शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इनरुवा–पूर्णिया र लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल र भारतबिच सम्झौतामा हस्ताक्षर

बुधबार, १२ कात्तिक २०८२, १३ : ०८
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • नेपाल र भारतबीच दुई थप अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ।
  • इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना हुनेछ।
  • प्रसारण लाइन निर्माणले नेपालको विद्युत् निर्यातमा टेवा पुग्नेछ र दुई देशबीचको ऊर्जा व्यापार बढ्नेछ।

नयाँ दिल्ली। नेपाल र भारतबीच थप दुईवटा महत्त्वपूर्ण अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने बाटो खुलेको छ। इनरुवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा आज नयाँ दिल्लीमा हस्ताक्षर भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा बुधबार यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। संयुक्त लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि नेपाल र भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्ने बाटो खुलेको छ।

निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ। भारतीय खण्डमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ। नेपाली खण्डमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ। दुवै लाइनको निर्माण सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Fullscreen capture 10292025 10654 PM

  • नेपालको विद्युत् निर्यातमा ठुलो टेवा

मन्त्री घिसिङले यी थप दुईवटा क्रस बोर्डर प्रसारण लाइनको निर्माण अगाडि बढ्नु द्विदेशीय एवं क्षेत्रीय विद्युत् व्यापारका लागि अर्को महत्त्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गरे।

उनले अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबिच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत् निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्‍याउने र नेपालको जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने विश्वास व्यक्त गरे।

भारतीय विद्युतमन्त्री खट्टरले यी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि नेपाल–भारतबीचको विद्युत् विनिमयलाई सारभूत रूपमा थप सुदृढ हुनुका साथै क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार आई सुदृढ ग्रिड बन्ने र यसले दुवै देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उल्लेख गरे।

  • प्रसारण लाइनको विवरण र लागत अनुमान

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि हाल ४०० केभीको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन सञ्चालनमा छ भने बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ। प्राधिकरणले हाल ४०० र १३२ केभी प्रसारण लाइन संरचना प्रयोग गरी भारत एवम् बङ्गलादेशतर्फ दैनिक रूपमा एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्ली आएका मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच बुधबार भेटवार्ता भएको छ।

विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबिचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति, र दुवै देशबिच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप