बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किसानका दु:ख

चक्रव्यूहमा किसान : रोप्ने बेला खडेरी, उठाउने बेला झरी

राज्यसँग न योजना छ, न तथ्यांक
शुक्रबार, १४ कात्तिक २०८२, १७ : ००
शुक्रबार, १४ कात्तिक २०८२

काठमाडौं । असार धान रोप्ने बेला किसानहरुले चर्को खडेरीको मार खेपे । यो समय धान भित्र्याउने समय हो, तर अविरल झरीका कारण वर्षभरिको मेहनत खेर जाने चिन्ताले किसानलाई सताइरहेको छ । 

नेपालका किसानहरूले यस वर्ष खडेरी, डुबान र बेमौसमी वर्षाको चक्रवातमा फसेर धान खेतीमा ठुलो नोक्सानी व्यहोर्नुपरेको छ । धान रोप्ने बेलाको लामो खडेरी, बिचमा केही स्थानमा भएको डुबान र पाकेको धान भित्र्याउने समयमा परेको अविरल झरी । यस हिसाबले यस वर्ष किसान चक्रव्यूहमा परेका छन् । 

खाद्य व्यवस्था विभागले समयमै र उचित मूल्यमा धान नकिन्दा तथा सरकारसँग स्पष्ट तथ्यांक र योजना अभावले समस्या झनै गहिरिएको छ । भीमफेदी गाउँपालिका-९ खर्कफाँट मकवानपुरको उत्तरी क्षेत्रको प्रमुख धान उत्पादन हुने फाँटमध्येको एक हो । त्यहाँ कात्तिकको दोस्रो साता धान भित्र्याउने बेला भएपनि बुधबार रातिदेखि परेको पानीले ठुलो क्षति पुर्‍याएको छ । स्थानीय किसान दिनेश घलानका अनुसार धेरैले धान काटेर सुकाएका थिए  । 

‘धान चुट्ने बेलामा पानी आएर बर्बाद भयो, सबै धान भिजेको छ । काट्न ठिक्क परेको र काटिसकेको धान खेतमै डुबेको छ,’ उनले भने ।  

dhan
भीमफेदी गाउँपालिका-९ मा पानीले भिज्दा भित्र्याउन नपाएको धान

यो समस्या भित्री मधेसका जिल्लाहरू र पहाडी तथा हिमाली फाँटहरूमा पनि व्यापक रूपमा देखिएको छ । गोरखा नगरपालिका–१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताए । तिहारलगत्तै धान काटेर भित्र्याउन ठिक्क परेको बेला पानी परेको र गाउँका एक–दुई जनाबाहेक सबैले धान काटेर खेतमा सुकाएकाले क्षति पुगेको उनको भनाइ छ ।

बेमौसमी वर्षाका कारण वर्षभरिको मेहनत खेर जाने चिन्ता बढेको उनले व्यक्त गरे । गोरखामा जिल्लाका १० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् भने करिब ४० प्रतिशतले धान काटिसकेका र ५० प्रतिशत किसान काट्ने तयारीमा छन् । कृषि ज्ञान केन्द्र, गोरखाका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार वर्षाले विशेषगरी काटेर खेतमा सुकाएको धानबालीमा क्षति पुर्‍याएको छ । पाक्दै गरेका र काटेर राखेका धानलाई दुई–तीन दिन घाममा सुकाएमा भित्र्याउन सकिने भए पनि थप वर्षा भएमा धान झर्ने समस्या हुनसक्ने उनी बताउँछन् । 

पूर्वी जिल्लाहरू सुनसरी, मोरङ, झापा, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा पनि वर्षाले ठुलो असर पारेको छ । कोशी प्रदेशका यी १४ जिल्लाका अधिकांश क्षेत्रमा खेतमा पानी जम्दा काट्न तयारी गरिएको धान भिजेर नष्ट भएको छ । कतिपय ठाउँमा ढलेको धान उठाउन नसक्दा किसानहरू निराश भएका छन् ।

रामेछापको मन्थली–७ की किसान सरिता ढुङ्गेल तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा पानी पर्दा तनाव थपिएको बताइन् । मौसम प्रतिकूल हुने कुरा थाहा भएपनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आशले उनले धान काटेकी थिइन् । धान झार्नका लागि मुठा बाँध्ने काम धमाधम भइरहेको बेला पानी परेर सबै भिजाएको छ ।

उत्पादनमा ठुलो गिरावट, किसानलाई आर्थिक भार

धानबाली वैज्ञानिक डा. रामवरण यादवका अनुसार यस वर्ष धान उत्पादनमा २० देखि २५ प्रतिशतसम्म कमी आउने अनुमान गरिएको छ । विशेषगरी पहाडी क्षेत्रमा धेरै असर देखिएको छ । आधुनिक जातका धानमा डर्मेन्सी (सुषुप्त अवस्था) नहुने भएकाले यदि वर्षा २–३ दिनसम्म जारी रहेमा बोटमा बाँकी रहेको धान खेतमै उम्रिन सक्ने चिन्ता पनि उनले व्यक्त गरे ।

कृषि विभागका प्रवक्ता तिलकराज चौलागाईंका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान खेती गरिएको कुल क्षेत्रफलमा करिब ३.५ प्रतिशतले कमी आएको छ । यस्तै समग्रमा धान उत्पादनमा ५ देखि ७ प्रतिशतसम्म कमी आउने अनुमान छ । गत वर्ष नेपालमा करिब ५७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष २ लाख ५० हजारदेखि ३ लाख मेट्रिक टन हाराहारीमा घट्ने अनुमान गरिएको चौलागाईं बताउँछन् । 

उनका अनुसार यो तथ्यांक रोपाइँ भएको आधारमा मात्रै हो । अहिले धान भित्र्याउने बेलामा पानी परेकाले झण्डै २७ प्रतिशत धान उत्पादनमा कमी हुनसक्ने डा. यादव बताउँछन् । उनका अनुसार उत्पादन घट्नुका साथै किसानहरूले धानको मूल्य पनि कम पाइरहेका छन् । 

Dhan Khet2

गत वर्ष प्रतिक्विन्टल ४ हजार १ सयदेखि ४ हजार २ सय रुपैयाँमा बिक्री भएको धान यस वर्ष ३ हजार २ सयदेखि ३ हजार ३ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । तर बजारमा चामलको मूल्य भने ८/९ हजार रुपैयाँ प्रतिक्विन्टल छ, जसले किसान र उपभोक्ताबिचको मूल्यअन्तरलाई स्पष्ट पार्छ । कम मूल्यका कारण किसानहरू घाटामा छन् र उनीहरूले भारतबाट महँगो युरिया मल किनेर प्रयोग गर्नुपरेको यादव बताउँछन् । 

सरकारको नीतिगत कमजोरी,  तथ्यांक पनि छैन

किसानहरू चरम संकटमा परेका बेला सरकारसँग धान किसानको समस्या समाधानका लागि स्पष्ट तथ्यांक र योजनाको अभाव देखिन्छ । खाद्य व्यवस्था विभागले समयमै र उचित मूल्यमा धान नकिन्दा पनि किसानहरू समस्यामा परेका छन् । सरकारले मोटा र मध्यम मसिनो धानका लागि समर्थन मूल्य तोकेपनि मसिनो र बासमती धानका लागि तोकेको छैन । किसानहरूले अहिले मसिनो धान रुचाउने र उत्पादन गर्ने गरेकाले यो सरकारी नीतिले उनीहरूलाई थप मर्का परेको यादवको टिप्पणी छ ।

कृषि विज्ञहरूले सुक्खा र बाढी सहन सक्ने उन्नत जातका धानको सिफारिस गरे पनि सरकारले भारतजस्तो नक्सांकन गरेर सुक्खाग्रस्त क्षेत्र पहिचान गरी सोही अनुसारको बीउबिजन र तालिम उपलब्ध गराउने रणनीति नअपनाएको यादव बताउँछन् । किसानहरू आफैँले बिउ किन्ने र उत्पादन बेच्ने काम गरिरहेका छन् ।

कृषि मन्त्रालयबाट हालको क्षतिको पूर्ण विवरण प्राप्त गर्न पनि कठिनाइ भइरहेको प्रवक्ता जानुका पण्डित बताउँछिन् । संघीय संरचनाका कारण तथ्यांक संकलन प्रणालीमा आएको जटिलताले स्थानीय तहबाट प्रदेश र त्यसपछि केन्द्रसम्म विवरण आउन ढिलाइ हुने गरेको छ । दुई हप्ताअघिको वर्षाका कारण भएको क्षतिको विवरण पनि अझै कृषि मन्त्रालयले सार्वजनिक गर्न सकेको छैन ।

राष्ट्रिय अर्थतन्त्रमा असर र आयातको सम्भावना

धान नेपालको प्रमुख बाली भएकाले यसको उत्पादनमा आउने २० देखि २७ प्रतिशतको कमीले कृषि जीडीपी (गार्हस्थ उत्पादन) र समग्र जीडीपी दुवैमा असर पार्ने  डा. यादव बताउँछन् । कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीपीपी) मा करिब २० प्रतिशत योगदान गर्छ । आन्तरिक उत्पादन घट्ने भएकाले धान आयात बढ्ने निश्चित भएको छ । यसको यकिन तथ्यांक कृषि मन्त्रालयले सर्वेक्षण गरेपछि मात्र आउने कृषि विभागले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा मात्र १२ अर्ब ४७ करोड ७४ लाख ७३ हजारको खाद्यान्न आयात भएको छ । भन्सार विभागले आइतबार प्रकाशन गरेको तथ्याङ्क अनुसार पहिलो त्रैमासमा निर्यात जम्मा ३ करोड १२ लाख २५ हजार रुपैयाँ बराबर छ । खाद्यान्नमा मात्रै नेपालको व्यापार घाटा १२ अर्ब ४४ करोड ६२ लाख ४८ हजार रुपैयाँ देखिन्छ । अब खडेरी, वर्षा र डुबानले अझै आयात बढाउने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ यस वर्षको अवस्था नेपालका धान किसानका लागि राम्रो नरहेको बताउँछन् । सरकारले अविलम्ब किसानहरूको समस्या सम्बोधन गर्न र दीर्घकालीन कृषि नीति तथा योजना बनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको उनी बताउँछन् । ‘यो पटक किसानहरु धेरै समस्यामा परेका छन् । सरकारले बेलैमा किसानका लागि गम्भीरताका साथ सोचेनन् भने यसको असर अर्को वर्ष झन् बढी देखिन्छ,’ उनी भन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप