माफीले होइन, उत्तरदायित्वले मात्र देश बन्छ
सारांश
- युवा आन्दोलनको निराशाजनक परिणति: आशावादी सुरुवात भए पनि अन्ततः निराशामा परिणत भयो।
- पुराना नेताहरूको स्वार्थ र नयाँ पुस्ताका कथित नेताहरूको व्यक्तिगत स्वार्थले आन्दोलनलाई कमजोर बनायो।
- भ्रष्टाचार र कुशासनको निरन्तरता: सत्ता परिवर्तन भए पनि अवस्थामा सुधार आएन, जनता निराश छन्।
भदौ २३ र २४ गते देशभर देखिएको युवा लहर खासमा नेपालको इतिहासमा एउटा असल सुरुवात बन्न सक्थ्यो, तर त्यो पनि अन्य आन्दोलनझैं अन्ततः निराशा, सौदा र पाखण्डको अर्को अध्याय बनेको छ। देशमा शासन, सुशासन, पारदर्शिता र स्वतन्त्र समाजको खोजी गर्दै उठेका युवाहरुको त्यो आवाज अब भत्किएको छ र सो साथ प्रश्न उठेको छ- हामी अब पश्चाताप गर्ने कि प्रायश्चित गर्ने ? कि फेरि त्यही पाखण्डि पागलपनको निरन्तरता गर्ने?
जेनजी आन्दोलनको पहिलो दिन सडकमा देशको भविष्य बोकेका युवाको लहर देखिथ्यो, जसको हातमा मोबाइल थियो तर मुटु देशका लागि धड्किरहेको थियो। उनीहरुको माग ठ्याक्कै स्पष्ट थियो- पुराना दलहरूको दलदलबाट मुक्त राष्ट्र। उनीहरू भन्न चाहन्थे- अब पुरानो पुस्ताले जितेको होइन, नयाँ पुस्ताले बनाएको नेपाल चाहिन्छ। तर त्यो उर्जाको सन्देश बुझ्ने सट्टा पुराना नेताहरूले झै देखिएका नयाले पनि आफ्नो राजनीतिक स्वार्थ सुरक्षित गर्ने प्रयास गरे।
केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका पुराना नेताहहरुको दशकौँ लामो शासनकालले देशलाई समृद्धिको बाटोमा होइन, भ्रष्टाचार र कुशासनको दलदलमा धकेल्यो। यी नेताहरुका वरिपरि रहेका मन्त्री, ठेकेदार र दलका आसेपासेहरूले देशको सम्पत्ति निजी सम्पत्तिमा बदल्ने काम गरे, जनताको सपनालाई बोली र भाषणको व्यापारमा बेच्ने काम गरे।
यो सबका बीचमा आन्दोलनमा होम्मिने युवाहरुले भने नयाँ आशा देखाए । उनीहरूले कुनै पार्टीको झण्डा होइन, विचारको झण्डा बोके। तर आन्दोलनको उपलब्धी नै हुन पाएन। सुदन गुरुङ्ग जस्ता केही व्यक्तिहरूले सामाजिक सञ्जालको लोकप्रियता र विदेशी सञ्जालबाट आएको ‘कथित समर्थन’ को नशामा आन्दोलनलाई आफ्नो व्यक्तिगत शोमा बदलिदिए। उनीहरूले आफूलाई जेनजीको प्रतिनिधि भनेर प्रचार गरे, तर आन्दोलनको असली घाउमा मल्हम लगाउने सट्टा, त्यसै घाउमा नुन छर्कने काम गरे। आन्दोलनका क्रममा मरेका र घाइते भएका युवाहरू अझै उपचारको आशामा छन्, उनीहरूका परिवार अझै न्यायको प्रतीक्षामा छन्, तर काठमाडौंका केही व्यक्तिहरू आन्दोलनको नाममा सत्ताको सुख उपभोग गर्दै छन्।
आज देशमा आन्दोलनका नाममा सत्ता बदलिए पनि चरित्र बदलेको छैन। जनता अझै पनि धोका खाइरहेका छन् र नेताहरू अझै पनि भ्रम बेच्दैछन्। प्रश्न फेरि त्यहीँ आउछ अब के गर्ने? पश्चाताप गरेर मौन बस्ने ? प्रायश्चित गरेर गल्ती सच्याउने? वा फेरि पाखण्डको निरन्तरता दिई पागलपनको अर्को अध्याय लेख्ने?
आन्दोलनको लहरपछि सुशीला कार्कीको नाम प्रधानमन्त्रीको रूपमा अगाडि सारियो। उनले भनेकी थिइन- भ्रष्टाचार निर्मूल पार्छु। तर पाँच हप्ता पनि नबित्दै देशमा कानुनी अराजकता फैलियो। मन्त्री बन्नका लागि योग्यता होइन, सम्बन्ध चाहिने पुरानै परम्परा दोहोरियो। गृह मन्त्रालयलाई पनि भन्सुन मन्त्रालय बनाइयो, मन्त्रीको योग्यताको आधार राजनीतिक सम्झौता र सम्बन्ध मात्र थियो। देशको प्रशासन फेरि पनि उही असक्षम र अविश्वसनीय हातमा पुग्यो।
प्रधानमन्त्री स्वयंले पनि जनताको भरोसामा होइन, ‘डिस्कर्ड पोलिटिक्स’ अर्थात् डिजिटल लोकप्रियतामा सत्ताको स्वाद पाइन् । सत्तामा पुग्ने बाटो र जनताको प्रतिनिधित्व गर्ने बाटो फरक हुन्छ भन्ने कुरा बुझ्न नसक्दा आज करोडौं नेपालीको आवाज सत्ताको कक्षमा हराएको छ। आन्दोलनको मूल भावनाहरु पारदर्शिता, जवाफदेहिता र स्वतन्त्रता आदि सबै राजनीतिक व्यापारमा परिणत भयो।
अब प्रश्न यहीँ छ, ती नेताहरु के अब पनि आफ्नो गल्तीको पश्चाताप गर्छन्? कि केवल पाखण्ड जारी राख्छन्? पश्चाताप त मनको कुरा हो । गल्ती महसुस गरेर दुख मान्ने। तर नेपालका नेताहरूले गल्ती महसुस गर्ने समय कहिल्यै आएन। उनीहरूका भाषणमा सुधारको कुरा आउँछ, तर व्यवहारमा भ्रष्टाचार अझ गहिरिन्छ। प्रायश्चित भनेको गल्ती सुधार्ने काम हो, तर यहाँ त गल्ती लुकाउने, दोष अरूको टाउकोमा हाल्ने र पदीय सुख उपभोग गर्ने परम्परा जिवित छ।
केपी ओलीको कार्यकालमा नियुक्त भएका आफ्ना मान्छेहरू, शेरबहादुर देउवाको वितरणीय राजनीति, प्रचण्डको सत्ता टिकाउने तिकडम र बाबुराम भट्टराईको बौद्धिक भाषणको आडमा गरेको मौन सहमति- यी सबैले देशलाई निष्प्राण बनाइदिएको छ। अनि नयाँ पुस्ताका नाममा आएका सुदन गुरुङ जस्ता 'डिजिटल नेताहरू'ले पनि फरक काहीँ गरेनन्। उनीहरूले आफ्नो इमेज बचाउने र सामाजिक सञ्जालमा लाइक बढाउने अभियानलाई नै राजनीति ठाने। आन्दोलनको बलिदान, जनताको रगत र आशालाई उनीहरूले ह्याशट्यागमा बाँधेर बेचिदिए।
आज देशमा आन्दोलनका नाममा सत्ता बदलिए पनि चरित्र बदलेको छैन। जनता अझै पनि धोका खाइरहेका छन् र नेताहरू अझै पनि भ्रम बेच्दैछन्। प्रश्न फेरि त्यहीँ आउछ अब के गर्ने? पश्चाताप गरेर मौन बस्ने ? प्रायश्चित गरेर गल्ती सच्याउने? वा फेरि पाखण्डको निरन्तरता दिई पागलपनको अर्को अध्याय लेख्ने?
देशले अब माफी होइन, उत्तरदायित्व मागेको छ। यदि नेताहरूले पश्चाताप गरेर आत्मसुधार गरे भने त्यो प्रायश्चितको सुरुवात हुनेछ। तर यदि उनीहरूले अझै पनि झूट, प्रचार र लोकप्रियताको नाटक दोहोर्याइरहे भने त्यो केवल पाखण्डी पागलपनको निरन्तरता हुनेछ। र, त्यसको मूल्य फेरि जनताले नै तिर्नेछन्, आफ्नो सपनाको टुक्रा र भविष्यको उज्यालोसँगै।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण