बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड–माधवबिच एकताको तयारी, झलनाथ र घनश्यामको ‘अब्जेक्सन’

माधवले पार्टीलाई दक्षिणपन्थी हुँदै विसर्जन र विलयको बाटोमा लैजानुभयो : झलनाथ
बिहीबार, १३ कात्तिक २०८२, १६ : ५७
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग पार्टी एकताको तयारीमा छन्, तर केही नेताहरूले विरोध जनाएका छन्।
  • एकताको विपक्षमा रहेका नेताहरूले पार्टी पुनर्गठन वा एमालेसँग एकताको विकल्प खोजिरहेका छन्।
  • अध्यक्ष नेपालले फागुन २१ को निर्वाचनअघि माओवादीसँग एकताको घोषणा गर्ने तयारी गरेका छन्।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहेका बेला पार्टीका केही नेताहरू भने तत्काल माओवादीसँग हुने एकताको विपक्षमा उभिने भएका छन् । एकताको विपक्षमा उभिने तयारी गरेका नेताहरूले एकीकृत समाजवादी नै पुनर्गठन गर्ने वा एमालेमा समाहित हुने भन्नेबारे आन्तरिक छलफल जारी राखेका छन् ।

एमालेसँग विद्रोह गरेर २०७८ सालमा गठन भएको एकीकृत समाजवादीमा माओवादीसँग पार्टी एकता गर्नुपर्छ भन्नेमा अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसालसहित बहुमत केन्द्रीय कमिटीका सदस्य रहेका छन् भने यही पार्टी पुनर्गठन वा एमालेसँग एकता गर्नुपर्छ भन्नेमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्री लगायत अल्पमत सदस्य रहेका छन् । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । खनाल भुसालसँग करिब एक सय भन्दा बढी केन्द्रीय सदस्य रहने बताइएको छ ।

बुधवार सुरु भएको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी भएको सङ्केत गरेपछि यसअघि पार्टी पुनर्गठन भन्दै आएको तर सारमा माओवादीसँग भन्दा एमालेसँग एकता गर्नुपर्छ भन्ने चाहानामा रहेको अल्पमत पक्षले एकताको आधार तय भइनसकेको भन्दै विरोध गर्ने तयारी गरेको छ । 

उक्त पक्षले केन्द्रीय कमिटीको दोस्रो दिन आज बिहीबारदेखि  हुने अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता बेदुराम भुसालको पार्टी एकताका सम्बन्धमा भएको छलफल र प्रगतिबारेको ब्रिफिङमा आधारित रहेर ‘प्रतिवाद’ गर्ने रणनीति अख्तियार गरेको बताइएको छ । अल्पमत पक्षले विरोध गरेपनि अध्यक्ष नेपाल माओवादीसँगको एकता रोक्ने पक्षमा छैनन् ।

‘अध्यक्ष नेपाल अव पार्टी एकताको बेग रोक्ने पक्षमा हुनुहुन्न’, नेपाल निकट एक नेताले भने, ‘एकतामा जान चाहने जान्छन्, नजाने छुट्छन् भन्ने निश्चित रहेको छ ।’

एकीकृत समाजवादीले विचार मिल्ने पार्टीहरूसँग एकताका लागि वार्ता गर्न नेता बेदुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो । संयोजक भुसालले बुधवारको बैठकमा पार्टी एकताका लागि पाँच वटा दलसँग छलफल भएको भन्दै प्रगति विवरण सुनाएका थिए । त्यसक्रममा उनले माओवादी र महिन्द्र यादव नेतृत्वको नेसापासँग एकताको गृहकार्य अन्तिम चरणमा पुगेको ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले ती दुई पार्टीसँग सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा प्राय: सबै विषय मिलेको भन्दै पार्टीको नाम, चुनाव चिह्नलगायतमा अन्तिम निर्णय गर्न बाँकी रहेको बैठकलाई जानकारी गराएका थिए ।

नेता भुसालले माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) वा नेकपा समाजवादीमध्ये एक नाम राख्ने राख्ने लगभग सहमति भइसकेको बैठकलाई जानकारी गराएका थिए ।

त्यस्तै एकीकृत पार्टीको चुनाव चिह्न तारा वा कलम मध्ये एक रहने पनि भुसालको भनाइ थियो ।

त्यस्तै एकीकृत पार्टीको केन्द्रीय नेतृत्वमा संयोजक वा सहसंयोजक रहने र ती पदमा क्रमशः पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल रहनेगरी छलफल चलिरहेको पनि भुसालको ब्रिफिङ रहेको थियो । पार्टी एकताको ६ महिनाभित्र एकताको सम्मेलन गर्ने र उक्त सम्मेलनबाट नयाँ कार्यसमिति चयन गर्नेगरी छलफल भइरहेको नेताहरूको भनाइ छ ।

यसअघि केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एकताका लागि आधारभूत केही विषय अघि सार्दै विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँगको एकतामा ढिलाइ गर्न नहुने आशयको राजनीतिक प्रतिवेदन नै पेस गरेका थिए । नेताहरूका अनुसार अध्यक्ष नेपाल फागुन २१ को चुनावका लागि दल दर्ताको समय कात्तिक ३० अगावै माओवादीसँग एकता घोषणा गर्ने तयारीमा छन् ।

तर सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपालले पार्टीलाई क्रान्तिकारी बनाउनुको साटो विसर्जन र विलयको बाटो लिएकाले माओवादीसँगको एकतामा आफूहरू सहमत नहुने बताए ।

‘नेकपा एकीकृत समाजवादी एमालेसँग विद्रोह गरेर बनेको पार्टी हो । यो पार्टी क्रान्तिकारी पार्टी बन्ला भन्ने हामीलाई थियो । तर माधवजीले यो पार्टीलाई दक्षिणपन्थी कार्यदिशा र दलाल पुँजीवादपरस्तका रूपमा अगाडि बढाउँदै ल्याउनुभयो’, सम्मानित नेता खनालले रातोपाटीसँग भने, ‘अहिले आएर त यो पार्टीलाई उहाँले विसर्जन र विलयको बाटोमा पुर्‍याउनुभयो । यसमा हाम्रो सहमति रहँदैन ।’

माओवादीसँग पार्टी विलीन गराएर पार्टी समाप्त र विभाजन समेत गराएको बताए । खनालले भने, ‘माओवादीसँग सती जानेबाहेक अरू यही पार्टीमा रहन्छन् ।’

यसअघि सो पार्टीका एक पदाधिकारीले माओवादीसँग पार्टी एकता भए तीन टुक्रा हुने विश्लेषण सुनाएका थिए ।

रातोपाटीसँगको अनौपचारिक कुराकानीमा ती नेताले भनेका थिए, ‘माधवजी हाम्फाल्नुभयो भने एकीकृत समाजवादी तीन टुक्रा हुने निश्चित छ । एक टुक्रा माओवादीसँग जाने, एक टुक्रा एमालेसँग जाने र अर्को यही पार्टीलाई कायम गर्ने अवस्था रहन्छ ।’

नेपालमाथि प्रश्न उठाउँदै आएका खनाललगायतका नेताहरूले बिहीबारको बैठकमा आफ्ना कुरा कडा ढंगले राख्ने तयारी गरेका छन् । त्यसका लागि नेता खनाल र महासचिव भुसालले पहिला बोल्नेछन् । माधव नेपाल समूहबाट एकताको पक्षधर राजेन्द्र पाण्डे र जगन्नाथ खतिवडाले बोल्नेछन् । चार नेताले धारणा राखेपछि अन्य केन्द्रीय सदस्यलाई बोल्न फ्लोर ओपन गर्ने तयारी छ ।  

बैठकको पहिलो दिन अध्यक्ष नेपालले एकताको विपक्षमा रहेका नेताहरूलाई जवाफ दिँदै विद्रोहको औचित्य छैन भन्ने नेताहरू ओलीसामु लम्पसार परेको जवाफ दिएका थिए । ‘विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु हो, यसो भन्नेहरू गए हुन्छ’ अध्यक्ष नेपालको प्रस्ट सन्देश थियो । त्यतिमात्रै होइन अध्यक्ष नेपालले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचनको विकल्प नभएकाले त्यसअघि पार्टी एकता गरेर अघि बढ्दामात्र चुनावमा नतिजा हासिल हुने सन्देश बैठकमा दिएका थिए । साथै उनले वर्तमान सरकार निर्माणमा आफ्नो समेत भूमिका रहेको बताएका थिए । तर अध्यक्ष नेपालको उक्त भनाइप्रति नेता रामकुमारी झाँक्री र दामोदर अर्यालले सार्वजनिक रूपमै खण्डन गरेका छन् ।

‘यो सरकार असाधारण बिध्वंस र संविधानलाई घाइते बनाएर निर्माण भएको हो । यो सरकारमा आन्दोलनकारीहरूको प्रतिनिधित्व पनि छैन । त्यसबाहेक समयमै चुनाव हुन्छ भन्ने कुराको समेत कुनै ग्यारेन्टी छैन’, नेता दामोदर अर्यालले नेपाललाई जवाफ दिँदै सामाजिक सञ्जालमा बिहीबार लेखेका छन् ।

‘त्यसकारण यो सरकार निर्माणमा मेरो पनि भूमिका छ भनेर कसैले गौरववोध नगरे हुन्छ’, अर्यालको पोस्टमा नेतृ रामकुमारी झाँक्रीले कमेन्ट गर्दै भनेकी छन्, ‘मान्छेहरू कसरी बाँच्छन् भन्ने सन्दर्भ एउटा भनाई छ ः मान्छेहरूलाई बाँच्न जीवनमा ऊर्जा चाहिन्छ त्यो ऊर्जा २५% खुराकबाट, २५% प्रेमले र बाँकी ५०% भ्रमबाट प्राप्त हुन्छ र । यस्तै हो कमरेड ।’

पार्टीका वरिष्ठ उपाध्यक्ष तथा  एकताको पक्षमा रहेका राजेन्द्र पाण्डेले ‘मेरो के हुन्छ ?’ भन्ने मानसिकताका कारण केहीले एकताको विरोध गरेपनि पार्टी कमिटीमा स्पष्ट आइनसकेकाले यसै हुन्छ भन्न नसकिने बताएका छन् ।

‘बाहिर बाहिरको कुराले केही हुँदैन, बैठकमा छिचोलिएर आउला’, पाण्डेले भने, ‘अहिले मेरो के हुन्छ ? भनेर सोच्ने बेला होइन भन्ने मेरो बुझाई हो ।’ पाण्ड आफै माओवादीको व्यवहार र कार्यशैलीको विरोध गर्ने नेता हुन् । ‘अव त्यो सोचेर बसेर एक्लै बस्दा हामी बिलाएर जानसक्छौ’, पाण्डेले रातोपाटीसँग भने,‘जनताले हामीसँग पावर के छ ? भन्ने बेला आएको छ ।’

पार्टीका बहुमत सदस्य माओवादीसँग एकताको पक्षमा रहेपनि अल्पमत पक्ष यही पार्टीमा बस्ने सङ्केत देखिएको छ नि ? भन्ने प्रश्नमा पाण्डेले अस्वीकार गर्न सकेनन् । उनले भने, ‘त्यो पनि ठिकै छ । तर हामी कति नयाँपन दिएर जानसक्छौँ त्यसमा पनि भर पर्ला ।’

पार्टीको नाम, चुनाव चिह्न र कार्यक्रम आफूहरूले भन्दै आएको लागू भयो भने अलग बस्नु जरुरी नरहेको पाण्डेको भनाइ छ ।

‘हामी यसैगरी बसिरह्यौँ भने अबको ५ वर्षमा नेपालको कम्युनिस्ट आन्दोलन अरू धेरै टुक्रा हुन्छ र केही गर्न नसक्ने पश्चिम बङ्गालको भारतीय कम्युनिस्ट पार्टी (भाकपा) को हैसियतमा पुग्छ’, पाण्डेको भनाइ छ । पश्चिम बङ्गालमा कुनै समय भाकपाको जगजगी रहेको थियो । त्यसवेला भाकपाको झन्डै ५३ सिट लोकसभामा थियो तर पछिल्लो समय उसको शक्ति अत्यन्त कमजोर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप