बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

कांग्रेसमा महाधिवेशन बहस : मंसिर-पुसमा होइन, फागुन वा वैशाखतिर !

मङ्गलबार, ११ कात्तिक २०८२, १४ : ०५
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसमा विशेष महाधिवेशन नहुने निश्चित भएको छ, कार्यवाहक सभापतिले जानकारी दिए।
  • कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन गर्ने र निर्वाचन भए वैशाखमा र नभए फागुनमा गर्ने बताए।
  • विभिन्न नेताहरूले मंसिरमा महाधिवेशन गर्नुपर्ने र युवालाई अवसर दिनुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन नहुने निश्चित भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको निर्देशनमा युवा नेता गुरुराज घिमिरेको संयोजनमा दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए । यो संख्या २०७८ मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा रहेका महाधिवेशन प्रतिनिधिको संख्याको ५० प्रतिशत बढी हो । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाइ लिखित माग गरेमा माग गरेको तीन महिनामित्र विशेष महाधिवेशन गर्नै पर्ने बाध्यकारी व्यवस्था विधानमा भए पनि कांग्रेस नेतृत्व नगर्ने पक्षमा देखिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल तरुण दलले ७३ औँ स्थापना दिवस पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा स्पष्ट रूपमा विशेष महाधिवेशन नहुने बताए । उनले विशेष महाधिवेशनको प्रस्तावलाई नियमित महाधिवेशनको सीमामा जोड्ने बताए । 

‘पार्टीको विधानअनुसार हामीले नियमित महाधिवेशन गर्छौँ । विशेष महाधिवेशनको प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी चालु केन्द्रीय समिति बैठकबाट एकताबद्ध रूपमा निर्णय गछौँ,’ खड्काले भने, ‘चालु केन्द्रीय समितिले पार्टीभित्रका आन्तरिक समस्या एकताबद्ध भएर घोषित निर्वाचन, पार्टी महाधिवेशन, भ्रातृसंस्थाका चालु अधिवेशनबारे निर्णय गछौँ । पार्टीलाई खरानीको जगबाट उठाएर  प्रतिकूलतालाई अनुकूलतामा बदल्नका लागि निर्णय गछौँ ।’

हस्ताक्षरकर्ताहरूले कि मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने नभएमा विशेष महाधिवेशन गर्नुपर्ने अड्डी कसिरहेका बेलामा कार्यवाहक सभापति खड्काको यस्तो भनाइ आएको छ । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका सभापति शेरबहादुर देउवाले असोज २८ गतेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । देउवा थप उपचारका लागि भन्दै सोमबार राति सिंगापुर उड्ने समयको केही घण्टा अगाडि खड्काले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित लिखित निवेदन आएको र त्यसलाई नियमित महाधिवेशनको सीमामा जोडिने बताएर विशेष महाधिवेशन नहुने स्पष्ट पारेका हुन् । 

विशेष महाधिवेशन पक्षधरको पहिलो माग मंसिरमै नियमित महाधिवेशन हुनुपर्छ भन्ने छ । हस्ताक्षरको नेतृत्व गरेका घिमिरेले कात्तिक ७ गते रातोपाटीसँगको कुराकानीमा भनेका छन्, ‘हाम्रो पहिलो माग चारवर्षे कार्यकाल सकिने बेलासम्म नियमित महाधिवेशन हो । मङ्सिर मसान्तसम्म नियमित महाधिवेशनको मिति केन्द्रीय समिति बैठकले घोषणा गर्छ कि भनेर हामी पर्खिएको अवस्थामा छौँ ।’

केन्द्रीय समितिले नियमित महाधिवेशनबारे निर्णय नगरेर विशेष महाधिवेशन पक्षधर भेला बोलाउन बाध्य हुने घिमिरेले बताएका थिए । ‘हाम्रो अहिलेको ‘वेट एण्ड सी’लाई कमजोरीका रूपमा लिइए भेला बाध्यता बन्छ र त्यो भेलाले के–के गर्न सक्छ भन्ने अनुमान गर्न गाह्रो हुनेछ,’ घिमिरेले भनेका छन् । 

कांग्रेस संस्थापन पक्षले सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन हुने अवस्था आएमा आगामी वैशाखमा र निर्वाचन नहुने भएमा फागुनमा नियमित महाधिवेशन गर्नेगरी छलफल गरिरहेको छ । 

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा कार्यवाहक सभापति खड्काको संयोजनमा बसेको संस्थापन पक्षीय शीर्ष नेताहरूको गत असोज २९ र ३० गते तथा कात्तिक ८ गतेको गोप्य छलफलमा यसबारे निष्कर्ष निकालिएको नेताहरू बताउँछन् । 

असोज २९ र ३० गते संस्थापनका केन्द्रीय सदस्यहरू सबैसँग महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल गरेका खड्काले कात्तिक ८ गते शनिबार भने संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी तथा केही प्रभावशाली केन्द्रीय सदस्यहरूसँग महाधिवेशनको मिति र समसामयिक राजनीतिबारे कुराकानी गरेका थिए ।

’१४ औँ महाधिवेशनमा शेरबहादुर दाइ (देउवा)लाई सभापतिमा सार्वजनिक र नैतिक समर्थन गरेका सबै नेताहरूको गोप्य बैठक बसेका थियौँ,’ बैठकमा सहभागी एक पदाधिकारीले रातोपाटीसँग भने, ‘पार्टीको जारी केन्द्रीय समिति बैठक र महाधिवेशनको कार्यतालिकाबारे छलफल भयो । सरकारले घोषणा गरेको निर्वाचन हुने देखिएमा महाधिवेशन वैशाखमा गर्ने र निर्वाचन नहुने भएमा फागुनमा गर्ने प्रस्ताव लैजाने सहमति बनेको छ ।’

बैठकमा विशेष महाधिवशेनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको भावना सम्बोधन गर्दै विधि र प्रक्रिया पुर्‍याई फागुनमा नियमित महाधिवेशन गर्नेगरी अगाडि बढ्न खड्कालाई पदाधिकारी र पूर्वपदाधिकारीले सुझाएका थिए । निर्वाचन हुने भएमा भने वैशाखमा मात्रै महाधिवेशन गर्नेगरी जारी केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने वातावरण निर्माण गर्न खड्कालाई पदाधिकारीहरूको सुझाव रहेको ती नेता बताउँछन् । 

गत असोज २८ गतेबाट सुरु केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १ गते बसेर कात्तिक १३ गतेसम्म स्थगित गरिएको थियो । त्यो बैठकमा अझै अधिकांश सदस्यहरूले धारणा राख्न बाँकी रहेकाले कम्तीमा पनि १० दिन लाग्ने भन्दै त्यसबेलासम्म निर्वाचन हुने कि नहुने भन्ने सिनारियो देखिने भन्दै त्यो विचार गरेर महाधिवेशनको मितिबारे निर्णय गर्नुपर्ने सुझाव पनि खड्काले आफ्नो समूहबाट पाएका थिए । नेताहरूले निर्णय गर्दा मनाएर, फकाएर जसरी हुन्छ सर्वसम्मत गर्न पनि सुझाएका थिए । 

कार्यवाहक सभापति खड्काले केन्द्रीय समिति बैठकबाट नियमित महाधिवेशनको मिति तोकिने र त्यो महाधिवेशनको मिति तोक्ने निर्णय सर्वसम्मत हुने बताएका थिए । सोमबारको तरुण दलको कार्यक्रममा खड्काले भनेका थिए, ‘केन्द्रीय कार्यसमिति बैठकबाट हामीले नियमित महाधिवेशनको मिति सर्वसम्मत तरिकाले घोषणा गर्छौँ ।’

यसबारे छलफल गर्न कार्यवाहक सभापति खड्काले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालालाई कात्तिक ७ गते भेटेका थिए । डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको दुई नेताबीचको छलफलमा केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति घोषणाबारे छलफल भएको निकटस्थ स्रोतले जानकारी दियो । डा. कोइराला भने नियमित महाधिवेशन मंसिरभित्रै हुनुपर्ने बताइरहेका छन् । 

खड्काले भने परिस्थितिलाई बुझेर सहमतिमा नियमित महाधिवेशन गर्न आफू तयार रहेको बताउँदै समयावधिलाई बुझिदिन डा. कोइरालालाई आग्रह गरेका स्रोतले बतायो । ‘कार्यवाहक सभापतिज्यूले नियमित महाधिवेशन गर्न आफू तयार रहेको भन्दै समयलाई ख्याल गरिदिन भेटमा आग्रह गर्नुभयो,’ स्रोतले भन्यो, ‘शेखर दाइले आफू मंसिरमा नियमित महाधिवेशन हुनुपर्छ भन्ने पूर्ववत् अडानमा अडिग रहेको बताउनुभयो ।’ 

खड्काले महाधिवेशनका सन्दर्भमा महामन्त्रीद्वय थापा र शर्मासँग पनि अनौपचारिक छलफल गरिरहेका छन् । मंगलबार सबैपक्षसँग अनौपचारिक छलफल गर्ने र बुधबार फेरि आफ्नो समूहसँग आन्तरिक छलफल गरेर त्यहाँ निस्कने निष्कर्षका आधारमा अगाडि बढ्ने तयारी खड्काको छ । उनले बुधबार दिउँसो १ बजे संस्थापन पक्षीय शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । स्थानबारे बुधबार बिहान जानकारी गराउने खड्काले बताएको एक नेताले जानकारी दिए । 

पूर्वउपसभापति विमलेन्द्र निधिले अहिले पार्टीले निर्वाचनको तयारी गर्ने र निर्वाचन सम्पन्न भएपछि वैशाखमा पार्टी महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । उनले कार्यवाहक सभापति, महामन्त्रीद्वय र इतर समूहका नेता डा. कोइरालासँग आफूले यो धारणा राखेको बताए । 

‘सरकारले  फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । त्यो समय आउन ४ महिना मात्रै बाँकी छ । हामीले पुसमा पार्टीका तर्फबाट समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउनुपर्छ,’ पूर्वउपसभापति निधिले रातोपाटीसँग भने, ‘मेरो धारणा निर्वाचनभन्दा पहिला पार्टी महाधिवेशन गर्नु भनेको निर्वाचन नचाहनु हो । निर्वाचन सम्पन्न गर्ने धारणा पार्टीले बनाउनुपर्छ । महाधिवेशन वैशाखमा गर्नुपर्छ ।’ 

आफ्नो यस धारणामा महामन्त्रीहरूसमेत सकारात्मक रहेको निधिले बताए । ‘मेरो यो धारणामा मंसिरमै नियमित महाधिवेशन गर्नुपर्छ भन्ने महामन्त्रीहरू पनि सकारात्मक छन् । एक महामन्त्रीले त मंसिर या पुसमा गर्नेगरी महाधिवेशन गर्नेगरी जारी केन्द्रीय समितिबाट कार्यतालिका सार्वजनिक गरौँ । त्यो समयमा हुन नसक्ने निश्चित छ । त्यसपछि सारौँला भनेका छन्,’ निधिले भने, ‘यो भनेको उनीहरू पनि सकारात्मक रहेको भन्ने अर्थमा मैले बुझेको छु ।’

अहिले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा खर्च गर्नुपर्ने आवश्यकता रहेको निधिले बताए । अब युवालाई पार्टीमा अवसर दिनु अपरिहार्य रहेकाले मंसिरमा महाधिवेशन गर्दा दिन असम्भव रहेकाले विधि र प्रक्रिया पुर्‍याई युवालाई अवसर दिनेगरी वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने उनको भनाइ छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप