आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीको भौतिक मन्त्रालयमा पुँजीगत खर्च निराशाजनक

बुधबार, १९ कात्तिक २०८२, १४ : ३१
बुधबार, १९ कात्तिक २०८२

सुर्खेत । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पहिलो त्रैमासिक समीक्षा गरेको छ । समीक्षा अनुसार मन्त्रालय र मातहतका कार्यालयहरूको वित्तीय प्रगति निकै कमजोर देखिएको छ । 

विशेषगरी पुँजीगत खर्चतर्फको उपलब्धि निराशाजनक छ । कुल वार्षिक बजेटको २२.३४ प्रतिशत त्रैमासिक विनियोजन भएपनि वास्तविक खर्च भने विनियोजित लक्ष्यको २० प्रतिशत पनि पुग्न सकेको छैन । मन्त्रालयले चालु आर्थिक वर्षका लागि कुल ११ अर्ब १ करोड २१ लाख ७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यसमध्ये पुँजीगत बजेट १० अर्ब ७३ करोड १४ लाख ८३ हजार रहेको छ, जुन कुल बजेटको करिब ९७.४५ प्रतिशत हो । चालु बजेट २८ करोड ६ लाख २४ हजार छुट्याइएको छ । 

पहिलो त्रैमासिकका लागि मन्त्रालयले कुल २ अर्ब ४६ करोड १० लाख ५० हजार विनियोजन गरेको थियो । यसमध्ये पुँजीगततर्फ २ अर्ब ३८ करोड २३ लाख ४७ हजार अर्थात् २२.२० प्रतिशत बराबरको बजेट कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो । तर पहिलो त्रैमासिकमा पुँजीगततर्फ जम्मा ४३ करोड ५० लाख १८ हजार मात्र कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ । 

पुँजीगत बजेटको आधारमा हेर्दा यो खर्च ४.०५४ प्रतिशत मात्र हुन आउँछ । विकास निर्माण र पुँजी निर्माणमा सिधा प्रभाव पार्ने पुँजीगत खर्चमा देखिएको यो सुस्तताले आर्थिक वर्षको अन्त्यसम्ममा लक्षित विकास निर्माणका कामहरूमा चुनौती थपिने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप