रगत लागेको ज्याकेटले खुल्यो हत्याको रहस्य
सारांश
- कर्णालीमा आयोजित भुवा जात्रामा गएका २१ वर्षीय भुवन धमलाको हत्या भएको छ।
- भतिज हेमन्त धमलाले मदिरा सेवनपछि विवाद हुँदा काका भुवनको हत्या गरेको स्वीकारेका छन्।
- प्रहरीले हेमन्तलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ, तर घटनामा अन्यको संलग्नताको आशंका पनि छ।
सुर्खेत । कर्णालीमा तिहार आसपासमा लाग्ने परम्परागत भुवा जात्रा यस वर्ष पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१०, घाटगाउँमा कात्तिक ३ गते राति लाग्यो । रमाइलोका लागि सोही जात्रामा पुगेका चौकुने गाउँपालिका–७, गुटुका २१ वर्षीय भुवन धमला घर फर्किन पाएनन् ।
भतिज नाता पर्ने २० वर्षीय हेमन्त धमलासँगै उनी जात्रा हेर्न गएका थिए । कात्तिक ३ गते राति भुवा जात्रा हेर्न गएका भुवन ४ गते बेलुकासम्म पनि घर फर्केनन् ।
जात्रामा गएका अरु सबै फर्किंदासमेत भुवन नफर्किएपछि परिवारजनले रातभर खोजी गरे, तर कतै पत्ता लागेन । अन्ततः परिवारले भुवन बेपत्ता भएको भन्दै ईलाका प्रहरी कार्यालय बाबियाचौरमा निवेदन दियो । भुवनको खोजीमा प्रहरी र आफन्तहरू दिनरात खटिए ।
तीन दिनको लगातार खोजीपछि कात्तिक ७ गते दिउँसो चौकुने गाउँपालिका–१०, तामाधारा खोलाको ताताथाई भन्ने स्थानमा भुवनको शव फेला प¥यो । उनको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक थिए । त्यसैले उनको हत्या भएको बुझ्न प्रहरीलाई कठिन भएन ।
घटनास्थल पुगेको प्रहरीले तत्कालै सुक्ष्म अनुसन्धान सुरु ग¥यो । शवको प्रकृति र घटनास्थल वरपरको अध्ययनबाट यो हत्या नै भएको निष्कर्षमा प्रहरी पुग्यो । अनुसन्धान गर्दै जाँदा भुवनसँगै जात्रा हेर्न गएका उनकै भतिज हेमन्त धमला (गाउँमा हिरा प्रसाद धमला भनेर पनि चिनिने) ले नै उनको हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले रातोपाटीलाई बताए ।
बुढ्थापाका अनुसार अनुसन्धानका क्रममा हेमन्तको ज्याकेटमा रगत लागेको फेला प¥यो । सोही क्लुबाट भुवनको हत्या उनैले गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको उनले बताए ।
सुरुमा घटनाबारे जानकारी लुकाउन खोजेका हेमन्तको व्यवहार शङ्कास्पद देखिएपछि प्रहरीले उनलाई निगरानीमा राख्यो । स्थलगत, प्राविधिक र अन्य प्रमाणहरू जुटाउँदै जाँदा हेमन्तले नै भुवनको हत्या गरेको ठम्याउन कठिन नभएको उनको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक बुढ्थापाका अनुसार भुवन र हेमन्तबिच कात्तिक ३ गते राति जात्रामा मदिरा सेवनपछि मोबाइल र पैसाका विषयमा सामान्य विवाद सुरु भएको थियो ।
‘उनीहरूबिच झगडा भयो, दुवैले कुटपिट गरेको देखिन्छ,’ बुढ्थापाले रातोपाटीसँग भने, ‘चोट त हेमन्तलाई पनि लागेको छ ।’ विवाद बढ्दै जाँदा राति १२ बजेतिर मदिराले लठ्ठ परेका हेमन्तले काका भुवनलाई निर्घात कुटपिट गरे । मदिराको सुरुमा भएको सोही कुटपिट भुवनको ज्यान लिने कारण बनेको प्रहरीको निष्कर्ष छ ।
भुवन प्रायः रोजगारी गरेर घर परिवार चलाउँथे । नजिकिँदै गरेको तिहारमा दिदीको हातबाट टीका लगाउने उनको सपना भुवा जात्रामै बिलायो । उनकी एउटी दिदी छन् । मेलामा रमाइलो गर्न गएका भुवनको यसरी अकालमा ज्यान गएपछि उनको परिवार शोकमा डुबेको छ ।
मृतकका आफन्तले हेमन्तकै नाममा किटानी जाहेरी दिएका छन् । प्रहरीले हेमन्तलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी बुधबार म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ ।
यद्यपि चौकुने गाउँपालिका—७, का वडाध्यक्ष धनिराम धमला भने घटनाबारे अझै अनुसन्धान हुनुपर्ने बताउँछन् । उनका अनुसार, हेमन्तले बयान दिँदा फरक–फरक दिइरहेको छ । घटनामा अरु पनि सहभागी भएको हुनसक्ने उनको भनाइ छ ।
‘भुवनको लास जहाँ छ, त्यो भन्दा १० मिटर नजिकै उसको जुत्ता, लाइटर र ५ मिटर दक्षिणतिर उसको मोबाइल खसेको छ,’ उनले भने, ‘टोपी पनि नजिकै भेटिएको छ ।’
घटनामा अन्यको पनि संलग्नता हुनसक्ने धमला बताउँछन् । ‘रहस्यमय छ, हेमन्त एक्लैले हत्या ग¥यो होला भन्न पनि सकिन्न । एक्लैले गरेन होला भन्न पनि सकिने अवस्था छैन,’ उनले भने, ‘उसको जुत्ता, टोपी, मोबाइल र लाइटर ल्यापमा परीक्षण गरेर थप अनुुसन्धान हुन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण