शीतभण्डार नहुँदा किसान मर्कामा
सारांश
- कञ्चनपुरको शुक्लाफाँटाका किसान शीतभण्डारको अभावले कृषिजन्य वस्तु भण्डारण गर्न नसकेर मर्कामा परेका छन्।
- शीतभण्डार नहुँदा किसानले तरकारी भण्डारणका लागि कैलाली लैजानुपर्ने र बीउ खरिदमा दोब्बर मूल्य तिर्नुपरेको छ।
- स्थानीय तहले मिनी शीतभण्डार स्थापना गर्नुपर्ने र यसका लागि पालिका र कृषि शाखाले सहकार्य गर्ने कुरा गरेका छन्।
कञ्चनपुर । शीतभण्डार (कोल्डस्टोर) को अभाव हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान मर्कामा परेका छन् । जिल्लामा एकमात्र निजी क्षेत्रबाट सञ्चालित शीतभण्डार बन्द भएपछि किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारणमा समस्या भएको हो ।
तरकारी उत्पादनमा संलग्न किसानले आलु, काउली, बन्दागोभीलगायत मौसमी बाली राख्ने ठाउँ नहुँदा बिक्री, व्यवस्थापनमा कठिनाइ भोग्नु परेको गुनासो गरेका छन् । व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका किसान सबैभन्दा बढी प्रभावित बनेका हुन् ।
अगुवा किसान चेतराज चौधरीका अनुसार जिल्लामा शीतभण्डार नहुँदा तरकारी भण्डारण गर्न कैलालीतर्फ लैजानुपर्ने बाध्यता रहेको बताए । “टाढाको शीतभण्डारमा तरकारी पुर्याउँदा ढुवानी खर्च बढी लाग्छ, त्यसपछि भण्डारण शुल्क पनि तिर्नुपर्छ, बजारमा लैजाँदा लागत धेरैपर्ने भएकाले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ”, उनले भने।
कृषक चामबहादुर डगौरले विगतमा शीतभण्डार हुँदा आलुको बीउ सुरक्षित राख्न सजिलो भएकामा अहिले त्यो सुविधा नहुँदा बाह्य क्षेत्रबाट महँगो दरमा बीउ खरिद गर्नुपरेको बताए । “घरमै राख्दा आलु कुहिने भएकाले उत्पादन भएका बेला सस्तोमा बेच्न बाध्य भयौँ, अहिले दोब्बर मूल्यमा बीउ किन्नुपरेको छ”, उनले गुनासो गरे ।
शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानको हितका लागि स्थानीय तहले पालिकास्तरमै मिनी शीतभण्डार स्थापना गर्नुपर्ने बताए । यसका लागि कार्यपालिका बैठकमा कुरा राख्ने प्रतिबद्धता उनले व्यक्त गरे । “एक गाउँ एक मिनी शीतभण्डारको व्यवस्था गर्न सके किसानले उत्पादन सुरक्षित राखेर उचित मूल्यमा बिक्री गर्न सक्नेछन्”, उनले भने, “त्यसका लागि सबै पालिकाले चासो दिनुपर्छ ।”
शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरले तरकारी उत्पादनमा लागेका किसानका लागि शीतभण्डार आवश्यक रहेको बताए। “शीतभण्डार अभावले किसानलाई समस्या परेको हामीले बुझेका छौँ”, उनले भने, “पालिकाले सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी मिनी शीतभण्डार स्थापनाको योजना अगाडि बढाउनु उत्तम हुन्छ, त्यसका लागि शाखाकोतर्फबाट हुने सहयोगका लागि तत्पर छौँ ।”
उनका अनुसार पालिकाभित्र तरकारी उत्पादन विस्तार हुँदै गए पनि भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । समयमै आवश्यक पूर्वाधार निर्माण गर्न नसकिए किसान निरुत्साहित हुने खतरा रहेको उनको भनाइ छ ।
नगरपालिकाले प्रत्येक वर्षको नगरसभाबाट शीतभण्डार निर्माणका लागि बजेट विनियोजन गर्दै आए पनि स्थान छनोट गर्न नसक्दा कार्य अगाडि बढाउन सकेको छैन । स्थान छनोट नहुँदा प्रत्येक वर्ष विनियोजन गरेको बजेट थन्किने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण