बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मिडियाप्रति वर्षाको आक्रोश, फरक अर्थ प्रस्तुत गरेको भन्दै दुखाइन् मन

बुधबार, १९ कात्तिक २०८२, १९ : १७
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • अभिनेत्री वर्षा राउतले मिडियाको भूमिकाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा पोस्ट लेखिन्।
  • उनले आफ्नो नयाँ चलचित्र 'हर्ष' को कार्यक्रममा व्यक्तिगत प्रश्नको जवाफ नदिएपछि मिडियाले गलत अर्थ लगाएको बताइन्।
  • राउतले कलाकारको काम र सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्ने र व्यक्तिगत जीवनका अनुमानलाई महत्व नदिन आग्रह गरिन्।

काठमाडौँ । अभिनेत्री वर्षा राउतले मिडियाको भूमिकाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।

आफ्नो नयाँ चलचित्र 'हर्ष'को ट्रेलर रिलिज कार्यक्रममा व्यक्तिगत प्रश्नहरूको जवाफ नदिने निर्णय गरेपछि मिडियाले उनको मौनतालाई फरक अर्थमा प्रस्तुत गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी हुन् । 

राउतले बुधबार लेखेको पोस्टमा भनेकी छन्, 'कहिलेकाहीँ मौन रहनु नै सबैभन्दा राम्रो उत्तर हुन्छ भन्ने लाग्छ । तर आज आएर मिडियामा मेरो नबोलेका कुराहरूलाई फरक अर्थमा प्रस्तुत गरिएको देख्दा मन दुख्यो ।'

उनले मिडियामा 'बोल्न कहिलेकाहीँ डर लाग्ने' कुरा स्विकार्दै त्यो डर अहंकार वा दूरी बनाउने इच्छा नभई सरल मनले बोलेको कुरा पनि गलत अर्थमा लिएर व्यक्तिगत जीवनमा जोडिदिने प्रवृत्तिले गर्दा भएको स्पष्ट पारेकी छन्। 'त्यसैले म बोल्नुअघि सयपटक सोच्न थालेकी छु,' उनले थपेकी छन् । 

अभिनेत्री राउतले चलचित्र 'हर्ष'को कार्यक्रम भए पनि चलचित्रले हेडलाइन पाउन नसकेकोमा चिन्ता व्यक्त गरेकी छन् । 'कार्यक्रम त चलचित्र हर्षको थियो, तर न चलचित्रले हेडलाइन पायो, न कतै त्यसको उल्लेख भयो । व्यक्तिगत र भ्रामक हेडलाइनहरू मात्र बन्न पुगे,' उनले भनेकी छन् । 

उनले कलाकारको सबैभन्दा ठुलो पहिचान उसको काम, मिहिनेत र सिर्जनशीलता भएको बताउँदै व्यक्तिगत जीवनका अनुमान नभएकोमा जोड दिएकी छन् । राउतले आफ्नो परिवार, पेसा र दर्शकहरूप्रति गहिरो सम्मान रहेको पनि उल्लेख गरेकी छन् । 

मिडियाले आफ्नो हातमा लागेको पुरानो दागलाई भ्रामक तरिकाले प्रस्तुत गरेकोमा पनि उनले आपत्ति जनाएकी छन् । 'आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन् । मेरा १०–१५ वर्षअघिका तस्बिरहरू अझै पनि मेरो प्रोफाइलमै छन्, त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिन्छ,' उनले भनेकी छन् । 

राउतले 'हर्ष' आफ्नो सम्पूर्ण टिमको मिहिनेत र मनको भावना भएकोले त्यसलाई मनदेखि महसुस गरिदिन दर्शकहरूसमक्ष आग्रह पनि गरेकी छन् ।

barsha-post

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप