बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकामा मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपणको क्लिनिकल परीक्षण सुरु

मङ्गलबार, १८ कात्तिक २०८२, १० : २९
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपणको पहिलो क्लिनिकल परीक्षण सुरु भएको छ, जुन एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको हो।
  • यो परीक्षण जीन-सम्पादन गरिएको सुँगुरको मिर्गौलाबाट मानिसमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा महत्त्वपूर्ण कदम हो।
  • परीक्षणमा सुरुमा ६ जना बिरामी समावेश हुनेछन्, र यसको सफलताले ५० जनासम्म विस्तार गर्ने योजना छ।

वासिङ्टन डीसी । अमेरिकामा मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न पहिलो क्लिनिकल परीक्षण सुरु भएको छ । जीन–सम्पादन गरिएको सुँगुरको मिर्गौला बनाउने कम्पनी युनाइटेड थेराप्युटिक्सले सोमबार गरेको घोषणाअनुसार पहिलो प्रत्यारोपण एनवाईयू ल्याङ्गोन हेल्थमा सफलतापूर्वक गरिएको छ ।

यो परीक्षण जीनोटाइप गरिएको सुँगुरको मिर्गौलाबाट मानिसमा अङ्ग प्रत्यारोपणतर्फ एक प्रमुख कदम भएको कम्पनीले भनेको छ । एनवाईयूका डा. रोबर्ट मोन्टगोमेरीको नेतृत्वमा गरिएको परीक्षणमा सुरुमा छ जना बिरामीलाई समावेश गरिनेछ । परीक्षण सफल भएमा यसलाई ५० जनासम्म विस्तार गर्न सकिने बताइएको छ । बिरामीहरूको पहिचान गोप्य राखिएको छ ।

एफडीआईले प्रत्यारोपणलाई मन्जुरी दिइसकेको छ । यस अघि पनि मान्छेमा अस्थायी रूपमा यस्तो प्रत्यारोपण भएका थिए । यसमा मिश्रित सफलता पाइएको थियो । अलाबामाकी एक महिलामा हालिएको सुँगुरको मिर्गौला १३० दिनसम्म चलेको थियो । न्यू ह्याम्पशायरमा पनि एक बिरामीको मिर्गौला २७१ दिनसम्म चलेको थियो । यी परीक्षणहरू मार्फत, डाक्टरहरूले बिरामीहरूमा अंगको आयु कसरी बढाउने भन्ने सिकिरहेका छन् ।

अमेरिकामा मात्रै १ लाख भन्दा बढी मानिसहरू मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । हजारौँ मान्छे पर्खिदा पर्खिँदै मृत्युको सँघारमा पुगिसकेका छन् । पशुका अङ्ग पनि मानव अंगजस्तै बनुन् र प्रतिरक्षा प्रणालीद्वारा कम सजिलै अस्वीकार नहुन् भन्नका लागि वैज्ञानिकहरूले जीन–सम्पादन गरिएका सुँगुरहरूको मिर्गौला प्रयोग गरिरहेका छन् । युनाइटेड थेराप्युटिक्सको यस परीक्षणमा १० वटा जीन–सम्पादन गरिएका मिर्गौलाहरू प्रयोग भइरहेका छन् । यो परीक्षणले भविष्यमा अङ्ग प्रत्यारोपणमा क्रान्तिकारी परिवर्तन ल्याउने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप