पार्टी एकता दिगो हुन्छ, एमालेका क्रान्तिकारीहरूले पनि विजय हासिल गर्छन् : अग्नि सापकोटा
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ८ वामपन्थी दलहरूबिच आइतबार १८ बुँदे एकता सहमति पत्रमा हस्ताक्षर भयो । मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर नेपाली विशेषताको वैज्ञानिक कार्यक्रम बनाएर संयुक्त रूपमा अघि बढ्नेगरी शीर्ष नेताहरूले सहमति पत्रमा हस्ताक्षर गरे ।
जसअनुसार माओवादीले माओवाद र एकीकृत समाजवादीले जबज परित्याग गर्ने सहमति गरेका छन् । कात्तिक १९ गते भृकुटीमण्डपमा राष्ट्रिय भेला गरी एकता घोषणा गर्ने तयारी छ । पटक पटक टुटफुट र विभाजनको शृङ्खला भोग्दै आएका वामपन्थी दलहरू एक ठाउँमा आउनु सकारात्मक भए पनि एकता दिगो हुनेमा धेरैले प्रश्न उठाएका छन् । स्पष्ट विचार, सिद्धान्त, कार्यदिशा, कार्यक्रममा सहमति नगरी नेताहरूको सत्ता र शक्ति स्वार्थमा हुने एकताको कुनै अर्थ नभएको भन्नेहरूको जमात पनि धेरै छन् ।
यसअघि २०७५ सालमा भएको तत्कालीन एमाले र माओवादी केन्द्र बिचको एकता नेतृत्वको स्वार्थका कारण तीन वर्ष पनि टिकेन । यस पटक एकताको विषयलाई लिएर माओवादी र एकीकृत समाजवादी विभाजित भएको छ ।
पार्टी एकता र आगामी भविष्यको विषयमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटालाई रातोपाटीले प्रश्न गरेको छ। प्रस्तुत छ, सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश-
- ८ दलीय वामपन्थी एकता कति दिगो हुन्छ ?
यो दिगोस हुन्छ । किनभने विगतका धेरै अनुभव र शिक्षाहरूलाई समेत ध्यानमा राखेर हामीले एकता गरेका हौँ । यो आकस्मिक होइन, निकै लामो गृहकार्य गरेर, आ–आफ्ना पार्टीमा र संयुक्त रूपमा पनि बृहत् छलफल गरियो । विगतका निकै तीता अनुभवहरू पनि छन्, तिनलाई समेतलाई शिक्षा लिएर एकता गरिएको हो । त्यस कारण यो दिगो हुन्छ । र, यो अझ विस्तार हुन्छ । अझ यसको स्तरीकरण गति हुन्छ । एउटा ठुलो ऐतिहासिक पहलकदमी नै हुन्छ भन्ने मलाई लाग्छ । किनभने यति राम्रोसित यो गृहकार्य गर्ने क्रमदेखि आजसम्म यो सबै शीर्ष नेताहरू र कार्यदलमा भएका नेताहरूको समेतको संयुक्त बैठकमा धेरै राम्रो समझदारी भयो । जेनजी विद्रोहपछि देशमा असाधारण परिस्थिति बन्यो । त्यसले सबैलाई जिम्मेवार हुन, गम्भीरतापूर्वक सोच्न र एकताप्रति हुन निकै प्रेरित गरेको जस्तो महसुस भयो । त्यस कारण यो एकता दीर्घकालीन रूपमै जान्छ ।
- तपाईँहरूले विगत तीन वर्षदेखि सिङ्गो समाजवादी मोर्चालाई नै एकता प्रक्रियामा ल्याउने भन्नुभएको थियो । तर माओवादी जनयुद्धका योद्धा विप्लव छुट्नुभयो, किन ?
उहाँलाई पनि समेट्नका लागि धेरै पहल गरियो। पटक पटक कुराकानी पनि गरियो तर अन्तिममा समेट्न सकिएन। कुराकानी अझै जारी रहन्छ। उहाँलाई पनि समेट्ने प्रयत्न भइनै रहन्छ। तर फेरि पनि जुन आठ दल बिचमा भएको एकताले प्रभावशाली कम्युनिस्ट पार्टी नै बन्छ भन्ने लाग्छ । उहाँलाई हाम्रो तर्फबाट सँगसँगै जानका लागि अधिकतम बल गरेकै हो । अहिले उहाँ छुट्नुभएको छ, अहिले छुटे पनि कालान्तरमा आउनुहुन्छ ।
- २०७५ सालमा जसरी तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भएको थियो, त्यो तीन वर्ष पनि टिकेन । अहिले तपाईंकै पार्टीका नेता जनार्दन शर्मा छुट्ने अवस्था आएको छ । एकीकृत समाजवादी तीन टुक्रा हुने देखियो । यस्तो अवस्थामा एकता कसरी दिगो हुन्छ ?
हैन, त्यो उहाँहरू पनि नछुट्नुहोस् भनेर हामीले निकै गम्भीरतापूर्वक पहलकदमी गर्यौँ। घनश्यामजीहरू समेटिनुभएको छैन। जनार्दनजी अझै एक दुई दिनपछि बैठकमा आउँछु भन्नुभएको छ । केही कमरेडहरू अहिले तत्कालका लागि छुटे पनि फेरि यसमा समाहित हुने कुराको निकै राम्रो आधार छ । धेरैजसो समेटिसकेका छन् । केही बाँकी भएकालाई समेट्न प्रयत्न गर्नुपर्छ भनेर सबैले भनेका छन्। र, सबैले आ–आफ्नो तर्फबाट पहलकदमी लिने भनिराखेका छन्। यो इतिहासको वस्तुगत आवश्यकता हो । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, आत्मनिर्णयको अधिकारको जुन सवाल छ, ती सबै कुराहरूले गर्दा अहिलेको वस्तुगत परिस्थितिमा पनि हामीलाई एकताबद्ध हुनलाई प्रेरित गरेको छ। यो एकताबद्ध भइरहन किन पर्नेछ भने हामीले एउटा जनतालाई विश्वास दिलाएर देशव्यापी पुनर्जागरण आन्दोलनतिर जानुपर्ने आवश्यकता पैदा हुँदै छ ।
यो देशको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानका लागि सबैभन्दा बढी अग्रमोर्चामा रहेर बलिदानीपूर्ण सङ्घर्ष गर्दै आएका कम्युनिस्ट पार्टीहरू नै हुन् । मूलभूत रूपमा कम्युनिस्टहरू नै देशका लागि राष्ट्रियता, जनतन्त्र, जनजीविकाको लागि अनवरत लडिराखेका छन्।
यो देशको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानका लागि सबैभन्दा बढी अग्रमोर्चामा रहेर बलिदानीपूर्ण सङ्घर्ष गर्दै आएका कम्युनिस्ट पार्टीहरू नै हुन् । आधारभूत र मूलभूत रूपमा कम्युनिस्टहरू नै देशका लागि राष्ट्रियता, जनतन्त्र, जनजीविकाका लागि अनवरत लडिराखेका छन्। त्यसमा पनि अहिले जनआन्दोलनले एउटा गुणात्मक रूपमा सोच्नुपर्ने आवश्यकता पैदा भयो । मैले त्यो छलफलमा के देखेँ भने सबै पार्टीका नेताहरूले असाध्यै धेरै गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक विषयलाई ग्रहण गरेको र त्यसरी अगाडि बढ्ने सङ्कल्प गर्नुभएको छ । त्यस कारण यो एकता दिगो हुन्छ, हुनुपर्छ। दिगो बनाउनका लागि जोजो पार्टीहरू एकतामा समेटिएका छन्, सबैले गर्छन्। मैले तपाईंमार्फत यो देशका सबै अग्रगमनकारी शक्तिहरू, परिवर्तनका बाहकहरू, पत्रकार, बुद्धिजीवीलाई दिगो बनाएर नै राष्ट्रहीत, जनहित हुन सक्छ भन्ने लाग्छ।
- तपाईंहरूले २०५२ सालमा नेकपा माओवादीको नाममा युद्ध गर्नुभयो । त्यसकै राप र तापमा स्थापित भएको पार्टी आज विघटन गर्नुभयो । विगत २० वर्षदेखि गोलाकारभित्र हँसिया हथौडामा भोट हालेका चुनाव चिन्ह नै परिवर्तन गर्नुभयो । माओवादबाट विचलित हुनुभएको हो ?
तपाईंले भनेको ठिकै हो । गोलाकारभित्रको हँसिया हथौडामा भोट हालिराखेकाहरूलाई अलि खल्लोखल्लो महसुस हुने, अनि माओवादी केन्द्र भनिराखेकाहरूलाई अलिकति खल्लोखल्लो महसुस हुने कुरा हुन्छ नै। तर अहिले हामीले अलि सबै चिज चिन्हहरू छानेका छौँ । फेरि टुङ्गो लाग्दै जाला, फाइनल हुनै बाँकी छ । नाम पनि हामीले त्यस्तै दुरुस्त नै गर्छौँ ।
जहाँसम्म तपाईंले मार्गनिर्देशक सिद्धान्तको कुरा गर्नुभएको छ, हाम्रो बिचमा के समझदारी भएको छ भने वैचारिक विकासको अनिवार्य छ । वैचारिक विकास गर्दै जाने र अनि हामीले विचारलाई खुला गरेका छौँ । हामी बहस गर्दै गएर महाधिवेशनमा गएर एउटा निष्कर्षमा पुग्छौँ। विचारको बहसलाई बन्देज लगाएका छैनौँ । तपाईंले भन्नुभएको जस्तो सधैँका लागि माओवाद छोडेको हो कि भन्ने जुन प्रश्न छ, त्यसमा हामी बहसमै छौँ।
- अहिलेकै चुनाव चिन्ह र पार्टीबाट २०६४ सालमा प्रत्यक्ष १२० सिट जित्नुभयो । २०७० को निर्वाचनपछि हरेक निर्वाचनमा सिट सङ्ख्या र मतसंख्या घट्दै गयो । तर अहिले हठात् पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, चुनाव चिन्ह परिवर्तन गरेर ठुलो दल बन्ने सपना पूरा होला ?
हामीले धेरै राम्रोसित इतिहासका समीक्षा पनि गरेका छौँ । तपाईंले भनेको जस्तो आङ्कलन पनि गरेका छौँ । तर फेरि रूप र सार दुवैको महत्त्व छ तर अन्तिममा फेरि सार नै प्रधान हो। विगतमा हामीले माओवादको नाममा, माओवादी पार्टीको नाममा, निकै ठूलाठूला सफलता पनि हासिल गरेको हो। हँसिया हथौडा चुनाव चिन्ह लिएर नै २०६४ मा जनताको समर्थन प्राप्त गरेका थियौँ । अहिले त्यो ह्रास हुँदै गएको कुरा पनि साँचो हो। त्यसको मुख्य कुरा हाम्रो जनतासितको सम्बन्ध पनि पातलो भयो, खुकुलो भयो। हामीले हाम्रो वर्ग सम्बन्धलाई पनि त्यति सुदृढ गर्न सकेनौँ। त्यस कारण हाम्रो वर्ग विश्लेषण कमजोर भयो। आज हाम्रो एकता प्रक्रिया चल्दै गर्दा धेरै गम्भीरतापूर्वक हामीले के छलफल गरेका छौँ भने विचारको विकास अपरिहार्य छ। हामी विचारको विकासमा सीमाविहीन ढङ्गले मेहनत गर्नुपर्छ भन्ने कुरामा हाम्रो साझा सङ्कल्प छ। त्यसो भयो भने जनतालाई एक प्रकारको केही समय अलि खल्लोखल्लो महसुस भए पनि हामीले विचारको विकास गर्दै गएर, जनतासित घनिष्ठ सम्बन्ध स्थापित गर्न सक्छौँ । जनताको सेवामा समर्पित हुने साँचो अर्थमा, इमान्दारीपूर्वक, त्यो निष्ठाका साथ गर्यौँ भने फेरि जनताले हामीलाई विश्वास गर्छन्। हामीलाई विश्वास गर्ने एकमात्र आधार हामी जनताको पक्षमा सत्यता झैँ उभिइदिनेछौँ। राष्ट्रको पक्षमा हामी इस्पाती संकल्पका साथ अगाडि बढ्नेछौँ। हामी व्यवहारद्वारा हामी यो कुरा स्थापित गर्नेछौँ किनभने हामीले धेरै नै अनुभवहरू गर्यौँ। त्यो अनुभवबाट हामीले धेरै राम्रा शिक्षाहरू प्राप्त गरेका छौँ।
के कुरा साँचो हो भने एमालेभित्र धेरै अझै पनि क्रान्तिकारीहरू, देशभक्तहरू छन्। नेतृत्वका विरुद्ध त्यहाँ आवाज पनि उठिरहेको छ। तर मलाई लाग्छ एक दिन त्यहाँका देशभक्तहरूले पार्टीमा विजय हासिल गर्नेछन्।
- छिमेकी मुलुक चीनमा हेर्ने हो भने ७५ वर्षदेखि एउटै कम्युनिस्ट पार्टीले देशमा कायापलट गरेको छ । संसारका अन्य मुलुकमा पनि दुई तीन सय वर्षदेखि एउटै पार्टीले शासन सत्ता चलाएका छन् । तर नेपालका कम्युनिस्ट पार्टीहरूले किन छिनछिनमा पार्टीको नाम परिवर्तन गर्छन् ? पार्टीको नाम, झन्डा, चुनाव चिन्हभन्दा जनताको काम ठुलो होला नि ?
तपाईंले भने जस्तो कामै ठुलो हो । नाम पनि महत्त्वपूर्ण कुरा हो। तर नामभन्दा कामै ठुलो हो, तपाईंले ठिक भन्नुभयो। हामी निष्कर्षमा पुग्छौँ, १९ गते हाम्रो एकता सम्मेलन हुँदै छ। त्यहाँबाट निर्णय भइसकेपछि एकता दिगो रूपमा अगाडि बढ्छ । त्यस कारण म फेरि पनि विशेष जोड दिएर के भन्छु भन्दाखेरि हामीले सारलाई छोडेका छैनौँ, पक्रेकै छौँ। रूपमा फेरि समय, परिस्थितिअनुसार बृहत्तर एकताका लागि, सबैलाई एकताबद्ध गर्नुपर्यो । सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भएको हुनाले यो साझा दृष्टिकोण, साझा आधारभूत सिद्धान्तमा तलमाथि नहुने गरी साझा सहमति कायम गर्नुपर्ने भयो । समय र परिस्थितिको ख्याल गर्दै, ठोस स्थितिको ठोस विश्लेषण गर्दै केही रूप पक्षहरूलाई हामीले अलिकति परिवर्तन गरेका छौँ। यसको अर्थ हामीले जनतासितको सम्बन्ध, जनताको सेवामा समर्पित हुने कुरा, अग्रगमनको लागि लड्ने कुरा, राष्ट्रियता, जनतन्त्र, जनजीविकाको लागि सङ्घर्षमा जाने कुरामा कुनै कमी हुने छैन। अझ यो एकताबद्ध शक्तिले गुणात्मक ढङ्गले आफ्नो कामहरू, गतिविधिहरू अगाडि बढाउने छ।
- तपाईंहरूले पार्टी पुनर्गठन गर्दै जाँदाखेरि कति शक्ति प्राप्त गर्नुभयो त्यो भोलिका दिनमा जनताबाट परीक्षण हुने कुरा भयो । केन्द्रमा नेताको मात्र गर्दन जोडेर पार्टी पुनर्स्थापित होला ?
पहिलो कुरा हामी शुद्धीकरण अभियान पनि चलाउँछौँ । रूपान्तरण हुनका लागि हामीले सङ्कल्प गरेका छौँ। हामीले व्यक्तिगत रूपमा नेतृत्व तहमा आत्म समीक्षा पनि गरेका छौँ । सामूहिक रूपमा आत्म समीक्षा गरेका छौँ । आत्मालोचना गरेका छौँ । हामी सुधार गर्दै जान्छौँ। आत्मशुद्धी, आत्मसुधार, आत्मनवीकरण, आत्म अभिव्यक्तिको माध्यमद्वारा हामी हाम्रो नयाँ पार्टी जुन निर्माण हुँदै छ, त्यो पार्टीको रूपान्तरण, शुद्धीकरण छँदैछ। त्यो पार्टीको रूपान्तरण, शुद्धीकरणसँगसँगै हामी यो देशकै पनि रूपान्तरण र शुद्धीकरणको आवश्यकता छ । त्यसका साथसाथै आन्दोलनको पनि हामीले शुद्धीकरण गर्नुपर्ने, आन्दोलनका रुपहरू फेर्नुपर्ने छ । पछिल्लो जेनजी आन्दोलनले पनि हामीलाई पाठ सिकाएको छ । अब हिजोको ढङ्गले आन्दोलन, क्रान्ति हुन्न किनभने विज्ञान र प्रविधिले धेरै ठूलाठूला चमत्कारहरू गरिसकेको छ। अहिले युद्ध हेर्नुभयो भने तपाईंले देख्नुभयो भने प्रविधिले नै युद्ध सञ्चालन भइरहेको छ। त्यस कारण नवप्रवर्तन अनि त्यसपछि विज्ञानको विकास, यी सबैलाई हामीले विकास गर्नुपर्छ र अर्थात् छोटकरीमा भन्नुपर्दा मार्क्सवादमा नयाँ प्रादुर्भाव, नयाँ मूल्यमान्यता, नयाँ मापदण्ड, नयाँ खालको वैज्ञानिक समाजवाद र त्यसको विचार हो । विचारको विकास कसरी हुन्छ भन्दाखेरि यो समयको गति, हाम्रो विगतमा भएको अभ्यासको प्रगति र विज्ञानको विकास, यी तीनवटा कुरा मिलाउँदै गएर पछि गुणात्मक छलाङ मार्ने स्थितिमा पुग्छौँ भन्ने मलाई लाग्छ।
- एमालेसँग तत्काल एकताको केही सम्भावना वा गुन्जाइस देख्नुभएको छ ?
अहिले तत्कालै त्यो सम्भावना देखिँदैन। तर के कुरा साँचो हो भने एमालेभित्र धेरै अझै पनि क्रान्तिकारीहरू, देशभक्तहरू छन्। नेतृत्वका विरुद्ध त्यहाँ आवाज पनि उठिरहेको छ। तर मलाई लाग्छ एक दिन त्यहाँका क्रान्तिकारी र देशभक्तहरूले पार्टीमा विजय हासिल गर्नेछन्। त्यतिबेला हाम्रो र उनीहरूको पनि पार्टी एकता भएर हामी अगाडि जान्छौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण