बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कतारमा राष्ट्रपतिले भने- फागुन २१ को निर्वाचन जेनजी आन्दोलनको उपलब्धि हो

सोमबार, १७ कात्तिक २०८२, २१ : ००
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई जेनजी आन्दोलनको उपलब्धि भएको बताए र यसलाई सफल पार्न आग्रह गरे।
  • उनले युवा पुस्ताको आन्दोलनबाट भ्रष्टाचार अन्त्य र सुशासनको अपेक्षा गरिएको बताए, र संविधान जोगाउन सफल भएको उल्लेख गरे।
  • राष्ट्रपति पौडेलले कतारको अनुभव नेपालको विकासमा लगाउन नेपाली समुदायलाई आग्रह गरे, र उनी दोहामा आयोजित शिखर सम्मेलनमा सहभागी भएका छन्।

कतार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन जेनजी आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने समेत बताए । 

दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुनेक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै उनले यस्तो बताएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए । 

उनले युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु नपर्ने अवस्थाका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएर संविधान र प्रणाली जोगाउन सकिएको पनि बताए ।

उनले संसारका अन्य देशमा युवा पुस्तको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गरे । कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरेको पनि पोखरेलले जानकारी दिए । 

कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार नै दोहा आइपुगेका राष्ट्रपति पौडेल र प्रथम  महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्च पदस्थ कर्मचारी, गै्रह आवासीय नेपाली संघका प्रतिनिधिले स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप