शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

प्रचण्डको तीन घुम्ती : वृद्धहरूको अनुहार देखाएर 'नम्बर वान' पार्टी बनाउने सपना !

बिहीबार, २० कात्तिक २०८२, १४ : ०१
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • प्रचण्डले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० दलको एकता घोषणा गर्दै पार्टी एक नम्बर बन्ने दाबी गरे।
  • प्रचण्डले आगामी मंसिरमा ७३ वर्ष पार गर्दै गर्दा, पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब र वृद्ध नेताहरूको उपस्थितिको बारेमा चर्चा भयो।
  • पार्टी एकता र नेतृत्व हस्तान्तरणको ठोस योजना नभएको र जेनजी विद्रोहको भावनालाई कदर नगरेको आरोप लागेको छ।

काठमाडौँ । प्रस्तावित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल नम्बर एक हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० दलको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूको एकताबाट विदेशी प्रतिक्रियावादीलाई निन्द्रा नलागेको समेत भन्न भ्याए ।

‘यो पार्टी अब एक नम्बर पार्टी भयो–भयो । एक नम्बर बन्नबाट कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला  । नलागे नलागोस्’, उनले भने ।

तर कसरी एक नम्बर पार्टी बन्छ भन्ने विषयमा उनले स्पष्ट खाका र योजना प्रस्तुत गरेनन् । एकीकृत समाजादीबाहेक नामै नसुनेका स–साना वामपन्थी घटकलाई जोडजाड गरेर बनेको एकताबाट प्रचण्ड हौसिएका देखिन्थे । मञ्चमा प्रचण्डका दायाँबायाँ बसेका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूको उपस्थितिले आगामी दिनमा नेकपा कस्तो बन्दैछ भन्ने कुरा झल्किन्थ्यो ।

प्रचण्ड आफैँ आगामी मंसिरबाट ७३ वर्ष पार गर्दैछन् । मञ्चमा बसेका एक/दुई जना नेताबाहेक सबै ६० देखि ८० वर्ष उमेर समूहका थिए । भदौमा भएको जेनजी विद्रोहको खिलाफमा बनेको वृद्धहरूको भारदारी सभाजस्तो देखिने एकता सभाका प्रायः सबै नेता पार्टी र राज्यको नेतृत्वमा पटक–पटक पुगेका छन् । २० औँ वर्ष नेतृत्वमा बसेर असफल प्रमाणित भएका यी नेताहरूले फेरि रुपान्तरित भएर देश बनाउँछन् भन्नेमा पार्टीभित्रकै नेताहरू विश्वस्त भने छैनन् ।

नेता लेखनाथ न्यौपानेले मञ्चमा बसेका नेताहरूलाई ‘अनुहार कुच्चिएका तथा गनाएका नाम मञ्चमा’ भनेर व्यङ्ग्य गरेका छन् ।

पिँध नभएका लोटा, अनुहार कुच्चिएका, पानी रौरा, पिङ खेल्दा खेल्दा थाकेका, गनाएका नाम मञ्चमा ! यसो हेरेको सबै दाने गाईजस्ता, फुकाएपछि आ–आफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठुलो कुरो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

२०६९ सालमा पहिलो संविधान सभा विघटनपछि पटक पार्टी विभाजन र टुटफुटले कमजोर बन्दै गएको नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो पार्टीभित्रै नेतृत्व हस्तान्तरणको चर्को दबाबमा थिए । नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठन गर्न नेता जनार्दन शर्माले विगत दुई वर्षदेखि लगातार नेतृत्वमाथि दबाब बढाएका थिए ।

यता २०७८ सालमा एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष बनेका माधव नेपाल पतञ्जली योग पिठको जग्गा हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेपछि नैतिक संकटमा छन् । नेपालमाथि नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरूले नेतृत्व हस्तान्तरणका लागि दबाब बढाउँदै लगेका थिए । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले विद्रोह गरेपछि प्रचण्ड र नेपाल दुवै जना थप संकटमा पर्दै गए ।

राष्ट्रिय एजेन्डा, जेनजी विद्रोहको भावना र आजको वस्तुगत आवश्यकताभन्दा पनि दुई नेताको बाध्यताबिच पार्टी एकता भएको आरोप लागेको छ । कात्तिक १६ गते माओवादी र एकीकृत समाजवादी लगायत ८ दलबिच १८ बुँदे सहमति भएपश्चात् दुवै पार्टीमा विद्रोह भयो । माओवादीबाट जनार्दन, राम कार्की समूह अलग भए । एकीकृत समाजवादीबाट भुसाल, घनेन्द्र बस्नेत, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री लगायत नेताहरू अलग भए । एकीकृत समाजवादी अहिले तीन टुक्रा भएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० दलको एकता घोषणालाई सय मुसा खाएर बिरालो तीर्थ हिँडेको टिप्पणी गरेका छन् । मञ्चमा आसिन नेताहरूले इतिहासको एक कालखण्डमा देशको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको कुरालाई नकार्न सकिँदैन । नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन उनीहरूको धेरै ठुलो योगदान छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि यी नेताहरू लामो समय पार्टी नेतृत्व र देशकै नेतृत्वमा पुगे, तर एउटै अनुहार, पात्र र प्रवृत्ति बारम्बार दोहोरिँदा आम युवा पुराना दल र नेताप्रति तीव्र असन्तुष्ट देखिन्छन् ।

समाजभित्र देखिएको उकुसमुकुस भदौ २३ र २४ गते जेनजी विद्रोहमा विष्फोट भएको विश्लेषकहरू बताउँछन् । जेनजी विद्रोहलाई आत्मसात् गरी प्रचण्ड–माधवले नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण नगरी म्याद सकिएका नेताहरूलाई भेला गरिएकोमा एकता अर्को दुर्घटनामा पर्ने जोखिम बढेर गएको छ । नेकपाको संगठनात्मक तह हेर्दा कम्तीमा २५ तहसम्म युवा आउने कुनै छाँटकाँट देखिँदैन । विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूको केन्द्रदेखि वडा तहसम्म कसरी व्यवस्थापन गर्ने भन्नेमा वैज्ञानिक विधि र प्रक्रिया बनेको देखिँदैन । घोषणा सभामा पार्टी एकता सम्बन्धी ९ वटा प्रस्तावसहित घोषणा पत्र र जनवादी केन्द्रीयताको आधारमा अन्तरिम विधान राष्ट्रिय भेलाले अनुमोदन गर्नुबाहेक युवाहरूलाई नेतृत्व हस्तान्तरणको ठोस योजना पेस गरिएको छैन । संयोजक प्रचण्ड र सहसंयोजक नेपालले पार्टीको एउटा विधि र पद्धति बनाएर नेतृत्व गर्ने पुरानै अमूर्त आश्वासन बाहेक ठोस प्रस्ताव ल्याएको देखिएन ।

‘नेतृत्व हस्तान्तरणको विषयमा धेरै कुरा उठे । पार्टीको एउटा विधि र प्रक्रिया बनाएपछि नेतृत्व हस्तान्तरण गरिन्छ । नमरुन्जेल नेतृत्वमा बस्नुपर्छ भन्ने छैन । फरक भूमिकामा रहेर पनि काम गर्न सकिन्छ । जेनजी विद्रोहको भावनालाई कदर गर्ने गरी नेतृत्व हस्तान्तरण गर्ने विषयमा माधवजीसँग छलफल भइरहेको छ । आगामी एकता महाधिवेशनसम्म बहस हुन्छ’, प्रचण्डले भने ।

माओवादीभित्रै पटक–पटक महाधिवेशनको कुरा उठाउँदा टार्दै आएका प्रचण्डले ६ महिनाभित्र एकता महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्छन् भन्नेमा नेताहरू नै विश्वस्त देखिँदैनन् । मञ्चमा सम्बोधन गरेका झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महिन्द्र राय यादव लगायत नेताहरूले नै नेतृत्वमाथि प्रश्न उठाएका थिए ।

  • प्रचण्डका तीन घुम्ती

१. जनयुद्धकाल

वामपन्थीबिच एकता, पुनर्गठन र ध्रुवीकरणको नयाँ अध्याय सुरू गरेका प्रचण्ड समकालीन राजनीतिका चतुर खेलाडी मानिन्छन् । जनयुद्ध र शान्ति प्रक्रियाको नेतृत्व गरेका उनी तीन पटक प्रधानमन्त्री बन्न सफल भए । २०४५ सालमा पार्टी नेतृत्वमा आउँदा प्रचण्ड जम्मा ३५ वर्षका थिए । कम्युनिस्ट आन्दोलनका धरोहर मोहन विक्रम सिंह र मोहन वैद्य ‘किरण’लाई उछिन्दै युवा अवस्थामै उनी नेकपा मसालका महामन्त्री बने । उनी नेतृत्वमा आए लगत्तै विभिन्न चार वामपन्थी घटकसँग एकता गरी नेकपा एकता केन्द्र बनाए । २०५१ सालमा दीर्घकालीन जनयुद्धको विषयलाई लिएर नारायणकाजी श्रेष्ठसँग मतभेद हुँदा पार्टी विभाजन भयो ।

_122575089_prachandaduringmaoistwar.jpg

विभाजनपछि जनयुद्ध पक्षधरलाई समेटेर पार्टी पुनर्गठन गरी प्रचण्डले नेकपा माओवादी केन्द्र बनाए । प्रचण्डकै नेतृत्वमा १० वर्ष(२०५२–२०६२) माओवादी सशस्त्र विद्रोह भयो । तत्कालीन शाही राज्यसत्ता विरुद्धको विद्रोह सञ्चालन गर्ने वेला जम्मा १९ जना केन्द्रीय नेता सहभागी थिए । प्रचण्डलाई मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सीपी गजुरेल, पोष्टबहादुर बोगटी लगायत नेताहरूले बलियो साथ दिए । उत्पीडित जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, मजदुर, किसान र पछाडि परेका श्रमजीवी वर्ग समुदायको बलमा प्रचण्डले शक्ति आर्जन गरेका थिए ।

वर्ग शक्तिको बलमा माओवादीले शाही सत्तालाई घुँडामात्र टेकाएनन्, परम्परागत राजतन्त्र नै ढाल्ने प्रमुख शक्ति माओवादी बन्यो । २०६२ सालमा तत्कालीन सात दलसँग भएको १२ बुँदे सहमतिको बलमा २०६२÷६३ सालमा राजतन्त्र ढलेको थियो । यो कालखण्डमा प्रचण्ड जोखिम मोलेरै संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भए ।

२. शान्तिप्रक्रिया

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा पहिलो दल बन्यो । त्यतिवेला ३१ लाख मत ल्याएको माओवादीले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिट गरी २२० सिट जितेर पहिलो दल बन्न सफल भयो । २०६५ सालमा प्रचण्ड गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बन्न सफल भए ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधान निर्माण गर्ने र जनपक्षीय काम गर्ने मामिलामा प्रचण्ड सरकार असफल भयो । प्रचण्डले २०५१ सालमै छोडेका नारायणकाजी श्रेष्ठ (एकता केन्द्र मसाल)सँग पार्टी एकता गरे । तर २०६९ सालमा वैद्य, थापा लगायत जनयुद्धमा बलियो साथ दिएका धेरै नेता तथा कार्यकर्ता पार्टीबाट अलग भए । पार्टी विभाजनपछि सोही साल माघमा हेटौंडामा सातौँ एकता महाधिवेशन भयो तर अन्तरविरोध हल हुन सकेन । नयाँ संविधान जारी नभई संविधान सभा नै विघटन भयो । त्यतिवेला प्रचण्डले चाहेको भए आफू अनुकूलको संविधान बन्थ्यो, शान्ति प्रक्रिया टुङ्गिन्थ्यो । उनले न पार्टी जोगाउन सके, न त शान्ति स्थापना र संविधान बनाउन सके । त्यही बिन्दुबाट माओवादीको ओरालो यात्रा र प्रचण्डको पतन सुरुवात भएको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।

Girija-Prachanda-shanti-samjhauta

२०७० सालदेखि हरेक निर्वाचनमा माओवादीले धक्का खाँदै आएको छ । वस्तुगत अवस्थाको समीक्षा गरी पार्टी रुपान्तरण गर्नतिर नलागी कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ताभोगमा रमाएको आरोप प्रचण्डमाथि छ । २०७२ सालमा नयाँ संविधान बनेपछि बाबुरामले पनि उनको साथ छोडे । पार्टी कमजोर हुनुको वास्तविक तथ्यलाई विषयान्तर गरी कहिले कांग्रेस–एमाले, कहिले पार्टीभित्रै अन्तरकलह सिर्जना गरी व्यक्तिगत फाइदा लिएको आरोप प्रचण्डमाथि पार्टीभित्र र बाहिर लागेको छ । २०७४ सालको निर्वाचनअघि नेकपा संयुक्तसँग पार्टी एकता गरी उनले महाधिवेशनलाई पछाडि धकेले । उनले निर्वाचनको मुखमा एमालेसँग गठबन्धन गरी शक्ति आर्जन गरे । उनले २०७५ सालमा एमालेसँग एकता गरी नेपाल कम्युनिस्ट पार्टी बनाउन मुख्य भूमिका खेले । यद्यपि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डको सत्ता र शक्ति स्वार्थका कारण तीन वर्ष नपुग्दै नेकपा विघटन भयो । २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि उनी साविक पार्टी माओवादीका अध्यक्ष भए । नेकपा विघटनपछि प्रचण्डलाई जनयुद्धदेखि साथ दिएका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरिशंकर चौधरी, मणि थापा लगायतका नेताहरूले साथ छोडे ।

३. संविधान कार्यान्वयन

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि प्रचण्ड कांग्रेससँग मिलेर दोस्रोपटक प्रधानमन्त्री बने तर संघीयता र संविधान कार्यान्वयन गर्न असफल देखिए । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने, संविधान कार्यान्वयन गर्ने, जनपक्षीय आर्थिक समृद्धि हासिल गर्ने काममा समेत उनी असफल देखिए । सत्ताको म्युजिकल चियरमा बारम्बार ओली, प्रचण्ड र शेरबहादुर देउवामात्र दोहोरिए । पुराना तीन दल र नेतृत्वप्रति आम नागरिकमा निराशा बढ्दै गयो । २०७९ को निर्वाचनमा माओवादीले जम्मा ११ लाख ७५ हजार भोट पायो । माओवादीलाई चुनौती दिँदै रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रत्यक्षतर्फ २१ सिट (उपनिर्वाचन समेत गरी) र समानुपातिकमा ११ लाख ३५ हजार भोट ल्याएर चौथो दल बन्न सफल भयो । स्थानीय तह निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल जस्ता स्वतन्त्र व्यक्तिले लोकप्रिय मत प्राप्त गरे ।

संघीय संसदको निर्वाचनमा कांग्रेस र एमाले नै ठुला दलका रूपमा आए, तर जनताको म्याण्डेटलाई अबमूल्यन गर्दै प्रचण्ड एमाले, रास्वपा, राप्रपा लगायतको समर्थनमा चौथो पटक प्रधानमन्त्री बने । उनको १८ महिने शासनकालमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षका केही सकारात्मक काम गरे पनि कहिले एमाले, कहिले कांग्रेससँग समीकरण फेरबदल गरी अस्थिरता बढाउने काम भयो । माओवादीले जितेको ३२ सिटलाई जादुयी नम्बर भएको तर्क गर्दै प्रचण्डले पाँच वर्ष सत्ता चलाउन म्याण्डेट पाएजसरी सहयात्री दलकै तेजोवध गरे ।

प्रचण्डको भूमिकाप्रति सशंकित भएका देउवा र ओली मिलेर २०८१ असारमा सत्ता समीकरण बनाए । ९ वर्षपछि प्रतिपक्षमा पुगेका प्रचण्डले पार्टी रुपान्तरण, नेतृत्व शुद्धीकरण गरी पुनर्गठनतिर नलागेर सत्ता पक्षकै जस्तो भूमिका खेलेको आरोप झेले । ओली नेतृत्वको गठबन्धन सरकारको अहंकार र दमनकारी शैलीका कारण वाक्क भएका जेनजीहरूले विद्रोह गरे । विद्रोहमाथि सरकारको दमनपछि मच्चिएको विध्वंसले सरकारी तथा निजी सम्पत्ति ध्वस्त भयो । जेनजी नाममा भएको विध्वसंबाट प्रचण्ड लगायत माओवादी नेताहरूको कार्यालय, निजी निवाससमेत सुरक्षित रहन सकेन । जेनजी विद्रोहपछि प्रचण्डले फेरि वामपन्थी एकता र ध्रुवीकरण गरेका छन् । नेकपाकालीन जस्तै १० दलको एकता दुर्घटनामा परेमा उनको राजनीतिक कता मोडिन्छ भन्नेमा सर्वत्र चासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप