बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हिमपातले पर्यटकीय गतिविधि प्रभावित छ, यात्रा नगर्नू – टान

मङ्गलबार, ११ कात्तिक २०८२, २० : ३७
मङ्गलबार, ११ कात्तिक २०८२

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ

टानका अध्यक्ष सागर पाण्डेले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार अहिले पश्चिमी वायु र अरव सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएकाले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन आग्रह गरेका हुन् । 

मौसम पूर्वानुमान अनुसार नै हाल डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथालगायत पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपात समेत सुरु भई सम्पूर्ण पर्यटकीय गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ ।

अध्यक्ष पाण्डेले कतिपय स्थानमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेकाले मौसममा सुधार नआउञ्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्न/नगराउन, पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई अनुरोध गरे । 

टानले उद्धारलगायत कार्यका लागि सहजीकरण तथा समन्वय गर्न स्थानीय सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकाय, संरक्षण क्षेत्रका व्यवस्थापक, टान गण्डकी तथा टान केन्द्रीय कार्यालयलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप