महाकवि विद्यापति : नेपालसँगको ऐतिहासिक साइनो
सारांश
- मैथिली भाषाका महाकवि विद्यापतिको अवसान दिवसको अवसरमा उनको साहित्यिक योगदानको स्मरण गरिएको छ।
- विद्यापतिले मिथिलाका राजा शिव सिंहलाई बन्दी बनाएपछि रानी र परिवारलाई संरक्षण दिएका थिए।
- विद्यापतिको बनौली प्रवासको स्थल हाल संरक्षणको अभावमा ऐतिहासिक महत्त्व गुमाउँदै गएको छ।
धनुषा । आज कार्तिक धवल त्रयोदशी अर्थात मैथिली भाषाका महाकवि विद्यापतिको अवसान दिवस भएको दिन । मैथिली आधुनिक साहित्यलाई ऊर्जा प्रदान गर्ने कविकोकिल विद्यापति आफ्नो साहित्यिक सिर्जनाका माध्यमबाट आज पनि जनमानसमा जीवित छन् ।
मैथिल क्षेत्रमा उनलाई कविभन्दा पनि गीतकारका रूपमा समेत व्याख्या गरिन्छ । कविकोकिल विद्यापतिको जन्म भारतको विहार राज्यको मधुबनी जिल्लाको विस्फीमा भएको मानिन्छ । यद्यपि उनको जन्ममिति यकिन छैन, सन् १३४० देखि १३७५ को बीचमा जन्म भएको अनुमान गरिएको छ ।
विद्यापतिले आफ्नै लेखनीमार्फत आफ्नो अवसानको तिथि उल्लेख गरेका छन् -
मायबाप जो सदगति पाब,
सन्तति अनुपम सुख आब ।
विद्यापति आयु अवसान,
कार्तिक धवल त्रयोदशी जान ॥
अर्थात्, कविकोकिल विद्यापतिले आफ्नो अन्तिम श्वास कार्तिक धवल त्रयोदशीकै दिन लिएका थिए । यही कारणले मैथली समुदायले प्रत्येक वर्ष यस दिन विद्यापति स्मृति दिवसका रूपमा मनाउने परम्परा रहेको छ ।
विद्यापतिको पिता गणपति ठाकुर मिथिलाका तत्कालीन राजा कीर्ति सिंह र शिव सिंहका दरबारिया कवि थिए । पिता पनि कवि भएकाले विद्यापतिको साहित्यप्रतिको रुचि सानैदेखि बढेको अनुमान गर्न सकिन्छ ।

विद्यापतिको काव्य रचनामा तीन प्रमुख पक्ष पाइन्छ— आश्रयदाताको यशगान, श्रृंगार रसको वर्णन र भक्तिभाव । उनलाई अभिनव जयदेव, मैथिल कोकिल, रससिद्ध कवि, कवि शेखर, रसिक शिरोमणि, कविरत्न, कविरत्न कण्ठहार आदि उपाधि र उपनामहरूले पनि चिनिन्छ ।
विद्वानहरूका अनुसार, विद्यापतिको कवितामा विषयअनुसार रस र भाषाको चयन अत्यन्त सटिक पाइन्छ । वीररसका लागि उनले अवहट्ट भाषा, भक्ति र श्रृंगारका लागि मैथिली भाषा र शास्त्र वा दरबारसम्बन्धी काव्यका लागि संस्कृत भाषाको प्रयोग गरेका छन् ।
कविका रूपमा मात्र होइन, विद्यापति भूगोलका ज्ञाता, इतिहासकार, राजनीतिज्ञ, कर्मकाण्डी र समाज सुधारक पनि थिए । उनको काव्यले गरिब, धनी, उच्च–नीच सबैप्रति समान दृष्टिकोण झल्काउँछ ।
तत्कालीन समाजमा नारीको स्थिति, प्रेम र विवाह, बालविवाह, बहुविवाहजस्ता विषयमा उनले सात सय वर्षअघि नै आफ्ना कवितामार्फत कठोर प्रहार गरेका थिए । उनका काव्यहरूले आमा, सासू, स्त्रीधन, सतीप्रथा, वेश्याको सामाजिक स्थिति, नारीको शृंगारदेखि मिथिलाको आर्थिक, धार्मिक र सांस्कृतिक अवस्थासम्मका यथार्थ उजागर गर्छन् ।

विद्यापतिको काव्य कतै वैष्णव भक्ति भावमा डुबेको छ भने कतै शैवमार्गतिर उन्मुख देखिन्छ । तर उनको काव्यले सधैं मनुष्यलाई मानसिक रूपमा उच्च बनाउने र भविष्यप्रति आशा जगाउने प्रयास गर्छ । उनले विश्वमानवधर्मका पक्षपाती कविका रूपमा स्थान पाएका छन् ।
विद्यापतिको कवितामा गाउँघरका सामान्य पति–पत्नी राधा–कृष्णको रूपमा प्रस्तुत भएका छन् । उनका पदावलीहरूमा तत्कालीन सामाजिक विसंगति, रूढी र परम्पराको व्यंग्यात्मक चित्रण पाइन्छ ।
विद्यापति र नेपाल
कविकोकिल विद्यापतिको जन्म भारतमा भए पनि उनको सम्बन्ध नेपालसँग गहिरो रूपमा जोडिएको छ । इतिहासकारहरूका अनुसार, मुसलमान शासकहरूले मिथिलाका राजा शिव सिंहलाई बन्दी बनाएर दिल्ली लगेपछि विद्यापतिले शिवसिंहकी रानी र उनका परिवारलाई अहिलेको महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७ स्थित बनौलीमा संरक्षण दिएका थिए ।
मैथिली र संस्कृतका विद्वान् डा. गोविन्द चौधरीका अनुसार, विद्यापतिले बनौली प्रवासका बेला लिखनावली नामक ग्रन्थ लेखे र श्रीमद्भागवत को मैथिली अनुवाद पनि गरे ।
विद्यापतिको भजन परम्पराको प्रभाव काठमाडौं उपत्यकासम्म पुगेको छ । मल्लकालदेखि आजसम्म पनि उपत्यकाका मन्दिर र भजनगृहहरूमा उनका भजन गाइन्छन् —
बुधवा रंगीया भंगीया भोला,
चन्दन तिलक सोहे माथे हि डोलाय ।
बाजेलागि डमरु रिमिकी दिमिकिया,
नाचे लागी बुध्वा उँमकि उँमकिया...
भनहेँ विद्यापति शिवजीकी लीला,
जगत् पतिके लीला ॥
काठमाडौं उपत्यकामा नेवार समुदायले गाउने धेरै भजन विद्यापतिकै रचनाहरू हुन् ।
विद्यापतिको साहित्यमा विरोधी विचारधाराको अद्भुत समन्वय देखिन्छ — उनी सामन्त दरबारका कवि भए पनि लोकजीवनप्रति सचेत थिए । उनले संस्कृतमा रचना गरे पनि जनताको भाषा मैथिली र अवहट्टमा रस बसाल्न सके ।
उनले किर्तिलता ग्रन्थमा लेखेका छन् —
सक्कय बानी बहुजन भवइ पाअऊँ रस को मम्म न पाबइ ।
देसिल बयना सब जन मिठ्ठा, तेँ तैसन जम्पञो अबहट्ठा ॥
यसमा उनले जनभाषाको महत्त्व स्वीकार गर्दै अवहट्ट भाषालाई जन–प्रिय बनाएका छन् ।
विद्यापतिको व्यक्तित्वमा देशी–विदेशी सांस्कृतिक विचारहरूको संघर्ष झल्किन्छ, जसले उनलाई संक्रमणकालका प्रतिनिधि कविका रूपमा प्रस्तुत गर्छ । उनी दरबारिया भए पनि जनकवि थिए, श्रृंगारिक भए पनि भक्तिकवि थिए । उनी शैव, शाक्त र वैष्णव धाराहरूमा समान रूपले आस्था राख्थे र कुनै एक सम्प्रदायमा सीमित रहेनन् । उनका राधा–कृष्ण कुनै जाति वा देशका होइनन्— उनीहरू प्रेम र मानवताको सार्वभौमिक प्रतीक हुन् ।
- विद्यापति डीह अतिक्रमणको शिकार
डा. चौधरीका अनुसार, राजा शिव सिंहको अवस्था अज्ञात भएपछि विद्यापतिले रानी लखिमाको संरक्षणका जिम्मा लिए र उनलाई तत्कालीन राजा पुरादित्यको संरक्षणमा बनौलीमा राखे । विद्यापति त्यहीँ बसेर रानीका लागि काव्य रचना गर्थे, जुन स्थल अहिले ऐतिहासिक महत्त्व गुमाउँदै गएको छ ।

पिपरा गाउँपालिका–७ का स्थानीय भगवान मिश्रका अनुसार, विद्यापति डीह नामक स्थललाई स्थानीय सरकारले संरक्षण गर्न कुनै पहल गरेको छैन । 'गाउँपालिकाले अघिल्लो कार्यकालमा २१ लाख रुपैयाँको बजेट पनि छुट्याएको थियो, तर प्रयोग भएन,' उनले भने ।
स्थानीयहरूका अनुसार, उक्त डीह अहिले निजी नाममा दर्ता भइसकेको छ र केही भाग खेतीपातीका रूपमा प्रयोग भइरहेको छ । डीह हाल करिब ४ कठ्ठामा मात्र सीमित भए पनि पहिल्यै यस क्षेत्रमा कैयौं विघा जग्गा थियो ।
स्थानीयवासीहरूका भनाइमा, विद्यापति डीहलाई ऐतिहासिक र सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न तत्काल पहल आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण