बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संस्मरण

‘मानसिक वार्ड’बाट निस्केपछि

शनिबार, १५ कात्तिक २०८२, १२ : ००
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • कवि बन्ने एक युवकको मानसिक अस्पतालको अनुभवको कथा प्रस्तुत गरिएको छ।
  • अस्पतालमा रहँदा उनले साथी बनाए, कविता लेखे, र नर्सहरूको माया पाए।
  • अन्ततः, युवक अस्पतालबाट डिस्चार्ज भए, र उनको जीवनमा नयाँ आशा देखा पर्‍यो।

ऐना मेरो सबैभन्दा असल साथी हो । किनकि जब म रुन्छु, तब ऊ कहिल्यै हाँस्दैन । –चार्ली च्याप्लिन

अन्ततः बाबा र ठुलो अङ्कलले मलाई ‘मानसिक अस्पताल’ मा भर्ना गरेरै छाड्नुभयो । अस्पतालमा भर्ना भएको भोलिपल्ट म ‘मानसिक वार्ड’ को एउटा कुनामा झोक्रिएर बसिरहेको थिएँ । मछेउ आएर एक जना नर्सले मायालु लवजमा सोध्नुभयो, ‘बाबु, तिम्रो नाम के हो ?’ मैले रुन्चे स्वरमा सुनाएँ, ‘अक्कल ।’ 

मलाई काखमा लिँदै उहाँले सुनाउनु भयो, ‘आहा, कति सुन्दर नाम !’ त्यसपछि म उहाँसँग नजिकिएँ । अर्को दिन पनि तिनै नर्स मछेउ आउनुभयो । पहिलेझैँ मलाई काखमा लिँदै उहाँले निर्धक्कसाथ सुनाउनुभयो, ‘अक्कल, तिमी यहाँ एक्लै छैनौ । म छु तिम्रो साथमा । मजस्तै अरू नर्सहरू पनि तिम्रै साथमा हुनुहुन्छ । तिमीजस्तै अरू बिमारी साथीहरू पनि तिम्रै साथमा हुनुहुन्छ । तिमीलाई अप्ठ्यारो परेको खण्डमा निर्धक्कसाथ भन्नू, हामी छौँ ।’

मैले उहाँको नाम, ‘मलाई माया गर्ने नर्स’ राखिदिएँ ।

मलाई घरको याद खुब आउन थाल्यो । वार्डको एउटा कुनामा बसेर सुँक्कसुँक्क गर्न थालेँ । वार्डमै भर्ना भएर बसेका एक जना दाइले मेरो आँसु आफ्नो रुमालले पुछिदिनुभयो र मलाई अँगालो हाल्दै उहाँले भन्नुभयो, ‘बाबु, तिमी किन रोएको ? तिमीलाई के भयो ? यति ज्ञानी मान्छे पनि रुन सुहाउँछ र ?’

उहाँलाई मैले आफ्नो दुखेसो सुनाएँ, ‘दाइ, मलाई घरको याद आएर मात्रै हो ।’

दाइले लामो सुस्केरा हाल्नुभयो र मतर्फ फर्केर सुनाउनुभयो, ‘बाबु, घरको याद त मलाई पनि आउँछ तर रोएर बस्नु भएन । म पनि त वार्डमा भर्ना भएर बसेको दुई महिना बित्न लागिसक्यो । अझै मेरा घरपरिवारले लिन त के भेट्नसम्म पनि आएका छैनन् । तिमी त भर्खरभर्खर आएका छौ तर मलाई के विश्वास छ भने समय आएपछि हामी अवश्य घर पुग्ने छौँ र पुनः परिवारलाई भेट्ने छौँ ।’ यति भनेर उहाँले मलाई आफ्नो काखमा लिनुभयो ।

‘मलाई माया गर्ने नर्स’ले वार्डमा रहेका सबै बिमारीतर्फ फर्केर सुनाउनुभयो, ‘आज वार्डमा हामीले अतिरिक्त क्रियाकलाप गर्ने सोच बनाएका छौँ । तपाईँहरू यस क्रियाकलापमा सक्रिय सहभागी हुनु हुनेछ भन्ने लागेको छ ।’

‘साँच्ची, बाबुको नाम के हो नि ?’ एक्कासि दाइले आँखा झिम्क्याउँदै सोध्नुभयो ।

मैले थरथर काँपिरहेको ओठले सुनाएँ, ‘अक्कल ।’

मेरो नाम सुनेर उहाँ खुसी हुनुभयो र मैले नसोधीकनै आफ्नो भन्नुभयो, ‘मेरो नामचाहिँ दीपक ।’

त्यसपछि म मुस्काएँ ।

वार्डमा ‘मलाई माया गर्ने नर्स’ आउनुभयो । उहाँसँगै अरू नर्स पनि आउनुभयो । ‘मलाई माया गर्ने नर्स’ले वार्डमा रहेका सबै बिमारीतर्फ फर्केर सुनाउनुभयो, ‘आज वार्डमा हामीले अतिरिक्त क्रियाकलाप गर्ने सोच बनाएका छौँ । तपाईँहरू यस क्रियाकलापमा सक्रिय सहभागी हुनु हुनेछ भन्ने लागेको छ ।’

यत्तिकैमा एक जना बिमारीले जुरुक्क उठेर सोध्नुभयो, ‘सिस्टर, अतिरिक्त क्रियाकलाप भनेको चाहिँ के हो नि ?’

एक जना नर्सले सविस्तार बुझाउनु थाल्नुभयो, ‘अतिरिक्त क्रियाकलाप भनेको तपाईँहरूसँग जे प्रतिभा छ, त्यो देखाउनु हो । जस्तै– तपाईँहरूमध्ये कसैले गीत गाउन सक्नुहुन्छ, कसैले नाच्न सक्नुहुन्छ, कसैले क्यारिकेचर गर्न सक्नुहुन्छ र कसैले चुट्किला सुनाउन सक्नुहुन्छ, आदि... आदि... ।’ 

एक जना बिमारीले मुसुक्क हाँस्दै सबै नर्सतर्फ फर्केर निर्धक्कसाथ सुनाउनुभयो, ‘सिस्टर, म गीत गाउन सक्छु ।’ अर्को बिमारीले पनि त्यसैगरी सुनाउनुभयो, ‘सिस्टर, मचाहिँ चुट्किला भन्न सक्छु ।’

उहाँकै प्रेरणाबाट प्रभावित भएर मैले वार्डभित्रै जीवनमै पहिलो पटक एउटा कविता लेखेँ ‘मलाई खाँचो छ !’ शीर्षकमा । (त्यो पनि पुगनपुग १३ वर्षकै उमेरमा !)

यसैगरी अरू बिरामी पनि अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन तम्सिनु भयो । म भने हेरेको हेर्‍यै भएँ । यसैबिचमा मछेउ आएर ‘मलाई माया गर्ने नर्स’ ले मलाई सोध्नुभयो, ‘अक्कल, तिमी त चुप छौ । तिमीचाहिँ के गर्छौ नि ?’

मैले अप्ठ्यारो मानेँ । अलिअलि लजाएँ पनि ।

‘मलाई माया गर्ने नर्स’ले मलाई हौसला दिनुभयो । उहाँकै प्रेरणाबाट प्रभावित भएर मैले वार्डभित्रै जीवनमै पहिलो पटक एउटा कविता लेखेँ ‘मलाई खाँचो छ !’ शीर्षकमा । (त्यो पनि पुगनपुग १३ वर्षकै उमेरमा !) अरू बिमारी साथीले चुट्किला, गीत सुनाउँदा मैले चाहिँ त्यही कविता सुनाएँ । मेरो कविता सुनेरै ‘मलाई माया गर्ने नर्स’ र अरू नर्स भावुक हुनुभयो । उहाँहरूले मलाई अझ बढी माया गर्न थाल्नुभयो ।

मेरो कविता सुनेर नर्सहरू जस्तै अरू बिमारी साथी पनि भावुक हुनुभयो । त्यसै गरेर दीपक दाइ पनि भावुक हुनुभयो र मलाई फेरि आफ्नो काखमा लिनुभयो ।

बाबाले भन्नुभयो, ‘आले, भोलि दिउँसोपख म तिमीलाई भेट्न अस्पतालमा आउँदै छु । राम्रोसँग बस्नू । आफ्नो ख्याल राख्नू ।’

दिउँसोपख म दीपक दाइसँग अस्पतालको बगैँचामा पल्टिरहेको थिएँ । उहाँले घाँस उखेल्दै भन्नुभयो, ‘अक्कल, तिमी त कवि रहेछौ । राम्रा कविता लेख्दा रहेछौ । तिमीले मुनामदन पढेका छौ ?’

‘छैन’, भनि टाउको हल्लाएँ ।

यत्तिकैमा एक जना नर्सले मलाई बोलाउनु भयो । दीपक दाइलाई बगैँचामा एक्लै छाडेर म नर्स भएतर्फ हान्निएँ ।

नर्सले भन्नुभयो, ‘अक्कल, तिम्रो बाबाले घरबाट फोन गर्नु भाछ । बाबासँग कुरा गर्नू ।’

फोनमा बाबासँग धेरैबेरसम्म कुरा गरेँ । बाबाले भन्नुभयो, ‘आले, भोलि दिउँसोपख म तिमीलाई भेट्न अस्पतालमा आउँदै छु । राम्रोसँग बस्नू । आफ्नो ख्याल राख्नू ।’ बाबाले फोनमा अझै केही बोल्न खोज्दै हुनुहुन्थ्यो । फोनलाई तुरुन्तै टेबुलमाथि राख्दै म बगैँचामा दौडिएर पुगेँ र अघिदेखि बगैँचामा पल्टिरहेको दीपक दाइलाई एकैसासमा फुर्तीसाथ सुनाएँ, ‘दीपक दाइ, मलाई भेट्न मेरो बाबा भोलि आउनुहुन्छ रे !’ 

मेरो कुरा सुनेर दीपक दाइ खुसी हुनुभयो र केहीबेरपछि गम्भीर हुँदै उहाँले मलाई भन्नुभयो, ‘अक्कल भाइ, मेरो त अहिलेसम्म घरबाट फोनसम्म आएको छैन । भेट हुनु त परको कुरा !’ उहाँको कुराले मेरो मन अमिलो भयो ।

मलाई रातभरि निद्रा लागेन । 

बिहान भएलगत्तै खुसीले गीत गुनगुनाउँदै बाथरुम भित्र छिरेँ । बिहानको चियाको चुस्कीसँगै नर्सहरूले दिनु भएका कापीका पानाहरूमा कविता लेखेँ । त्यसैगरी नर्सहरूले नै दिनुभएका पुस्तकहरू पनि पल्टाएँ । दीपक दाइसँग कविताका विषयमा कुरा गरेँ । बाबा नआउन्जेलसम्म वार्डभित्र कहिले यता, कहिले उता हिँड्न थालेँ । बाबाको चियोचर्चा गर्न थालेँ । लामो समयको प्रतीक्षापछि अन्ततः बाबा मलाई भेट्न आउनुभयो । म खुसीले उफ्रिएँ । 

मलाई भेट्न बाबा आउनुहुँदा म वार्डभित्रै थिएँ– दीपक दाइसँग कुरा गरिरहेको । एक जना नर्सले वार्डको गेट खोल्दिनुभयो । म निस्किएँ । वार्डबाट निस्किएर म एकैछिनमा बाबाको काखमा लुट्पुटिन पुगिहालेँ । बाबाले मलाई अस्पतालको बगैँचामा सँगै लिएर जानुभयो । 

बगैँचामा बस्दाबस्दै बाबाले मलाई केही फलफूल खान दिनुभयो । फलफूल खानुअघि मैले केही फलफूल दीपक दाइ र ‘मलाई माया गर्ने नर्स’लाई पनि छुट्याइराखेँ । बाबाले भन्नुभयो, ‘अब, तिमी अस्पतालबाट छिट्टै डिस्चार्ज हुँदैछौ । डाक्टरसापसँग मेरो कुरा भइसकेको छ ।’

मैले बाबासँगै घर जान ढिपी गरेँ तर उहाँले त्यस दिन मलाई घरमा लिएर जानुभएन ।

मैले उहाँलाई आफूले लेखिछाडेका केही कविता देखाएँ । उहाँले खुसी हुँदै भन्नुभयो, ‘भोलि म तिमीलाई बजारबाट केही कविताका पुस्तक ल्याइदिन्छु ।’

‘मलाई माया गर्ने नर्स’ले सोध्नुभयो, ‘अक्कल, हिजो बाबासँग तिम्रो के कुरा भएको थियो त ?’

मैले खुसी हुँदै सुनाएँ, ‘अब, म चाँडै डिस्चार्ज हुँदै छु रे सिस्टर !’ मेरो कुरा सुनेर ‘मलाई माया गर्ने नर्स’ खुसी हुनुभयो र उहाँले प्रसङ्ग अन्तै मोड्नुभयो, ‘अक्कल, नयाँ केही लेख्यौ त ?’

मैले उहाँलाई आफूले लेखिछाडेका केही कविता देखाएँ । उहाँले खुसी हुँदै भन्नुभयो, ‘भोलि म तिमीलाई बजारबाट केही कविताका पुस्तक ल्याइदिन्छु ।’

नभन्दै उहाँले भोलिपल्ट मेरा लागि लक्ष्मीप्रसाद देवकोटाको ‘सुनको बिहान’, सिद्धिचरण श्रेष्ठको ‘तिरमिर तारा’ र माधवप्रसाद घिमिरेको ‘बाला–लहरी’ पुस्तक लिएर आउनुभयो । यी तिनै पुस्तक मैले केही दिनभित्रै पढिसकाएँ ।

वार्डभित्र ‘मलाई माया गर्ने नर्स’ले एक दिन मायाले सोध्नुभयो, ‘अक्कल, तिमीलाई के कुराले पीडा दिने गर्थ्यो ? अनि तिमी यो अवस्थामा कसरी आइपुग्यौ ? भन्न सहज हुन्छ भने मात्रै भन है त !’

‘पीडा’ शब्द सुने लगत्तै मैले ‘प्लिक्सी’ लाई सम्झिएँ र ‘मलाई माया गर्ने नर्स’ तर्फ फर्किएर सविस्तार सुनाउन थालेँ, ‘सिस्टर, प्लिक्सी मेरो जीवनको दियो थिइन् । भक्तपुरको न्यातपोल मन्दिरपरिसरमा तेलकासा खेलेर हामी दुई जनाले आफ्नो बाल्यकालको अमूल्य समय बिताएका थियौँ । सँगै रुन्थ्यौँ । सँगै हाँस्थ्यौँ । उनी सात वर्षकी छँदा बितिन् । उनी बित्दा म मात्र नौ वर्षको थिएँ । उनी बितेपछि मेरो जीवनको दियो एकाएक निभ्यो । त्यसपछि म यो अवस्थामा आएको हुँ ।’ 

म अस्पतालमा भर्ना भएर तीन महिनामा टेक्दै थिएँ । यसैबीचमा मलाई भेट्न मेरा बाबा, मेरा ठुलो अङ्कल र मेरा आफन्तहरू पटकपटक आइसक्नुभयो । तर, दीपक दाइको भनाइअनुसार उहाँलाई भेट्न उहाँका आफन्तहरू अहिलेसम्म आउनुभएको छैन रे ! किन होला ? (आउनुभएको भए मैले पनि देख्नुपर्ने !) देखिनँ । 

अस्पतालको तीन महिनाको बसाइपछि म डिस्चार्ज हुँदै थिएँ । मलाई लिन पनि ठुलो अङ्कल र बाबा नै आउनुभएको थियो । डाक्टरसापले खुसी हुँदै आफ्नो कार्यकक्षमा भन्नुभयो, ‘अक्कल, राम्रोगरि बाबासँग घर जाऊ । समयमा औषधी खाऊ । स्कुलमा भर्ना भएर पढ ।’

डाक्टरसापले त्यसो भनिरहँदा ‘मलाई माया गर्ने नर्स’ पनि साथमै हुनुहुन्थ्यो । उहाँले पनि ‘होमा हो’ मिलाउनु भयो । मलाई अस्पतालको गेटसम्म पुर्‍याउन दीपक दाइ र ‘मलाई माया गर्ने नर्स’ पनि सँगै आउनुभयो । उहाँहरू दुवैको आँखामा टिलपिल आँसु थियो । मैले हेर्न सकिनँ । म अर्कोपट्टि फर्किएँ । अस्पतालबाट डिस्चार्ज भएर बाबा र अङ्कलसँगै बाहिरिँदै गर्दा गेटसँगै झुन्डिएको होर्डिङ बोर्डको अक्षर पढेँ । त्यहाँ लेखिएको थियो, ‘अनामनगर, काठमाडौँ ।’ 

‘मानसिक अस्पताल’ भित्र ‘मानसिक बिमारी’ भएर प्रवेश गरेँ, ‘कवि’ भएर फर्किएँ... ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वर थोकर
ईश्वर थोकर
लेखकबाट थप