बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

जेनजी प्रदर्शन : भाटभटेनीमा जलेका ७ वटा शवको पोस्टमार्टम भएन, डीएनए परीक्षण गरिँदै

मङ्गलबार, १८ कात्तिक २०८२, २० : ३५
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • बौद्धको भाटभटेनीमा मृत फेला परेका ७ जनाको शवको पहिचान हुन सकेको छैन।
  • जेनजी प्रदर्शनमा मारिएका ३४ जनाको पोस्टमार्टम रिपोर्ट अनुसार कम्मरमाथि गोली प्रहार भएको पुष्टि भएको छ।
  • पोस्टमार्टम रिपोर्टअनुसार, प्रदर्शनकारीहरूलाई १ मिटरभन्दा टाढाबाट गोली हानिएको देखिन्छ।

काठमाडौँ । काठमाडौँको बौद्ध स्थित भाटभटेनी सुपरमार्केटमा मृत भेटिएका ७ जनाको शवको पहिचान खुलेको छैन ।

गत भदौ २४ मा उच्छृङ्खल समूहले भाटभटेनीमा आगजनी गरेपछि सरसफाइ गर्ने क्रममा ७ जनाको शव निकालिएको थियो । 

शरीरको पुरै भाग जलेको अवस्थामा प्रहरीले सङ्कलन गरेर लगेको शव पोस्टमार्टम गर्न सम्भव नभएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले रातोपाटीलाई बताए ।

प्रहरीले सङ्कलन गरेको शवको पोकाहरू शिक्षण अस्पतालबाट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । डीएनए परीक्षणको लागी सङ्कलित नमुनाहरू प्रहरीको प्रयोगशालामा पठाइएको डा. चौधरीले जानकारी दिए ।

शरीरको पुरै भाग जलेको हुनाले डीएनए पनि नष्ट भएको आशङ्का गरिएको छ । विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षणको काम सुरु गरेको छ ।

जेनजी प्रदर्शनमा काठमाडौँमा प्रहरीको गोली लागेर ज्यान गुमाएका ३४ जनाको पोस्टमार्टम गरिएको छ । गोलीबाट मारिएकाहरू सबैको कम्मरमाथि गोली लागेको पोस्टमार्टमबाट थाहा भएको छ । 

काठमाडौँको बानेश्वर, कालीमाटी, महाराजगञ्ज र गौशाला क्षेत्रमा गोली प्रहारबाट मारिएका मध्ये ११ जनाको टाउकोमा गोली लागेको भेटिएको छ । १६ जनाको छातीमा, ४ जनाको पेटमा र ३ जनाको घाँटीमा गोली लागेको भेटिएको छ ।

पोस्टमार्टम रिपोर्ट अनुसार प्रदर्शनमा मृत्यु भएकाहरू सबैलाई ‘हाई भेलोसिटी फायर आर्म’ को गोली लागेको भेटिएको छ । फरेन्सिक विज्ञ डा. चौधरीले भने, ‘हाई भेलोसिटी फायर आर्मको बुलेटबाट मृत्यु भएको देखिन्छ ।’

प्रहरीले गोलीको ब्यालेष्टिक जाँच पनि गर्ने भएको छ । ब्यालेष्टिक जाँच गर्दा कुन राइफलबाट गोली चलेको थियो भन्ने थाहा हुन्छ ।

मृतकहरूको शरीरबाट सङ्कलन गरिएको ९ वटा फुटेको गोलीको नमुना केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको डा. चौधरीले बताए । उनले भने, ‘ब्यालेष्टिक जाँचको लागी सङ्कलित गोलीको नमुना पठाएका छौँ ।’

फरेन्सिक जाँचमा संलग्न चिकित्सकले जेनजी प्रदर्शनमा गोली लागेर मृत्यु भएकाहरूको ‘वुण्ड ब्यालेष्टिक’ अर्थात ब्यालेष्टिक घाउजाँच परीक्षण तथा विश्लेषण गरेका छन् । त्यसबाट शरीरमा गोलीको कस्तो चोट देखियो भन्नेबारे अध्ययन गरिन्छ ।  

घाउको प्रकृति हेर्दा सबैलाई हाई भेलोसिटी हतियारले प्रहार गरेको भेटिएको छ । डा. गोपाल चौधरी भन्छन्, ‘सानो हतियारको चोट कुनै शवमा पनि भेटिएन ।’ घाउको प्रकृति विश्लेषण गरेर चिकित्सकहरूले ‘बुलेट फायर फर्म हाई भेलोसिटी’ भन्ने रिपोर्ट दिएका छन् ।

पोस्टमार्टम रिपोर्ट अनुसार मृतकहरूलाई १ मिटरभन्दा परेको दुरीबाट गोली प्रहार गरेको भेटिएको छ । डा. चौधरी भन्छन्, ‘सबैलाई १ मिटर र त्यसभन्दा पनि परबाट गोली लागेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप