कृतिक र वैज्ञानिक पक्ष

छठ पर्वले सामाजिक समावेशिता र समानताको बलियो सन्देश दिन्छ । जात, वर्ग, लिङ्ग र सम्प्रदायको विभेद बिना सबैले एउटै घाटमा पूजा गर्छन्, जुन यस पर्वको मूल आत्मा हो ।

सांस्कृतिक रूपमा, छठको तयारी गाउँ–सहरभर उत्सवका रूपमा हुन्छ । पोखरी, नदी, घाटहरू सरसफाइ गरी बत्ती र दीयाले सजाइन्छ । “काँचा ही बाँस के बहँगिया” र “उठ हे सूरज देव” जस्ता मिथिला लोकगीतहरूले वातावरण भक्तिमय बनाउँछ ।

वैज्ञानिक दृष्टिले हेर्दा पनि छठको महत्त्व गहिरो छ । सूर्यको किरण (पराबैजनी किरण) ले शरीरलाई भिटामिन ‘डी’ प्रदान गर्नुका साथै जलमा डुबेर ध्यान गर्दा मानसिक शान्ति र एकाग्रता बढ्छ । यसैले यो पर्व योग, ध्यान र प्रकृतिसँगको एकात्मताको साधना पनि हो ।

निष्कर्ष

छठ पर्व वैदिक परम्परादेखि आजसम्म निरन्तर जीवित रहेको आस्थाको उज्यालो दीप हो । यो केवल पूजा मात्र होइन, संयम, श्रद्धा र सामूहिकताको अभ्यास हो, जसले सूर्य, जल, माटो र मन — यी सबै तत्त्वहरूलाई जोड्दै मानव र प्रकृतिबिचको सम्बन्धलाई मजबुत बनाउँछ । छठ पर्व साँच्चै आस्थाको महापर्व हो, जहाँ भक्त मन, माटो र सूर्यप्रति नतमस्तक भई जीवनमा प्रकाश र ऊर्जा माग्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप