शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विशेष महाधिवेशनमार्फत कांग्रेसको फोहोर सफा गरेर मात्रै निर्वाचनमा जानुपर्छ : नेता चालिसे

विशेष महाधिवेशनले पार्टीलाई बहुमत दिन्छ: अमरसिंह पुन मगर
मङ्गलबार, १८ कात्तिक २०८२, १६ : ४५
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • देवराज चालिसेले कांग्रेसको केन्द्रीय समितिको 'फोहोर' सफा गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए।
  • उनले पार्टी सुधारेर जनताको माझ जान सके मात्रै निर्वाचनमा जित्न सकिने बताए।
  • विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनअघि नै पार्टीको महाधिवेशनको माग गरेका छन्।

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरका नेता देवराज चालिसेले कांग्रेसको केन्द्रीय समितिमा रहेको 'फोहोर' सफा गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनमार्फत नीतिगत सुधार गरेर मात्रै निर्वाचनमा जान सकिने बताए। पार्टी सुध्रिएर जनताको माझ जान सकेमा मात्रै जनताले पत्याउने उनको भनाइ छ।

चालिसेले केन्द्रीय समितिमा निर्वाचनपछि मात्रै महाधिवेशनको कुरा उठ्ने गरेको उल्लेख गर्दै पुरानो अनुहार लिएर जनताको माझ जान नसकिने बताए। उनले वर्तमान नेतृत्वले जनताको असन्तुष्टिको आवाज सुन्न नसकेको आरोप लगाउँदै विगतमा जनताको आवाजको नेतृत्व गर्ने पार्टी आज आफैँ जनताको असन्तुष्टिको सामना गर्न बाध्य भएको बताए। पार्टीमा आएको यति ठूलो अन्तरको निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘हामी नीतिगत सुधार मात्रै होइन, जनताको आश सम्बोधन गर्ने नीति मात्रै होइन। नेपाली कांग्रेसको केन्द्रीय समितिमा जम्मा भएको फोहोर सफा गरेर मात्रै चुनावमा जान चाहन्छौँ भन्ने हाम्रो आग्रह हो। पार्टी सुध्रिन पऱ्यो, पार्टी बदलीन पऱ्यो। अनि मात्रै जनताले पत्याउँछ।’

उनले जनताको आकाङ्क्षा पूरा गर्नको लागि कांग्रेसको नीति र नेतृत्व दुवै परिवर्तन आवश्यक रहेकोले आफूहरूले विशेष महाधिवेशनको माग गरेको बताए। सच्चिएको कांग्रेस, नयाँ नीति, नयाँ नेतृत्वसहित जनताकहाँ गएमा मात्र जनताले पत्याउने उनको तर्क छ।

विशेष महाधिवेशनले पार्टीलाई बहुमत दिन्छ: अमरसिंह पुन मगर

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने भनेर निराधार हल्ला चलाइएको बताए।

उनले २०१४ सालमा भएको पार्टीको महाधिवेशनले पार्टीलाई दुई तिहाइ सिट ल्याएर संसद्मा पुर्‍याएको स्मरण गर्दै यसपटक हुने विशेष महाधिवेशनले पनि पार्टीलाई बहुमत दिलाउने दाबी गरे। वर्तमान व्यवस्थामा दुईतिहाइ सिट ल्याउन सक्ने अवस्था नरहेपनि फागुनमा हुने निर्वाचनमा बहुमत ल्याउनेगरी लाग्न उनले सबैलाई आग्रह गरे।

उनले भने, "विशेष महाधिवेशनले पार्टीले पार्टीलाई के दिन्छ भन्ने आवाज उठेको छ। पार्टी फुट्छ भन्ने कुरा पनि उठ्छ। २०१४ सालको विशेष महाधिवेशनले दुई तिहाइ कांग्रेसको संसद्मा उपस्थिति थियो। त्यसकारणले नेपाली कांग्रेस यसपालीको विशेष महाधिवेशनले आगामी फागुन २१ गते हुने निर्वाचनमा यो व्यवस्थाले दुईतिहाइ त नहोला, बहुमत जित्नेगरी अगाडि जानेगरी सबै साथीहरू जान आग्रह गर्दछु।"

  • विशेष महाधिवेशनको माग

विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनअगाडि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने र नियमित हुन नसकेमा विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन्। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राख्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर समेत बुझाइसकेका छन्।

यता, कांग्रेसको संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ भने संस्थापनइतर पक्ष पुससम्ममा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप