बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

शिक्षिका आत्महत्या प्रकरण : ​शिक्षा अधिकृतले दिएका थिए विवाह नगरे मार्ने धम्की

बुधबार, १२ कात्तिक २०८२, २० : ०८
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • बाजुराको विद्यालयमा शिक्षकको रूपमा कार्यरत एक महिलाले विवाहको दबाब सहन नसकेर आत्महत्या गरिन्।
  • मृतकले सुसाइड नोटमा शिक्षा अधिकृतले विवाहको लागि दबाब दिएको र धम्की दिएको उल्लेख गरेकी छिन्।
  • प्रहरीले शिक्षा अधिकृतलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ, जसले परिवार र साथीहरूलाई स्तब्ध बनाएको छ।

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका– ५ स्थित भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहको गणित शिक्षकका रूपमा कार्यरत २७ वर्षीया जानकी खड्काले विवाहको दबाब झेल्न नसकी आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख गरेकी छिन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ घर भएकी र कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत जानकीले मृत्युअघि लेखेको पत्रमा आफ्ना बुबा र भाइलाई सम्बोधन गर्दै पीडा पोखेकी छन् । उनले लेखेकी छिन्, ‘आदरणीय ड्याडी, सरी म हजुरको सपना पूरा गर्न सकिनँ । मैले दबाब झेल्न नसकेरै यो बाटो रोजेकी हुँ ।’

विवाह नगरे मार्ने धम्की

जानकीले जिल्ला शिक्षा समन्वय एकाइ डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलले आफूलाई विवाहका लागि निरन्तर दबाब दिएको खुलासा गरेकी छिन् । 

सुसाइड नोटअनुसार, रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकीसँग साथी बनेका थिए र त्यसपछि लगातार मानसिक तनाव दिन थालेका थिए । विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीपलाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्की दिएका थिए । यस धम्कीले जानकी थप त्रसित बनेको पत्रमा उल्लेख छ ।

जानकीले पत्रमा लेखेकी छन्, ‘न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने । बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ ।’

अनुसन्धानका लागि शिक्षा अधिकृत पक्राउ

विद्यालय तहदेखि नै सधैँ प्रथम हुँदै आएकी र नेपाल सरकारको अधिकृत बन्ने सपना बोकेकी जानकीले कार्तिक १० गते घरभन्दा करिब ७ सय मिटर टाढा खोला किनारको रुखमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

घटनापछि उनका बुबा चक्रबहादुर खड्काले विद्यालय निरीक्षक गणेशबहादुर रावलविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका थिए । प्रहरीले कार्तिक ११ गते रावललाई पक्राउ गरी म्याद थप अनुमति लिएर विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

जानकीको अकल्पनीय निधनले उनको परिवार, साथीभाइ र शैक्षिक क्षेत्र स्तब्ध भएको छ । उनका साथीहरूले एक असल र जेहेन्दार साथी गुमाएकोमा दुःख व्यक्त गर्दै यस्तो निर्णय लिन बाध्य बनाउनेलाई कडा कारबाहीको माग गरेका छन् ।

डोटीकी सञ्चारकर्मी सरिता कठायतले यो घटनाले महिलामाथि हुने मानसिक र सामाजिक दबाबको डरलाग्दो तस्बिर प्रस्तुत गरेको बताउँदै न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप