बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड

आन्दोलनमा सहभागी युवा पुस्ता ‘क्रान्तिकारीका उत्तराधिकारी’
शनिबार, १५ कात्तिक २०८२, १४ : १३
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • प्रचण्डले राष्ट्र गम्भीर संकटमा परेको र समाजवादी क्रान्तिको प्रारम्भिक संकेत देखिएको बताए।
  • उनले समाजवादी क्रान्ति छिट्टै सम्भव रहेको र युवा पुस्ताले राजनीतिलाई सचेत बनाएको उल्लेख गरे।
  • प्रचण्डले वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई राष्ट्रिय स्वाधीनताका लागि एकजुट हुन आह्वान गरे।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर सङ्कटमा परेको भन्दै अहिलेको समयलाई ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबिचको टक्करको चरण’ का रूपमा व्याख्या गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय सङ्कटका बाबजुद समाजवादी क्रान्तिको प्रारम्भिक सङ्केत देखिएको बताए।

समाजवादी क्रान्ति अब टाढा छैन

प्रचण्डले नेपालको वर्तमान परिस्थितिलाई समाजवादी क्रान्तिको प्रारम्भिक सङ्केतका रूपमा व्याख्या गर्दै निराश हुनुपर्ने कारण नभएको बताए। उनले हालै भएका घटनाक्रमलाई उल्लेख गर्दै भने–  ‘२३ र २४ का घटनाक्रमले देखाएको छ- क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढङ्गले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।’

उनले सम्बोधनको सुरुमा शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनाको सम्मान गर्दै परिणाम ढिलो हुँदा आउने आक्रोशलाई ‘जिम्मेवारीको बोध’ का रूपमा लिएको बताए।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै प्रचण्डले सरकारमा हुँदा र बाहिर हुँदा निरन्तर प्रयास गरिरहेको बताए। उनले शहीद घोषणा, विधेयक निर्माण र आयोग गठन जस्ता काम भए पनि आयोगहरूले अपेक्षित परिणाम दिन नसकेको स्वीकार गरे।

प्रचण्डले जनयुद्धका समयमा माओवादीले राखेको विचार स्मरण गर्दै भने–  ‘हामीले त्यतिबेलै भनेका थियौँ, नेपाल गणतन्त्रमा जानेछ, तर त्यो जनताको गणतन्त्र हुनेछ वा प्रतिक्रियावादीहरूको भन्ने निर्णय पछि हुने टक्करबाट मात्र हुनेछ।’

उनका अनुसार अहिले देश त्यही ऐतिहासिक मोडमा पुनः पुगेको छ, जहाँ ‘क्रान्ति र प्रतिक्रान्ति आमनेसामने’ छन् । प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता,भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गरे।

उनले भने– ‘हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौँ। अब प्रश्न छ-समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो।’

उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वान गरे। इतिहासको समीक्षा गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सामन्ती निरङ्कुश तन्त्रविरुद्ध विभिन्न शक्तिहरूसँग अस्थायी सम्झौता भएको, जसमा दलाल र पुँजीवादी शक्तिहरूसमेत रहेको बताए। तर, गणतन्त्रपछिका नेतृत्वहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको उनको भनाइ छ।

प्रचण्डले हालका आन्दोलनहरूमा सहभागी युवा पुस्ताको प्रशंसा गर्दै उनीहरूलाई ‘क्रान्तिकारीका उत्तराधिकारी’ भने। उनले भने– ‘भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिबाट टाढा भनिएका पुस्तालाई पुनः राजनीतिक रूपमा सचेत बनाएका छन्। उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचार विरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन्।’

उनले प्रतिक्रान्तिको भयानक खतरालाई परास्त गर्न, र सङ्कट पार गर्न सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबिच वृहत् एकताको आवश्यकता औँल्याए। प्रचण्डले शहीद प्रतिष्ठान नेपाललाई शान्ति प्रक्रियाका बाँकी कामहरूको खोजीमा सक्रिय हुन र सहिद, बेपत्ता तथा घाइते योद्धाहरूका परिवारहरूलाई व्यापक रूपमा सङ्गठित गर्न निर्देशन दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप